अमेरिका देउसी भैलोबाट संकलित १२ हजार डलर नेपाली भाषा पाठशालालाई
नर्थ क्यारोलिना, अमेरिका । सात समुन्द्र पारी अमेरिकामा पनि नेपालीहरुले देउसी भैलो खेलेर रमाइलो गरेका छन् ।
नेपाली हिन्दुहरुको महान् पर्व तिहारका अवसरमा यहाँ देउसी तथा भैलो आयोजना गरिएको हो ।
नर्थ क्यारोलिनास्थित नेपालीहरुको साझा संस्था नेपलिज कम्युनिटी इन नर्थ क्यारोलिना ( एनसीएनसी ) ले नेपालीहरुको बाक्लो उपस्थिति रहेको मोरिसभिल, केरी र गार्नर आदि स्थानमा आयोजना गरेको सो देउसी तथा भैलो कार्यक्रममा करिब १२ हजार भन्दा बढी डलर संकलन गरिएको थियो ।
संकलित सो रकम एनसीएनसीले करिब एक दशकदेखि सञ्चालनमा ल्याएको नेपाली भाषा कक्षाका लागि खर्च गरिने सो संस्थाका अध्यक्ष आरपी पौडेलले जानकारी दिनु भयो ।
पौडेलका अनुसार करिब एक सय ५० जना यहीँ जन्मेका वा नेपालमा जन्मेर अमेरिका आएका बालबालिकालाई नेपाली भाषा पठनपाठनका लागि आवश्यक कक्षाकोठा भाडामा लिनु पर्ने भएकाले सो रकम त्यसमै खर्च गरिनेछ ।
अध्यक्ष पौडेलले एनसीएनसीले करिब १२ वर्षदेखि यसरी नै देउसी भैलो खेल्दै आएको र यसबाट संकलित रकम यस्तै उपयोगी काममा खर्च गरिएको जानकारी दिँदै उहाँले नेपाली स्कूलका अभिभावकको पनि देउसी भैलोमा सहभागिता भएको भए रकम बढी संकलन सक्ने बताउनु भयो।
नयाँ पुस्ताका लागि नेपाली संस्कृति र परम्परा कस्तो हुन्छ भन्ने जानकारी दिने भएकोले देउसी भैलो कार्यक्रम राखिएको संस्थाका पदाधिकारीले बताएका छन् ।