नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र अमेरिकाको २२ औं वार्षिकोत्सव सम्पन्न, दाता तथा स्वयंसेवको सम्मान

मेरिल्याण्ड,अमेरिका। नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र (एनइसीसी) ले आफ्नो २२ औँ वार्षिकोत्सव कार्यक्रम गत सेप्टेम्बर २४, २०२२ मा भव्यरूपमा सम्पन्न गरेको छ । एनइसीसीले भर्खरै खरिद गरेको स्थान जर्मनटाउन, मेरिल्याण्डमा आयोजना गरिएको सो कार्यक्रममा संस्थाका विभिन्न क्षेत्र/परियोजनाहरूमा योगदान गर्नुहुने दाता एवं स्वयमसेवकहरूलाई सम्मान गरेको थियो । सो कार्यक्रममा करिब ३०० जना अतिथि, दाता तथा आगुन्तकहरू सहभागी थिए ।
औपचारिक कार्यक्रम अगाडि अतिथि, दाता तथा आगुन्तकहरूलाई संस्थाको जग्गा तथा भावी योजनाका बारेमा जानकारी सहित नयाँ स्थानको भ्रमण गराइएको थियो ।
पण्डितद्वय रामनाथ कोइराला र श्रीधर ज्ञवालीको स्वस्ति वाचनबाट शुभारम्भ भएको कार्यक्रममा संस्थाका सचिव समिक्षा सापकोटाले स्वागत गर्दै विगत तिन दशक भन्दा बढि समयमा समुदायमा आफ्नो बहुमूल्य योगदान प्रदान गर्दै आएका एनइसीसीका स्वयंसेवकहरु डा. हरि तथा इन्दिरा शर्मा, डा. श्याम तथा इन्दिरा कार्की, कृष्ण तथा रीता निरोला तथा शशी तथा मौरिन उपाध्याय लगायतलाई संस्थाको तर्फबाट सम्मान प्रदान गरेकी थिइन ।
कार्यक्रममा संस्थाका कृयाकलाप, भावी योजना लगायत संस्थाका बारेमा कार्यसमितिका सदस्यहरूले जानकारी गराएका थिए ।
नयाँ स्थान (११६५० स्नोडेनफार्म पार्कवे, जर्मनटाउन, मेरिलैण्ड) मा सञ्चालित नयाँ मन्दिरमा आवासीय पण्डित रामनाथ कोइरालाले सेवा प्रदान गरिरहका र यसै स्थानमा अधिकांश साँस्कृतिक तथा धार्मिक कार्यक्रमहरू पूर्णरूपमा सञ्चालन रहेको संस्कृति विभाग प्रमुख डा. टेक लामिछानेले जानकारी गराए । त्यसैगरी उपाध्यक्ष तथा गुरु योजना टोली प्रमुख परशु तिमल्सिनाले संस्थाका भावी योजनाहरू आध्यात्मिक, साँस्कृतिक तथा शिक्षा सम्वन्धी क्षेत्रहरूमा केन्द्रित हुने बताउँदै चरणवद्धरूपमा योजनाहरू कार्यान्वयन गरिने बताए साथै संस्थाको जमिनको वरिपरि अग्ला रुखहरू सहितको करिब एक माइल लम्बाईको हिड्ने बाटो निर्माणको योजना रहेको समेत बताए ।

प्रोपर्टी म्यानेजमेन्ट विभाग प्रमुख प्रमोद केसीका अनुसार एनइसीसीले मन्गोमरी काउण्टी हिस्टोरिक प्रिजर्भेसन काउन्सिल बाट एउटा साइलो र तीनवटा साना टहराहरू हटाउन स्विकृति प्राप्त भएको छ भने अन्य दुईवटा साना घरहरूको मर्मत गरी प्रयोगमा ल्याउन सकिने भएको, मुख्य भवनको छाना फेर्नेकामका लागि प्रकृया करिब अन्तिम चरणमा पुगेको छ । यसैगरि फेसिलिटि डेभलेपमेन्ट विभागका सदस्य रामलाल श्रेष्ठले संस्थाको परिसरमा भगवान् शिव तथा बुद्ध भगवान्को प्रतिमा राख्न पोडिएम निर्माण, बार्न मर्मतसम्भा, नयाँ मन्दिर निर्माका लागि अनुमति लिन आवेदन प्रकृया तथा अपेक्षित परियोजना पूरा हुने समयावधीका बारेमा बताएका थिए ।

संस्थाका उपाध्याक्ष तथा वित्तिय टिमका प्रमुख लक्ष्मण प्रधानले संस्थाको वित्तिय प्रतिवेदन पेश गर्दै एनइसीसीले वित्तिय पारदर्शिता र जवाफदेहितामा विशेष ध्यान दिइरहने बताए । संस्थाका कोष बृद्धि (फण्डरेजिङ्ग) विभागका प्रमुख मोहन कार्कीले संस्थाले अगाडि सारेका योजना तथा संरचनाहरू निर्माण गर्न आवश्यक रकम संकलनका लागि डलर–अ–डे, मासिक चन्दा, नयाँ मन्दिर निर्माणमा निश्चित वर्गफीट निर्माण गर्न चन्दा लगायतका विविध माध्यम अपनाउने जनाए।

एनइसीसीले सञ्चालनका गरेको नेपाली पाठशालाका प्रिन्सिपल डा. कुमार मैनालीले पाठशालामा अध्ययन गर्ने बालबालिकाहरुको नेपाली भाषा र सीपको वर्तमान अवस्था र प्रगतिका बारेमा जानकारी गराए भने पाठशाला शिक्षिका दिपु पुडासैनीको नेतृत्वमा रहेको पाठशाला बाल समूहले नेपाली नृत्य प्रस्तुत गरेको थियो ।
यसैगरि प्रीति ढकाल, प्रमोद केसी लगायतको समूहले नेपाली गीत प्रस्तुत गरेको थियो ।

वोर्ड अफ ट्रष्टिजका सदस्य प्रेमराजा महत, बोर्ड अफ एडभाइजरका सदस्य डा. हरि शर्मा, बोर्ड अफ एडभाइजरका अध्यक्ष खगेन्द्र अधिकारीले स्वयंसेवक, दाताहरू र एनइसीसी टिमलाई बधाई दिंदै आफूहरूले पनि सक्दो सहयोग गर्ने बचनबद्धता प्रकट गरे । सोही अवसरमा एशोसिएसन अफ नेपलीज इन अमेरिकाको तर्फबाट खगेन्द्र अधिकारीले एनइसीसी बोर्ड अफ ट्रष्टिजका अध्यक्ष खिलेन्द्र न्यौपानेलाई ‘सोसल हिरो अवार्ड’ प्रदान गरे ।

कार्यक्रममा डा. हरि शर्मा, डा श्याम कार्की, कृष्ण निरोला, डा महेन्द्र कार्की, खिलेन्द्र न्यौपाने र सरोज प्रजापतिलाई अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट प्राप्त लाइफटाइम एचिभमेन्ट अवार्ड तथा २५ जना स्वयंसेवकलाई अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट राष्ट्रपति स्वयंसेवी सेवा अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा संस्थाले प्याट्रोन (एशोसिएशन अफ नेपालीज इन अमेरिका (एएनए), डा. दीपक श्रेष्ठ र डा. सुनिल श्रेष्ठ), बेनेफेक्टर (डा. हरि शर्मा र इन्दिरा शर्मा), र प्लाटिनम (चेतनाथ र विद्या भण्डारी, खिलेन्द्र र शान्ति न्यौपाने, नरोत्तम तथा शोभा खत्री, शशी र मौरीन उपाध्याय, डा. श्याम र इन्दिरा कार्की, उमेश र गुरास निरौला, डा सुरेश र सजनी श्रेष्ठ, मकर र विष्णु रायमाझी, कृष्ण र सरोज प्रजापति, नानी बाबु र मगन श्रेष्ठ, विश्वम्बर र मन्दिरा श्रेष्ठ, बिनोद र सारिका चौधरी) सदस्यहरूलाई सम्मान गर्दै प्रमाणपत्र प्रदान गरेको थियो । यसैगरी ३९ जनालाई ट्रष्टि सदस्यताको प्रमाणपत्र प्रदान गरेको थियो । यसैगरी पाठशालाका ३४ जना शिक्षकहरू ३४ जना, देउसी भैलो टोलीका १९ जना सदस्यहरू र ४७ जना स्वयंसेवकहरूलाई सम्मान प्रदान गरिएको थियो भने ४४ जना प्रोमिसरी नोटहोल्डरहरूलाई समेत सम्मान गरेको थियो ।

कार्यक्रममा सहभागीहरूले करिब $ २०,००० आर्थिक सहयोग उपलब्ध गराएका थिए भने विभिन्न व्यक्ति तथा ब्यापरिक सँस्थाहरूले (जेन ट्राभल्स, बेसक्याम्प, डा. सुनिल श्रेष्ठ, र डा. दीपक श्रेष्ठ) प्रायोजना समेत गरेका थिए । सहभागीहरूलाई चिया, खाजा र खानाको व्यवस्था गरिएको थियो ।
संस्थाको २२ औँ वार्षिकोत्सव तथा दाता एवं स्वयंसेवक सम्मान कार्यक्रमको सञ्चालन संस्थाका महासचिव डा. प्रज्वल रेग्मी र कोषबृद्धि समूहका सदस्य प्रवेश अर्यालले गरेका थिए । कार्यक्रममा सहभागी, दाता तथा स्वयंसेवाहरूलाई धन्यवाद ज्ञापन गर्दै संस्थाका बोर्ड अफ ट्रष्टिजका अध्यक्ष खिलेन्द्र न्यौपानेले कार्यक्रम समापन गरेका थिए ।
