गीता न्यौपानेको अध्यक्षतामा नेपाली कम्युनिटी सेन्टर अफ ओर्लान्डोमा नयाँ कार्यसमिति गठन
ओर्लान्डो, फ्लोरिडा / फ्लोरिडाको ओर्लान्डोमा नेपाली कम्युनिटी सेन्टर अफ ओर्लान्डो (एनसीसीओ) मा नयाँ कार्यसमिति चयन भएको छ ।
आइतवार सम्पन्न वार्षिक साधारण सभाले गीता न्यौपाने अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
ओर्लान्डो तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको अवसरमा नेपालीहरूको महान् चाड बडादसैँ तथा दीपावलीको शुभकामना आदानप्रदानसमेत गरिएको थियो।
उपस्थित सदस्यहरूले एकआपसमा चाडपर्वको शुभकामना साटासाट गर्दै आपसी सद्भाव, एकता, भाइचारा र सांस्कृतिक आत्मीयताको सन्देश प्रवाह गरेका थिए।
नवगठित कार्यसमितिको उपाध्यक्षमा प्रदीप न्यौपाने, सचिवमा दामोदर पोखरेल, कोषाध्यक्षमा मञ्जिता श्रेष्ठ र सूचना सचिवमा लक्ष्मण थापा चयन भएका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यहरूमा परशुराम न्यौपाने, ढाका सापकोटा, रुशा खनाल, दिनेश महर्जन र सपना दाहाल रहेका छन् ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष विकास देवकोटाले नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
उनले संस्थाको मूल उद्देश्य, नेपाली समुदायको एकता तथा भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धनका लागि आगामी दिनमा पनि सबैको निरन्तर सहकार्य र साथ रहने विश्वास व्यक्त गरे ।
नेपाली भाषा, कला, संस्कृति र परम्पराको जगेर्ना गर्दै नयाँ पुस्तामा यसको हस्तान्तरण गर्ने उद्देश्यका साथ संस्थाले स्थानीय स्तरमा विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ।
आगामी दिनमा पनि नेपाली समुदायबीच आपसी एकता र सद्भाव अभिवृद्धि गर्दै सांस्कृतिक प्रवर्द्धनका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने लक्ष्य संस्थाले लिएको छ। नवनिर्वाचित सम्पूर्ण टोलीलाई बधाई ज्ञापन गर्दै समुदायको हित र विकासमा उत्कृष्ट योगदान पुग्ने अपेक्षा गरिएको छ।
















