टेक्सासमा सयौं घरबहार विहिनलाई जाडोमा न्यानो लुगा बाढ्ने नेपाली
टेक्सास, अमेरिका/ ‘गड व्लेस यु‘ भगवानले तिम्रो रक्षा गर्ने छन्।
दुई साता देखिको हिमपात र त्यसले निम्त्याएको कठ्याँग्रिदो चिसोमा खुल्ला आकास र आकसे पुल मुनि गुजरा चलाउदै आएका ५९ वर्षीया रोवर्टको मुखबाट निस्किएको शब्द हो यो।
टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा चिसो ह्वात्तै बढेको छ। मुटु छेड्ने चिसो मौषममा खुल्ला आकासमा बाच्न खोज्नेहरु थुप्रै छन्। उनीहरुलाई केही नेपालीले दयालु भाव देखाएका छन्।
चिसोको समयमा न्यानो लुगा उपलब्ध गराउने एचडिएनपी ईन्टरनेशनलका प्रमुख देबीडेभिड आचार्यले यसको नेतृत्व गरेका छन्। उनै आचार्यको हातबाट बुधवार न्यानो कपडा पाए पछि रोवर्टको मुखबाट निश्किएको शब्द हो। ‘गड व्लेस यु।’
जाडोमा न्यानो कपडा पाए पछि खुसी देखिएका रोवर्टले भने, ‘बिगत दुईसाता देखिको हिमपातले सेल्टर तथा आकासे पूल मूनि बसेका हामी होमलेसहरुको जीवन निकै कष्टकर बनेको थियो केही न्यानो लुगा पाएपछि निकै राहत भएको छ।’
यस्तै टेक्सासको ड्यालस क्षेत्रका अर्का ५३ वर्षीया घरवारबिहीन महिला लोरीले हरेक बर्ष चिसो मौसमको समयमा आफुले एचडिएनपी ईन्टरनेशनल र प्रमुख देबीडेभिड आचार्यलाई सम्झिने गरेको बताईन।
‘यसपाली पनि एचडिएनपी ईन्टरनेशनलले चिसोको समयमा आफुलाई न्यानो लुगा, सिल्पिङ व्याग, सिरानी दिएर गुन लगाएको छ।’ लोरीले भनिन् । यस्तै फोर्टवर्थ डाउन टाउन क्षेत्रका घरवार बिहीन महिला क्याथी एचडिएनपी ईन्टरनेशनलका प्रमुख देबीडेभिड आचार्यलाई घरवार बिहीनका अभिभावक भएको धारणा ब्यक्त गरिन ।
रोबर्ट, लोरी र क्याथी मात्रै होईन ड्यालस र फोर्टवर्थ क्षेत्रका सयौं घरवार बिहीनहरु एचडिएनपी ईन्टरनेशनलको कामको प्रशँसा गर्छन ।
एचडिएनपी ईन्टरनेशनलको तथ्याँक अनुसार गत क्रिस्मस, नयाँ बर्षको अवसरमा पाँच सय घरवार विहीनहरुलाई कम्बल, सिल्पिङ व्याग, सिरानी, न्यानो लुगा र खाना बितरण गरिएको थियो ।
एक साता अघि परेको हिमपातको समयमा ड्यालस फोर्टवर्थ क्षेत्रका महिला, बृद्ध र अशक्त घरवार बिहीनहरुलाई पहिचान गरि एक सय बढी कम्बल, सिल्पिङ व्याग, सिरानी, न्यानो लुगा र खाना बितरण गरिएको सो संस्थाले जनाएको छ ।
अमेरिकामा मानिसहरु बिभिन्न कारणले घरवार बिहीन अवस्थामा पुग्छन । सरकारी तथ्यांक अनुसार सन् २०२२ मा टेक्सासको ड्यालस फोर्ट वर्थ क्षेत्रमा मात्रै करिब पाँच हजार होमलेशहरु रहेका छन । उनिहरुको जीवन निकै कष्टकर हुने गर्दछ । त्यसैले आफ्नो संस्थाले घरवार बिहीनहरुलाई लक्षित गरि बिगत एक दशक अघिदेखि राहतमूलक कामहरु गदै आएको संस्थाका प्रमुख देबीडेभिड आचार्यको भनाई छ।
पाँचथरको बिकट बस्ती यासोकबाट बिगत ३५ बर्ष अघि अध्ययनका क्रममा अमेरिका आएका आचार्यको अगुवाईमा हेल्प फर डेस्पेरेट एण्ड निडी पिपुल ईन्टरनेशनल(एचडिएनपी अन्तर्राष्ट्रिय) नामक सामाजिक संस्था स्थापना भएको हो ।
आचार्यका अनुसार एचडिएनपी अन्तर्राष्ट्रियसँग न सरकारी बजेट छ, न त गैरसरकारी बजेट । ‘हामी हरेक वर्ष “गाला कार्यक्रम” को आयोजना गरेर आफुले गर्न लागेको कार्यक्रमको वारेमा स्थानीय सरोकारवालाहरु, शुभचिन्तकहरुलाई जानकारी गराई फण्ड रेजिङ्ग(अर्थ संकलन) गर्ने गर्दछौं।’ उनले भने।
संस्थाले संकलन गरेको रकमबाट घरवार बिहीनहरुको लागि योजना बनाई खर्च गर्ने गर्दछ । एचडिएनपी अन्तर्राष्ट्रियले संकलित त बजेटबाट अमेरिकाको टेक्सास मात्र होईन नेपाल र अफ्रिकाको घानामा समेत परियोजनाहरु संचालन गर्दै आएको छ ।
एचडिएनपी अन्तर्राष्ट्रियले गरेको कामको टेक्सासका स्थानीय सरोकारवालाहरुले पनि मन पराएका छन । अमेरिकाको टेक्सास राज्यका गभर्नरले एचडिएनपी अन्तर्राष्ट्रियको काम उत्कृष्ट भन्दै संस्थाका प्रमुख आचार्यलाई गत बर्ष पुरुस्कृत गरेका थिए।