नेपालमा सात दशकको हवाइ इतिहास : नौ सय भन्दा बढीले गुमाए ज्यान
पोखरा / माघे संक्रान्तिका दिन नेपालले दुखद घटना बेहोर्न पुगेको छ। भर्खरै मात्र अन्तर्राष्ट्रिय स्तरमा अपग्रेड भएको पोखरामा विमानस्थलमा अवतरणको क्रममा यती एयरको विमान दुर्घटना हुँदा ६८ जनाको निधन भएको पुष्टि भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार नेपालको हवाइ इतिहासमा आन्तरिक तर्फ पोखरामा आइतवार भएको यती एयर दुर्घटना अहिले सम्मकै सबै भन्दा मानवीय क्षति हो।
नेपालमा ७६ वर्षमा ५६ वटा विमान दुर्घटना भएका छन् । यो काल खण्डमा नौ सय भन्दा बढीले ज्यान गुमाउन परेको तथ्याङ्क छ।
यतीको सो विमान आइतवार काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विहान साँढे दश बजे उडेको थियो।
चार सदस्यीय चालक दल रहेको विमान कुल ७२ जना थिए। त्यस मध्ये ५३ जना नेपाली भएको प्राधिकरणले जनाएको छ।
खुल्ला आकासमा यतीको सो जहाज कोल्टिदै सेति नदिको खोचमा खसेको प्रत्यक्षदर्थीको भनाई छ। खोचमा जहाज खस्दा घना मानव बस्ति भने जोगिएको छ।
बस्ति जोगिए पनि प्राधिकरणका अनुसार यो घटनामा नेपालमा दर्ता भएका आन्तरिक विमानतर्फ भएको सबैभन्दा धेरै मानवीय क्षतिको भएको जहाज दुर्घटना हो ।
प्राधिकरणको ‘एभीएसन सेफ्टी रिपोर्ट–२०२२’ व्यावसायिक आन्तरिक उडानतर्फ सन् १९६९ को जुलाई १२ मा हेटौंडामा भएको नेपाल एयरलाइन्सको विमान दुर्घटनामा ३५ जनाको ज्यान गएको थियो ।
अन्तर्राष्ट्रिय उडानतर्फ भने नेपाली आकाशमा भएका दुर्घटनामा यो भन्दा धेरै क्षति भएको छ। सन् १९९२ मा भट्टेडाँडामा भएको पाकिस्तान इन्टरनेसनल एयरको दुर्घटनामा एक सय ६७ र ग्यानफेदीमा भएको थाई एयरवेजको दुर्घटनामा एक सय १३ जनाले ज्यान गुमाएका थिए ।
सन् २०१८ मा त्रिभुवन विमानस्थलमै भएको यूएस बंगलाको विमान दुर्घटनामा ५१ जनाको ज्यान गएको थियो ।
नेपालमा हवाई सेवाको साढे ६ दशकको इतिहास छ। पोखरा विमान दुर्घटना नेपाली आकाशमा भएको एक सय चार हवाई दुर्घटना हो। व्यावसायिक आन्तरिक उडानमा भने यो ५० औँ दुर्घटना हो ।
यस अगाडि आन्तरिक उडानमा सन् २००० को डडेल्धुरा जोगबुढा दुर्घटनामा २५ जनाको निधान भएको थियो।
यस्तै गत जेठमा मुस्ताङमा भएको तारा एयरको दुर्धटनामा २२ जनाले ज्यान गुमाएका थिए। वेपत्ता भएको एक दिन पछि गत जेठ १६ गते मुस्ताङको थासाङ गाउँपालिकामा सो विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।
नेपालमा पहिलोपटक सन् १९४६ मे ७ मा हवाइ विमान दुर्घटना भएको थियो । १४ जना सैनिकसहित दुई जना चालक दलका सदस्य रहेको रोयल फोर्सको जहाज पहिलोपटक नेपाली आकशमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा मानवीय क्षति भने भएको थिएन ।