सबै नेपाली दूतावासमा ‘श्रमिक हेल्पडेस्क’ राख्ने सरकारको निर्णय
काठमाडौं। नेपाल सरकारले विदेशस्थित विभिन्न मुलूकमा रहेका नेपाली दूतावासहरूमा श्रमिकका लागि हेल्पडेस्क राख्ने निर्णय गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष निर्देशन र पहलपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासहरूमा हेल्पडेस्क राख्ने निर्णय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
माघ पहिलो साता प्रधानमन्त्रीले श्रम सचिवसहित मन्त्रालयका अधिकारीहरूलाई बोलाए हेल्प डेक्स राख्न दिएको निर्देशनपछि, मन्त्रालयले आवश्यक गृहकार्य सहित विदेशस्थित विभिन्न मुलूकमा कार्यरत श्रमिक एवं कामदारहरूको समस्या सम्वोधन गर्न छुट्टै फोकल डेस्क राख्ने निर्णय भएको बताइएको छ ।
मन्त्रालयको निर्णय जानकारी गराउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालले भने, “विदेशमा रहेका नेपाली कामदारहरूका समस्याबारे प्रधानमन्त्रीज्यूले चासो राख्दै हेल्पडेस्क राख्न भन्नुभएको थियो। प्रधानमन्त्रीज्यूको निर्देशनपछि हामीले आवश्यक गृहकार्य गरेर यो निर्णयमा पुगेका छौँ। सरकारको यो निर्णयले विदेशमा रहेका सम्पूर्ण श्रमहरूको पेशागत हकहित, सुरक्षा र प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिएका छौँ। निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नेछौँ।”
त्यसैगरी परराष्ट्र मन्त्रालयमा समेत श्रमिकका समस्या समाधानार्थ समन्वय गर्न छुट्टै “डेडिकेटेड फोकल प्वाइन्ट” तोकी कार्यारम्भ गर्ने निर्णय भएको उनले जानकारी दिए।
प्रधानमन्त्रीले यसअघि नै वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीहरूले अनेकौं झमेला र सास्ती भोग्नुपरेको बताउँदै विदेशमा रहेका नेपाली कामदारहरूका समस्या सम्वोधनका लागि डेस्क राख्न निर्देशन दिएका थिए ।