विश्वकप लिग–२ क्रिकेट : नामिबियामा हुने खेलका लागि टिम नेपालको घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नामिबियामा हुने श्रृङखलाका लागि आइतवार राष्ट्रिय टिमको घोषणा गरेको छ।
आगामी डिसेम्बर २ देखि ८ सम्म हुने सिरिजमा नेपाल सहित आयोजक नामिबिया र स्कटल्याण्डले खेल्ने छन्।
रोहित पौडेलको कप्तानीमा घोषित १४ सदस्यीय टोलीमा नन्दन यादव पहिलो पटक राष्ट्रिय टिममा परेका छन्।
यूएईसँगको श्रृङखलाका लागि टिममा परेका कमलसिंह ऐरी र आदिल आलमलाई नामिबिया शृंखलामा समावेश गरिएको छैन।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर साह, नन्दन यादव
सिरिजमा नेपालको अवस्था
विश्वकप लिग–२ मा रहेका सात टोली हरेकले ९ वटा त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेल्छन्।
सिरिजमा नेपाल २० खेलमा १७ अंक सहित छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड २८ खेलमा ४० अंक सहित दोस्रो र नामिबिया २२ खेलमा २६ अंक सहित पाँचौं स्थानमा छन्।
शीर्षस्थानमा रहेको ओमानको ३६ खेलबाट ४४ अंक रहेको छ। अमेरिकाको ३२ खेलबाट २९ र यूएईको २६ खेलबाट २७ अंक रहेको छ।
तालिकाको शीर्ष तीन टोली विश्वकपको विश्वस्तरको छनोटमा पुग्नेछन् भने बाँकी चार टोलीले विश्वकप छनोटका लागि प्ले अफ खेल्नुपर्ने छ। नेपालले हालै मात्र घरेलु मैदानमा यूएईसँगको तीन खेलको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला २-१ ले जितेको थियो।