अमेरिकी स्थानीय सरकारबाट पेन्सिलभेनिया नेपाली गुठीले पायो पाँच लाख डलर अनुदान
पेन्सिलभेनिया,अमेरिका/ पेन्सिलभेनिया नेपाली गुठी एशोशिएशन अमेरिकाले अमेरिकी स्थानीय सरकारबाट झण्डै पाँच लाख डलरको अनुदान पाएको छ।
पेन्सिलभेनियाको मोन्टगोमेरी काउन्टीले गुठीलाई अनुदान दिएको छ। अमेरिकामा क्रियाशिल संस्थाहरुमा अमेरिकी सरकारी निकायबाट एकै पटक यति ठूलो मात्रामा अनुदान पाउने सम्भवत गुठी पहिलो हो।
गुठी पेन्सिलभेनियामा रहेका नेपालीहरुले दश बर्ष अगाडि स्थापना गरेको संस्था हो। गुठीका अध्यक्ष बिमल मोक्तानका अनुसार प्राप्त अनुदान समुदायको शिक्षा, स्वास्थ तथा नेपाली साँस्कृतिक संरक्षणमा खर्च गर्नु पर्ने हुन्छ।
‘स्थापनाकाल देखि नै हामीले स्थानीय सरकार सँग मिलेर काम गर्दै आएका हौ। अझ कोरोना महामारीको समयमा हाम्रो कामले उनीहरुलाई प्रभाव पर्यो।’ समाज टाइम्स सँगको कुराकानीमा अध्यक्ष मोक्तानले भने।
कोरोना महामारीमा गुठीले समुदायमा उल्लेख्य काम गरेको थियो। यस्तै शुरुवाती चरणमा नेपालमा भ्याक्सिन पठाउनका लागि महोल बनाउन राजनैतिक नेतृत्व समक्ष डेलिगेशन समेत गएको थियो।
सामुदायिक केन्द्र स्थापना गरिने
अध्यक्ष मोक्तानले आफुहरुको मुख्य लक्ष्य नेपाली सामुदायिक सेन्टर स्थापना रहेको बताएका छन्। ‘हाम्रो मुख्य उद्देश्य नेपाली सामुदायिक केन्द्र बनाउने हो,जहाँ समुदायका लागि शिक्षा स्वास्थमा काम गर्न सकियोस।’
‘हामी फराकिलो जग्गा खोजिमा छौ जहाँ चार पाँच सय मान्छे अट्ने हल होस, समुदायका सबै गतिविधि एकै थलोमा होस, सबै चाडबाड एकै ठाँउमा मनाउन पाइयोस।’ अध्यक्ष मोक्तानले समाज टाइम्स सँग भने,’मेरो भिजन मिनि नेपाल खोल्ने योजना छ। हाम्रो केन्द्रमा प्रवेस गरे पछि मान्छेलाई नेपाल यस्तो रहेछ भन्ने थाहा होस,सबै जातजातिको कला संस्कृतिको जानकारी होस, उनीहरुलाई नेपाल जाँउजाउ जस्तो लागोस।’
अध्यक्ष मोक्तानका अनुसार सामुदायिक केन्द्रमा मन्दिर र गुम्बा बनाइने छ। बुद्दको ठूलो मूर्ति राखिने छ। यसैगरि सगरमाथा सहितका हिमाल झल्काउने गरि प्रतिमा बनाइने छ।
‘केन्द्रमा प्रवेस गर्दा नेपाल पुगे जस्तो महशुश होस । म आफै धेरै भयो नेपाल नगएको मेरो बच्चालाई कसरी नेपाल बुझाउने त्यस्तो बेला हाम्रो केन्द्र सहयोगि हुने छ।’ उनले भने। जसको नाम ‘हिमालयन सेन्टर रहने छ।’
किनियो घर
यसै बीच गुठीले कार्यकल संचालनका लागि घर किनेको छ। मोन्टगोमेरी काउन्टी स्थित जर्मन टाउन पाइकको प्लाइमाउथ मिटिङमा (1000 germantown pike Plyouth meeting) गुठीले व्यावसायिक भवन खरिद गरेको हो।
‘हाम्रो ठूलो अभियानको यो शुरुवात हो।’ भवन खरिद गर्न अन्तिम कागजी कार्यमा शुक्रवार हस्ताक्षर गरे पछि गुठीका मोक्तानले समाज भने।
दुई तले भवनमा सात कोठा छन्। अध्यक्ष मोक्तानका अनुसार अबका दिनमा गुठीका सबै गतिविधि सोहि भवनबाट हुने छ।
‘सानो कोठामा चल्दै आएको गुठी अब आफ्नै भवनमा सर्ने छ, हामीलाई अब प्रशासनिक कामका लागि सहज भएको छ।’ अध्यक्ष मोक्ताले भने, ‘हामी अब त्यही भवनबाट हाम्रो मुख्य लक्ष्य सामुदायिक केन्द्र स्थापनामा अगाडि बढ्छौ।’
गुठीको कार्यको स्थानीय समाजसेवी जर्ज व्हाइटहेयरले पनि प्रसंशा गरेका छन् । ‘पेन्सिलभेनिया नेपाली गुठी संघको लागि एक ऐतिहासिक दिनको रूपमा मानिसहरूलाई एकजुट गर्न मद्दत गर्न सामुदायिक केन्द्र खरिद गर्न अन्तिम कागजी कार्यमा हस्ताक्षर गरियो।’