हत्या आरोप लागेका १६ वर्षीय किशोर इथियोपिया भाग्नुअघि डिसी विमानस्थलबाट पक्राउ
भर्जिनिया / उत्तर क्यारोलाइनाको ग्यास्टोनिया सहरमा ६८ वर्षीया महिलाको हत्या गरेको आरोप लागेका १६ वर्षीय किशोरलाई अमेरिकाबाट इथियोपिया भाग्नुअघि भर्जिनियास्थित वासिङ्टन डुलेस अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ।
अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकाय (सीबीपी) का अधिकारीहरूले अक्टोबर २३ मा ती किशोरलाई पक्राउ गरेका हुन्। उनी अक्टोबर १९ मा भएको पामेला स्याङ्क्स नामकी ६८ वर्षीया महिलाको हत्यामा आरोपित दुई नाबालिगमध्ये एक रहेको सीबीपीले जनाएको छ।
प्रहरीले ती किशोरविरुद्ध हत्या, पहिलो तहको हत्या, आवासीय क्षेत्रमा गोली प्रहार तथा नाबालिग अवस्थामा पेस्तोल राखेको लगायतका गम्भीर फौजदारी अभियोग लगाएको छ।
सीबीपीका अधिकारीहरूले अन्तर्राष्ट्रिय उडानबाट विदेश जान लागेका यात्रुहरूको नियमित जाँच गर्ने क्रममा राष्ट्रिय अपराध सूचना केन्द्र (एनसीआईसी) को डेटाबेसमा ती किशोरबारे ग्यास्टोनिया प्रहरी विभागले जारी गरेको पक्राउ पुर्जी फेला पारेका थिए।
त्यसपछि अधिकारीहरूले इथियोपियाको राजधानी अदिस अबाबा जाने निर्धारित उडान चढ्नुअघि नै उनलाई नियन्त्रणमा लिएका थिए।
पक्राउ पुर्जीको आधिकारिकता पुष्टि गरेपछि ग्यास्टोनिया प्रहरीले ती किशोरलाई आफ्नो नियन्त्रणमा लिन र उत्तर क्यारोलाइना लैजान चाहेको पनि सीबीपीले जनाएको छ। अधिकारीहरूले किशोरका अभिभावकलाई समेत पक्राउबारे जानकारी गराएका थिए।
पछि उनलाई मेट्रोपोलिटन वासिङ्टन विमानस्थल प्राधिकरण प्रहरीको जिम्मा लगाइएको सीबीपीले जनाएको छ।
सीबीपीको वासिङ्टन डीसी क्षेत्रीय बन्दरगाह निर्देशक क्रिस्टिन वगले फरार अभियुक्तहरूलाई पक्राउ गरी कानुनी प्रक्रियामा ल्याउन संघीय, राज्य तथा स्थानीय प्रहरी निकायसँग सहकार्य गर्दै आएको बताएकी छन्।
उनले अभियुक्तहरू देश छाडेर भाग्न खोज्दा पक्राउ गर्नु समुदायको सुरक्षा र पीडितलाई न्याय दिलाउने प्रयासको एउटा हिस्सा भएको बताएकी छन्।
सीबीपीले जारी गरेको सूचनामा फौजदारी अभियोगहरू आरोप मात्र भएको र अदालतबाट दोषी प्रमाणित नभएसम्म आरोपितलाई निर्दोष मानिने स्पष्ट पारेको छ।
















