इन्द्रजात्रामा २५ शहरका विदेशी पाहुना मध्ये कति आए ?

काठमाडौं । इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन २५ शहरका विदेशी पाहुनालाई निमन्त्रणा गरेकोमा थोरै मात्रै नेपाल आइपुगेका छन् ।
महानगरका अनुसार भगिनी सम्बन्ध भएका अमेरिकाको फेडरिकबर्ग नगर र माल्दिभ्सको राजधानी माले नगरका प्रतिनिधि काठमाडौं आइपुगेका हुन् । भुटानको राजधानी थिम्पुबाट प्रतिनिधि आउने पक्का भएता पनि प्राविधिक कारणले ढिलाइ भएको हुनसक्ने महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख सुदर्शन भट्टराईले जानकारी दिए ।
महानगरका मेयर बालेन्द्र साह(बालेन)ले इन्द्रजात्रालाई विश्वस्तरीय बनाउने भन्दै अन्तर्राष्ट्रय स्तरमा भगिनीसम्बन्ध भएका १८ वटा नगर र दक्षिण एशियाली मुलुक (सार्क राष्ट्र) का ७ वटा राजधानी सहरका प्रमुख गरी २५ वटा नगरका प्रमुखहरुलाई इन्द्रजात्रामा सहभागी हुन निमन्त्रणा गरेका थिए ।
चीनसहित केही देशमा कोभिड–१९ महामारीका कारण अन्तर्राष्ट्रिय आवतजावत नै बन्द गरेकोले पाहुना आउन नसकेको भट्टराईको भनाइ छ ।