प्रधानमन्त्रीलाई दिइएको विश्वासको मत फिर्ता लिन कांग्रेसमा माग बढ्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिइएको विश्वासको मतबारे कांग्रेसमा अन्तरविरोध सुरु भएको छ । कांग्रेसका केही सांसदहरु, विशेषतः कोइराला समुहका सांसदहरुले दिइएको विश्वासको मत फिर्ताको माग गरेका छन् ।
आइतवार बिहान बसेको कोइराला समुहको बैठकमा सांसदहरुले नेतृत्वको गल्ती देखाउँदै सरकारलाई दिइएको विश्वासको मत फिर्ता लिन माग गरेका हुन् ।
आइतवारको बैठकमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, बलबहादुर केसी लगायत केन्द्रीय सदस्यहरू र सांसदहरू सहभागी थिए ।
पार्टीको संसदीय दलको निर्वाचनमा महामन्त्री थापाको पक्षमा उभिएका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल भने बैठकमा आएनन् । सांसद् सन्तोष चालिसे र केन्द्रीय सदस्य उर्मिला थपलिया भने आइतबारको बैठकपछि कोइराला पक्षमा खुलेका छन् ।
आइतबारको बैठकमा पदाधिकारीहरूले बोलेका छैनन् । तर सांसदहरूले विश्वासको मतको विषयमा प्रश्न उठाएपछि जवाफमा नेता कोइरालाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर पार्टीले गलत कदम चालेको बताए ।
‘मैले कार्यसम्पादन समितिको बैठकमा यो प्रस्ताव राखेको थिएँ, त्यहाँ बहुमतले निर्णय भयो, हाम्रो कुरा सुनुवाई भएन,’ उनले भने, ‘वास्तवमा प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गलत नै थियो । तपाईंहरूले उठाएको कुरा सही हो । तर, हामी अल्पमतमा छौं, के गर्ने ?’
महामन्त्री गगन थापा भने आइतबारको बैठकमा बोलेनन् । बैठकमा कोइराला समूहका सांसदहरूले धारणा राखेका थिए भने संसद्मा प्रभावकारी भूमिका निभाउनुपर्ने विषयमा छलफल भएको थियो ।
सांसद राजेन्द्र बजगाईंले बैठकमा अधिकांश सांसदहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको विषयमा धारणा राखेको बताए । ‘पार्टीले विश्वास मत दिन हृवीप लगायो, त्यस्तो किन गरियो ? अधिकांश साथीहरूको यही प्रश्न रहृयो,’ उनले भने ।
बैठकमा उपसभामुखकी उम्मेदवार सांसद मुक्ताकुमारी यादवले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत तत्कालै फिर्ता लिनुपर्ने बताइन् । ‘जोसँग भइरहेको सहकार्य तोडियो, तत्काल सहकार्यको सम्भावना पनि छैन, उसलाई विश्वासको मत दिनुको अर्थ के हो ?,’ उनले भनिन्, ‘हामी सत्तापक्ष नरहेपछि विश्वासको मत दिनुको के अर्थ ? तत्कालै विश्वासको मत फिर्ता लिइनुपर्छ ।’
सांसदहरूले राष्ट्रपतिको निर्वाचनका विषयमा समेत चासो व्यक्त गरेका छन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको विषयमा कांग्रेसमा दुईथरी मत थियो । सभापति शेरबहादुर देउवाले पदाधिकारीहरूसँग छलफल गरेर त्यसबारे निर्णय लिने प्रयास गरेका थिए । तर, पार्टीभित्र त्यसको विरोध भएपछि अन्तिम समयमा कार्यसम्पादन समितिबाट त्यसबारे निर्णय गरिएको थियो ।
महामन्त्री गगन थापा, अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गलत हुन्छ भनेर त्यसबेला फरक मत राखे पनि त्यो सार्वजनिक खपत्को विषयमात्रै रह्यो । पार्टीले हृवीप लगाएपछि उनीहरूले नै प्रधानमन्त्रीलाई विश्वासको मत दिए ।
सभापति देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सभामुख र उपसभामुखको निर्वाचनमा फरक समीकरण बनाउन प्रयास गरेपनि त्यो सफल भएको छैन । अब नेताहरू राष्ट्रपतिको निर्वाचनमा परिणाम आउने अपेक्षा रहेको बताउँछन् । तर, कोइराला समूहको बैठकमा भने नेताहरूले तत्कालै त्यस्तो सम्भावना नरहेको भन्दै सभापति देउवाले दोहोर्याएर गल्ती गरेको बताएका छन् ।
‘पहिले आफ्नै हातमा भएको सत्ता जोगाउन नसक्ने, अहिले हातबाट फुस्किसकेपछि फेरि प्रतिपक्षको धर्म पनि निभाउन नसक्ने,’ बैठकपछि एक केन्द्रीय सदस्यले भने, ‘पार्टीमा सभापतिको मनमौजी चलेको छ । महामन्त्रीहरू निरीहता देखाएर हिडिरहेका छन् । कार्यकर्तामा अष्पष्टता छ । पार्टी किन यति धेरै दोधार भएर चलिरहेको छ ? भनेर प्रश्न उठिरहेको छ ।’
बैठकपछि नेता चन्द्र भण्डारीले दाहालबाटै धोका भएको अवस्थामा उनलाई नै विश्वासको मत दिनु गलत कदम भएको बैठकको निष्कर्ष रहेको बताए । ‘विश्वासको मत दिएर गल्ती भयो भन्ने त परिणाममै देखिदैंछ । नत्र कांग्रेसले विश्वासको मत दिनुपर्ने कुनै कारण नै छैन,’ उनले भने । उनले त्यसबारे अझै छलफल हुने बताए ।
‘माओवादीकै कारण गठबन्धन बनेर सरकार गठन भयो । राष्ट्रियसभा, स्थानीय र आमनिर्वाचन पनि भयो । जनतासँग विभिन्न वाचा र प्रतिबद्धताहरु भए । तर, जब चुनावबाट जनताले गठबन्धनलाई सरकार बनाउ भनेर जनमत दिए, त्यसपछि किन गठबन्धन टुट्यो ? यो अहिलेको मुख्य प्रश्न हो,’ उनले भने, ‘किन यस्तो भयो ? यसबारे छलफल हुन्छ ।’
उनले बैठक मंगलबार पनि बस्ने र राष्ट्रिय राजनीतिमा अहिले कांग्रेसको पोजिसन र भावी रणनीतिका विषयहरूमाथि छलफल हुने बताए । ‘जताजतै कांग्रेसको राजनीतिक कदमलाई लिएर अष्पष्टता छ । मान्छेहरूले कांग्रेस किन दोधारमा छ भनेर प्रश्न गरिरहेका छन्,’ उनले भने, ‘यी तमाम प्रश्नहरूको जवाफ खोजिरहेका हौँ ।’