अनलाइनबाट मुद्दा दर्ता गर्न मिल्ने प्रणाली स्थापना गर्दै सर्वोच्च अदालत
काठमाडौं । नेपालको सर्वोच्च अदालतले अनलाइनबाट मुद्दा दर्ता गर्न सकिने प्रणाली स्थापना गरिरहेको कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले बताएका छन् ।
न्यायपालिकामा सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयन सम्बन्धी सफ्टवेयरको शुभारम्भ गर्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले सर्वोच्चमा अनलाइनमार्फत मुद्दा दर्ता गर्नसकिने व्यवस्था गर्न लागिएको बताएका हुन् ।
“यसको निम्ति अध्ययन भई कार्यान्वयनको तयारीमा रहेको छ । त्यस्तै अदालतमा कोर्ट रुम टेक्नोलोजी लगायतको प्रविधिहरूको प्रयोग गर्ने प्रयास गरिरहेको छौं ।” उनले भने ।
यसका साथै पेसी अटोमेशनका लागि सफ्टवेयर लगायतको पूर्वाधार तयार गरिरहेको पनि कामु प्रधानन्यायाधीशले बताए । साथै अदालतमा रहेका अभिलेख मिसिलहरुलाई डिजिटाइजेशन गर्न सुरु गरिएको पनि उनले बताए ।
अदालतले ३६ लाख मुद्दाका मिसिल कागजातहरुलाई स्क्यान गरी विद्युतीय अभिलेखमा प्रविष्ट गराउने सोच राखेको उनले जानकारी दिए ।
कामु प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतले सूचना प्रविधि सम्बन्धी विभिन्न प्रकारका प्रणालीहरुको प्रयोग गर्नाले कार्य सम्पादनमा सहजता ल्याएको बताए ।
उनले यसबाट मुद्दाका पक्षहरु र अदालत स्वयम्लाई कार्य सम्पादनमा सहज भएको बताए । विद्युतीय प्रणालीको प्रयोगका कारण अदालतहरुमा पक्षहरुको उपस्थितिलाई न्यून गर्दै मुद्दाको कारबाहीको बारेमा सहज जानकारी उपलब्ध गराउन सकिएको उनले बताए ।
उनले न्यायपालिकाको सूचना प्रविधिको स्तर तुलनात्मक रूपमा सन्तोषजनक रहेको उल्लेख गरे । कामु प्रधानन्यायाधीश कार्कीले शुक्रवार न्यायपालिकामा सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयन सम्बन्धी सफ्टवेयरको शुभारम्भ गरेका हुन् ।
यस सफ्टवेयरमा कैद, जरिवाना लगायतको लगत सजिलो गरी राख्न सकिने, फैसलाको लगत एकमुष्ट हेर्न सकिने, मुद्दामा भएको जफत सम्बन्धी विवरण राख्न सकिने लगायतका सुविधा रहेको जनाइएको छ ।