अमेरिकाको क्यालिफोर्नियामा एक सातामा दोस्रो पटक गोली चल्दा १० को मृत्यु
न्यू योर्क । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एञ्जल्समा एक अज्ञात बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ ।
स्थानिय प्रहरीलाई उदृत गर्दै बिबिसीले अझै १० जना घाइते रहेको र उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको जनाएको छ ।
चिनियाँ नयाँ वर्ष मनाउनको लागि मोन्टेरे पार्कमा शनिवार राति हजारौं भेला भएको समयमा उक्त घटना भएको हो । तर प्रहरीले घटना र चिनियाँ नयाँ वर्ष अन्तरसम्बन्धित नभएको प्रस्ट पारेको छ । घटना पछि नयाँ वर्ष मनाउने समारोह पनि स्थगित भएको छ ।
प्रहरीले गोली चलाउने बन्धुकधारीको खोजी भइरहेको जनाएको छ ।
अमेरिकी सुरक्षा अधिकारीहरुले भिडियोमा गोली हान्ने मानिस देखिएको र उसको पहिचान र खोजबिनको काम भइरहेको बताएका छन् ।
गोली प्रहार भएको ठाउँमा एशियाली मुलका मानिसको बाक्लो उपस्थिति रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
क्यालिफोर्निया एक साता भित्र गोलीकाण्डमा धेरै मान्छे मारिएको यो दोस्रो पटक हो । यस अगाडि एक घरमा भएको गोलीकाण्डमा ६ महिनाको बच्चा र उनकी आमा सहित ६ जनाको मृत्यु भएको थियो।
जनवरी १६ तारिक भएको घटनामा पछि संदिग्ध फरार भएका थिए। धेरै शटहरू सुनिएपछि प्रहरी पुगेको थियो। गत सोमबार बिहान प्रहरी घटना स्थल पुग्दा केही पीडितहरू सडकमा फेला परेका थिए भने केही घरमा फेला परेका थिए।
प्रहरी आइपुग्दा एक जना पीडित घाइते अवस्थामा जीवित थिए तर पछि अस्पतालमा उनको निधान भएको थियो।