अमेरिकाको सडक जहाँ ‘नेपाल’ भेटियो
मेरिल्याण्ड, अमेरिका । सेप्टेम्बर २५ तारिक आइतवार बिहान घडीले जब एघार बजाउदै थियो, बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना) का अध्यक्ष सुबोध विलास पन्त, अलिक रातापिरा देखिन्थे ।
प्रायस: हतारमै भेटिने पन्त यस पटक पनि बोलिहाल्ने फुर्सदमा थिएनन् । स्टेजमा साउण्ड सिस्टम जडान गर्ने काम धमाधम हुँदै थियो। आयोजकलाई गाडीबाट सामान उतार्न भ्याइनभ्याइ ।
अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर स्थित टाउसनमा रहेको वासिङ्गटन एभिन्यु र पेन्सिलभेनिया एभिन्युको बीचमा मान्छे फाटफुट देखिएका थिए।
सेप्टेम्बरको अन्तिम आइतवारको बिहानीमा मन्द-मन्द चिसो महशुस हुदै थियो । आकास धुमिलो थियो । सहभागिहरु आशिंकत थिए । लौ वित्यास पार्ने त होइन ? किनकी कुनै पनि समय आकाश घोप्टी हाल्ने पो हो कि भन्ने अवस्था थियो । आयोजकलाई तयारीको हतारो र मौषमको चुनौति दुबै एकै चोटी थियो ।
बानाका पूर्व महासचिव तथा प्रवासी नेपाली मन्च अमेरिकाका निर्वतमान अध्यक्ष प्रभु थापा मुन्टो हल्लाउदै भन्दै थिए ‘दुई बजेसम्म त नपर्ला कि !’
बाल्टिमोरमा रहेका नेपाली समुदायका विभिन्न संस्थाको सहकार्यमा बानाद्वारा आयोजित ‘पाँचौ नेपाली सडक महोत्सव’ शुरु हुनु अगाडिको चित्रण हो यो । नेपालीको बाक्लो बसोबास रहेको बाल्टिमोरमा साढे एधार हुदाँसम्म मान्छेको सहभागिता ‘ए ए…’ भन्ने नै थियो।
तर त्यसको आधा घण्टामा कथा फेरियो । आकासको कालो बादल पुरै हट्यो। पोल्ने नै गरी घाम लाग्यो। मान्छेहरु बाक्लिन थाले । अनि बाल्टिमोरको सडकमा नेपाल भेटियो ।
त्यहाँ नेवारी समुदायबीच अत्यन्त लोकप्रिय लाखे नाच थियो, गुरुङ र मगर समुदाय आफ्नो पोशाक र बाजा गाजा सहित परेडमा सामेल थिए।
पञ्चे बाजा घन्किएको थियो । दौरा शुरुवालमा सजिएकाहरु प्रसस्त भेटिन्थे । गुरुङ, मगरको परम्परागत पोशाकमा सजिएर हातमा नेपालको राष्ट्रिय झण्डा लिएका, सारङ्गी भिरेका बालकहरु आफ्ना अभिभावकसँग तालमा ताल मिलाएर नाचिरहेका भेटिन्थे । गुन्यु चोलीमा सजिएका बालिकाहरुको उपस्थिति उल्लेख्य थियो ।
नेपाली महोत्सव हेर्न गैर नेपालीको पनि उलेल्ख उपस्थिति थियो। कोरोना महामारीका कारण दुई वर्ष रोकिएको महोत्सवलाई यस पटक स्थानीय काउन्टीले पनि सहयोग गरेको थियो ।
विभिन्न जातजातिको भेषभुषा सहितको परेडले सडकमा फन्को मार्दै गर्दा बानाका महासचिव सागर घिमिरेले स्टेजमा कार्यक्रम शुरु गरे ।
स्वागत मन्तव्यका लागि आएका बानाका पूर्व अध्यक्ष तथा ट्रष्टीका अध्यक्ष कुलमणि आचार्य भन्दै थिए ‘यो त मिनि नेपाल हो, यहाँ त यस्तो विविधता भेट्नु भयो भने नेपालमा झन् कति होला ।’
हुन पनि दशैको मुखमा आयोजना भएको महोत्वसमा सहभागिले नेपालमा बनेका भगवानका मूर्ति, हस्तकला, मादल, नाङ्लो, बासुरी, विभिन्न पुस्कतहरु खरिद गर्न पाएका थिए ।
सेल रोटी र म:म को स्टल अगाडि लामै लाइन लागेको देखिन्थो ।
स्टेजमा भाषण चल्दै गर्दा बाल्टिमोरमा रहेको हिन्दु बौद्ध मन्दिरका पुजारी शोभाकान्त ढकाल एक हातमा नेपालको झण्डा लिएर पञ्चे बाजाको तालमा नाच्दै थिए। माहोल उत्साहित थियो।
त्यसो त पञ्चेबाजाको धुनले महोत्सवका प्रमुख अतिथि अवैतनिक महाबाणिज्यदूत तथा लोक गायक प्रेम राजा महतलाई पनि छोडेन। आफ्नो मन्तव्य टुङ्गएर उनी पनि पञ्चेबाजाको तालमा नाच्न आइपुगे।
नेपाली मुलका एक मात्र अमेरिकी विधायक डाक्टर ह्यारी भण्डारी, अमेरिकाका लागि नेपाली दुतबासका आर्थिक सल्लाहकार होमकान्त भण्डारी, गैरआवासीय नेपाली संघ आइसीसीका सचिव राजन त्रिपाठी र एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण जीबी पन्थले महोत्सवमा दिएको शुभ कामना मन्तव्यले बाल्टिमोरमा भेटिएका नेपालीहरु बिच हार्दिकता बढाएको थियो ।
यसै गरि मन्दिरका सस्थापक श्याम कार्की, प्रवासी मञ्चका निवर्तमान अध्यक्ष प्रभु थापा, बानाकी पूर्व अध्यक्ष अनु वन्त श्रेष्ठ, मिस नेपाल नर्थ अमेरिकाका बिजेता प्रतियुशा बोहरा, सेकेण्ड रनरअप दिब्या पन्तले मन्तव्य व्यक्त गरेका थिए।
बिहानै देखि उत्साहित रुपमा सहभागि एभरेष्ट तेक्वान्दोका खेलाडीको प्रदर्शन तारिफ योग्य थियो। प्रशिक्षक कुमार कार्की आफैले फ्लाइङ किक मार्फत ‘उड’ ब्रेक गर्दै आफु अझै फिट रहेको प्रमाणित गरे ।
झरीले रोकेन शंकर सिह विष्टलाई
महोत्सवमा सबै भन्दा हतार सायदै कोही थियो भने बानाका महासचिव घिमिरेलाई नै थियो। उनको हातमा कार्यक्रमको चाङ्ग थियो । तर आकासमा फेरि कालो बादल छाउन शुरु भएको थियो । उनी पटक पटक भनिरहेका थिए हामी जुन सुकै समय पनि कार्यक्रम रोक्न सक्छौं ।
नेपाली मन्दिरका पुजारीहरु कमलनाथ सापकोटा र शोभाकन्त ढकालले स्वस्ति बाचन गरे पछि शुरु भएको सांगीतिक कार्यक्रममा चाँनदी मल्लले धित मर्ने गरी गाउनै पाइनन् । किनकी आकासले छिटो गर छिटो गर भनिरहेको थियो, आयोजकलाई सबैको पालो पुर्याउनु पर्ने थियो सायद। तै पनि उनले गीत पछि देउडाको केही अन्तरा गाइन र दर्शक नचाएरै छोडिन्।
आलोपालो गरी नृत्य र गीत प्रस्तुत हुदै थियो । तर यो क्रम एक घण्टा बढी हुन पाएन । उडुसा महर्जनले नाच पुरा गर्नै पाइनन्। बाना महासचिव घिमिरेले उद्घोष गरे, ‘हामीले सबैसँग क्षमा माग्नु पर्छ । पानी आइपुगेको छ । हामी कार्यक्रम यही रोक्न बाध्य छौं ।’ ‘लाली गुराँस अजम्वरी… ‘ बोलको गीत बन्द भयो । पानी दर्कियो । दर्शकहरु ओत लाग्न ठाँउ खोज्न थाले।
तर देउडा गायक शंकर सिंह विष्टलाई बर्षाले छेकेन । स्टेज चिप्लो भइसेको थियो । फ्लोरमा नै उनले हुड्केली नाच प्रस्तुत गरे । काली कर्णाली क्षेत्रमा प्रचिलत लोक गीत गायनको शैलीलाई हुड्केली भनिन्छ ।
प्रकृतिको वर्णन, वीर गाथा, दु:ख वेदनाका कथा समेटिने हुड्केली विशष गरी विवाह पास्नी तथा शुभकार्यमा सूदुरपश्मिचमा प्रचलित छ । सेता जामा, पटुका, पगरी र हातमा हुड्को लिएर झरीमा गाँउदै नाच्दै बिष्टले आफ्नो संस्कृति पस्किए नै महोत्सवको मैजरो पनि गराए।
‘अर्को एक घण्टाका लागि दश वटा नाच बाँकी नै थियो, मौषमले धोका दियो, सबैलाई धीत मर्ने गरी समय दिन सकिएन।’ बानाका अध्यक्ष पन्त भन्दै थिए, ‘तर पनि आशा गरे भन्दा आजको कार्यक्रम राम्रो भयो, उपस्थिति राम्रो रह्यो।’
उनले नेपाल सरकार र अमेरिका स्थित नेपाली दुतावसले गर्नु पर्ने काम आफुले गरेको दावी गरे । ‘खासमा यस्तो कार्यक्रम त सरकारले गर्नु पर्ने कार्यक्रम हो नी, तर गत वर्ष जस्तो यस पटक दुतावासले सहयोग समेत गरेन।’ पन्तले पीडा पोखे ।