राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता,अब के हुन्छ ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न नागरिकता विधेयक आइतबार संसदमा फिर्ता पठाएकी हुन् ।
‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देश सहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ,’ आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
संसदका दुबै सदनले पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्ने वा पुनर्विचारका लागि फिर्ता पठाउन सक्ने संवैधानिक व्यवस्था छ ।
अब के हुन्छ ?
राष्ट्रपति भण्डारी फिर्ता गरेको नागरिकता सम्बन्धी विधेयक अब संघीय संसद्मा पुनर्विचारका लागि प्रस्तुत गर्नु पर्छ।
प्रतिनिधि सभा नियमावली, २०७५ अनुसार संविधानको धारा १ सय १३ को उपधारा ३ बमोजिम राष्ट्रपतिबाट पुनर्विचारको लागि सन्देशसहित विधेयक फिर्ता भएमा प्रतिनिधि सभा बैठकमा पुनर्विचारका लागि प्रस्तुत हुने वा प्रतिनिधि सभाको सम्बन्धित समितिमा पेश हुने व्यवस्था छ ।
अधिवेशन चालू रहेको भए महासचिव वा उनको अनुपस्थितिमा सचिवले सभालाई जानकारी गराउने यदि अधिवेशन चालू नरहेको भए सभाको सूचना पत्रमा प्रकाशित गरिने व्यवस्था नियमावली छ । यद्यपि अहिले अधिवेशन जारी रहेको हुनाले सदनमा पुनर्विचारका लागि प्रस्तुत हुने वा सम्बन्धित समितिमा पेश हुने भएको छ ।
राष्ट्रपतिबाट फिर्ता भएको विधेयक सम्बन्धी जानकारी सदनलाई जानकारी दिएपछि बसेको कुनै बैठकमा त्यस्तो विधेयक प्रस्तुतकर्ता सदस्यले विधेयकमाथि सदनमा पुनर्विचार गरियोस् वा पुनर्विचारका लागि विधेयकलाई सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्तुत गर्ने व्यवस्था छ ।
त्यस पछि दुबै सदनले पुन पारित गरेको विधेयकलाई भने राष्ट्रपतिले १५ दिन भित्र प्रमाणीकरण गर्नु पर्ने हुन्छ।