पीए गुठीद्वारा जितु नेपाल (मुन्द्रे) अमेरिकामा सम्मानित
पेन्सिलभेनिया,अमेरिका। पेन्सिलभेनिया नेपलीज (पीए) गुठी एसोसिएशन अमेरिकाले कलाकार जितु नेपाल (मुन्द्रे) लाई सम्मान गरेको छ।
मोन्टगोमेरी काउन्टीमा गुठीद्वारा आयोजित कार्यक्रममा पेन्सिलभेनिया राज्य प्रतिनिधि सभा सदस्य स्टीव मलागरीले मुन्द्रेलाई सम्मान गरेका हुन्।
मुन्द्रे सांगितिक कार्यक्रमका लागि पेन्सिलभेनिया आएको समयमा गुठीले उनको सम्मान गरेको हो। सम्मान पछि मुन्द्रेले अमेरिकी सांसदद्वारा आफु जीवनमा पहिलो पटक सम्मानित हुन पाएकोमा खुसी व्यक्त गरे।
समाज टाइम्स सँगको कुराकानीमा मुन्द्रेले भने,’अमेरिकाको सांसदको हातबाट सम्मानित हुन पाउनु मेरो लागि ठूलो उपलब्धी हो, यसका लागि म विषेश गरि पीए गुठीका संरक्षक विनोद मोक्तान, अध्यक्ष विमल मोक्तान र तामाङ्ग सोसाइटी अफ पेन्सिलभेनियाका अध्यक्ष कबीराज घिसिङ्ग प्रति आभारी छु।’ कार्यक्रम पछि मुन्द्रे नेपाल फर्किसकेका छन्।
सोही कार्यक्रममा स्थानीय डाक्टर केशव भण्डारी, अर्जुन बोसुल र दिपक भट्टलाई पनि सम्मान गरिएको थियो। भण्डारी र बोसुल गायन क्षेत्रमा छन्। यस्तै भट्टले स्ट्याण्ड अप कमेडी गर्नेगर्दछन्।
कार्यक्रममा मोन्टगोमेरी काउन्टी नेपाली लायन्स क्लब, तामाङ सोसाइटी अफ पेन्सिलभेनिया, नेपाली जनसम्पर्क समिति पेन्सिलभेनिया च्याप्टर र गैरआवासीय नेपाली संघ पेन्सिलभेनियालाई पनि सम्मान गरिएको थियो।
लायन्स कल्बका तर्फबाट अध्यक्ष नविन लामा, तामाङ सोसाइटीबाट अध्यक्ष कवि घिसिङ, जनसम्पर्कबाट अध्यक्ष डाक्टर केशव भण्डारी र एनआरएनए पीए च्याप्टरको तर्फबाट अध्यक्ष सुभाष बैठाले सम्मानपत्र ग्रहण गरेका थिए।
कार्यक्रममा गुठी संरक्षक विनोद मोक्तान, स्थानीय समुदायका अग्रज डाक्टर फ्रान्सिस जेराज, जेसन सेन्टरका सीइओ जर्ज चोइ लगायतको उपस्थिति रहेको थियो।
गुठीका संस्थापक तथा अध्यक्ष विमल मोक्तानले कार्यक्रममा सहभागि, सम्मानित व्यक्ति तथा प्रायोजक संस्थालाई धन्यवाद दिएका थिए।