नेपाल टेलिकमको नाफा ४ अर्ब २५ करोड
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी नेपाल टेलिकमको नाफा ४ अर्ब २५ करोड ४७ लाख ७७ हजार रुपैयाँले बढेको छ । ग्राहक सेवाबाट ब्याज लगायत अन्य अम्दानीमा वृद्धि हुँदा कुल आम्दानी बढेको नेपाल टेलिकमले जनाएको छ ।
कम्पनीले चालु आर्थिक वर्ष २०७९÷८० को दोस्रो त्रैमाससम्म ४ अर्ब २५ करोड ४७ लाख ७७ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.१६ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०७८÷७९ को सोही अवधिमा ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार नाफा कमाएको थियो ।
गत आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमाससम्म ग्राहकबाट १९ अर्ब २० करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्ष २०७९÷८० को सोही अवधिमा १८ अर्ब ७ करोड ७३ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ । तर, कम्पनीको अन्य आम्दानी २ अर्ब ७८ करोड २० लाखबाट बढेर ४ अर्ब २ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।
जसले कम्पनीको कुल आम्दानी २१ अर्ब ९८ करोड ९२ लाखबाट बढेर २२ अर्ब १० करोड ११ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको कर्मचारी खर्च ३ अर्ब ७२ करोड ३९ लाख रुपैयाँबाट घटेर ३ अर्ब ५८ करोड ६३ लाखमा झरेको छ । यस्तै सञ्चालन तथा मर्मत खर्च ६२ करोडभन्दा माथिले घटेको छ । तर, सेवा बिक्री तथा त्यसको प्रर्वद्धन खर्च भने बढेको छ ।