पार्टी एकता र समाजवादी मोर्चाको तयारी भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड
जनताको हितअनुसार काम गर्न सबै नेता–कार्यकर्तालाई निर्देशन
काठमाडौँ। प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले, पार्टी एकता र समाजवादी मोर्चाको तयारी भइरहेको बताएका छन् ।
शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैठकलाई सम्वोधन गर्दै सम्भव हुने पार्टीहरूसँग तत्काल पार्टी एकता गर्ने र तत्काल एकता सम्भव नहुने पार्टीहरूसँग समाजवादी मोर्चा बनाएर एकताको आधार तयार पारिने बताए ।
उनले भने ‘पार्टी एकता र समाजवादी मोर्चाको तयारी गरिरहेका छौँ। सम्भव हुने पार्टीहरूसँग तत्काल पार्टी एकता गर्छौं, तत्काल एकता सम्भव नहुने पार्टीहरूसँग समाजवादी मोर्चा बनाएर एकताको आधार तयार पार्छौं।
उनले पार्टी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको भन्दै पार्टीको भविश्य उज्जवल बन्दै भएको समेत तर्क गरे ।
प्रधानमन्त्री प्रचण्डले भने, “निर्वाचनपछि हामीले सरकारको नेतृत्व गर्ने अवसर पाएका छौँ। यो हाम्रा लागि चुनौतीपूर्ण अवसर हो। यसको भरपुर सदुपयोग गरेर देश र जनताका निम्ति राम्रो परिणाम दिनैपर्दछ। एक्लो प्रधानमन्त्रीले मात्रै गरेर सबै चीज हुँदैन, केन्द्र, प्रदेश र स्थानीय तहका सरकार सबैले राम्रो गर्दा देशमा राम्रो परिणाम आउँछ। पार्टीका पनि सबै नेता–कार्यकर्ताले जनताको हितअनुसार काम गरेर देशलाई परिणाम दिनैपर्छ।”
कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने अहिले पनि अप्ठ्याराहरू छन्, चुनौतीहरू छन्। ती सबैलाई हामी छिचोल्छौँ र अगाडि बढ्छौँ। अर्को निर्वाचनसम्म जाँदा हाम्रो पार्टी फेरि शक्तिशाली भएर आउँछ।
देशको बैकल्पिक शक्ति हामी नै हौँ भन्ने तथ्य परिणामबाट पनि स्थापित हुन्छ। त्यसरी हेर्दा मैले माओवादी पार्टीको भविष्य उज्जवल नै देखिरहेको छु, हामी फेरि उचाइका साथ अघि बढ्छौँ।