आफैंले प्लेन भाडा बेहोरेर मलेसियाबाट फर्किए उद्दार गरिएका थप १२ नेपाली
काठमाडौं । मलेसियामा बन्धक बनाएर राखिएका थप १२ नेपालीको उद्दार गरिएको छ । नेपाल सरकारको पहलमा बन्धक बनेको २० दिनपछि उनीहरुको उद्दार गरि काठमाडौं ल्याइएको हो तर उनीहरुले नेपालसम्मको प्लेन भाडा भने आफैंले बेहोर्नु परेको छ ।
मलेसियामा उनीहरुसंगै अन्य ७ जनाको अघिल्लो बुधबार नै उद्दार भएको थियो ।
शुक्रवार उद्दार हुनेमा गोरखाका विष्णुप्रसाद ढकाल, सुजन गोतामे, टीकाराम गोतामे, मकवानपुरका प्रदीप कोइराला र भेषबहादुर सुवेदी, उदयपुरका इन्द्रबहादुर क्षेत्री, सप्तरीका सुनील अधिकारी, रौतहटका हजारीप्रसाद पटेल, विरवलराय यादव, हिरालाल राउत, चितवनका सन्तोष परियार र धादिङका सुरज खड्का नेपाल फर्किएका हुन् ।
सरकारको रोहबरमा उनीहरुको उद्दार भएको भनिए पनि उनीहरु आफैंले विमान भाडा बेहोरेर फर्किएका हुन् ।
रोजगारीका सिलसिलामा मलेसिया पुगेकाहरू पुस १७ गतेबाट केलाङ भन्ने सहरको एक भवनको तेस्रो तलामा बन्धक बनाइएका थिए । काठमाडौंस्थित सानेपाको खोजी रिक्वायरमेन्ट म्यानपावर कम्पनीबाट भदौ २३ गते मलेसियास्थित हङ टिज चिकेन सप्लायर्समा उनीहरू कामका लागि पुगेका थिए ।