घुस मागेको आरोपपछि अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक निलम्बनमा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई घुस मागेको आरोपमा निलम्बन गरिएको छ ।
थाइ स्माइल एयरवेजले पाएको ग्राउन्ड ह्यान्डलिङलाई निरन्तरता दिन ठाकुरले एयरवेजका अधिकारीसँग रकम मागेका प्रमाण फेला परेको थियो । त्यसलगतै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उनलाई कारवाही गरेका हुन् ।
ठाकुरलाई निलम्बन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट समेत निर्देशन प्राप्त भएपछि मन्त्री किराँतीले उनलाई कारबाही गरेका हुन् ।
भ्रष्टचारको अन्त्य र सुशासन कायम गर्ने सरकारको नीतिअन्तर्गत ठाकुरमाथि यो कदम चालिएको मन्त्री किराँतीको भनाइ छ । उनलाई थप कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत पठाउने निर्णय भएको छ ।