अमेरिकामा नक्कली विवाह गराएर आप्रवासन ठगी गरेको आरोपमा ६ जनाविरुद्ध मुद्दा
बोस्टन, म्यासाचुसेट्स / अमेरिकी नागरिकसँग नक्कली विवाह गराएर आप्रवासनसम्बन्धी कानुनी हैसियत प्राप्त गर्न सहयोग गरेको आरोपमा म्यासाचुसेट्सका ६ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। अमेरिकी न्याय मन्त्रालयका अनुसार गिरोहकी कथित नेतृ जेनिफर गोन्जालेजले एक दशकभन्दा बढी समयदेखि यस्तो धन्दा सञ्चालन गर्दै लाखौँ डलर कमाएको आरोप छ।
अमेरिकाको म्यासाचुसेट्स जिल्लाका लागि अमेरिकी महान्यायाधिवक्ताको कार्यालयले अक्टोबर २२ मा सार्वजनिक गरेको विवरणअनुसार, गोन्जालेजले अमेरिकी नागरिकहरूलाई आप्रवासनसम्बन्धी कानुनी हैसियत खोजिरहेका विदेशी नागरिकसँग नक्कली विवाह गर्न रकम दिने गरेकी थिइन्। युनाइटेड स्टेट्स सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेज (यूएससीआईएस) ले अनुसन्धानमा महत्त्वपूर्ण भूमिका खेलेको थियो।
आरोपितहरूमा फल रिभरकी ४३ वर्षीया जेनिफर गोन्जालेज, २९ वर्षीया एरिका ड्यानियल्स, ३९ वर्षीया क्राइस अलेजान्द्रो, ३१ वर्षीया अमारा पुघ र २६ वर्षीय जेलिन हिल तथा एटल्बोरोकी ३१ वर्षीया जेसिका टाभारेस छन्।
गोन्जालेज, ड्यानियल्स, अलेजान्द्रो, पुघ र टाभारेस पक्राउ परेका छन्। हिल भने हतियारसम्बन्धी कसुरमा राज्यको कारागारमा सजाय भोगिरहेका छन्।
एउटा नक्कली विवाहका लागि ४० हजार डलरसम्म
अदालती कागजातअनुसार, गोन्जालेजले आप्रवासनसम्बन्धी कानुनी हैसियत प्राप्त गर्न चाहने विदेशी नागरिकबाट रकम लिएर अमेरिकी नागरिकसँग नक्कली विवाहको व्यवस्था मिलाउने व्यवसाय सञ्चालन गरेकी थिइन्। उनले ड्यानियल्स, अलेजान्द्रो, टाभारेस र हिललाई त्यस्ता विवाहमा सहभागी हुन रकम दिने गरेको आरोप छ। अमेरिकी नागरिक पुघले उक्त व्यवसायमा सचिवका रूपमा काम गर्ने गरेको अभियोजन पक्षको दाबी छ।
अनुसन्धानकर्ताहरूका अनुसार उक्त समूहले वार्षिक औसत १८ देखि २० वटा नक्कली विवाह गराउने गरेको थियो। एउटा विवाहको व्यवस्था मिलाउन ३८ हजारदेखि ४० हजार अमेरिकी डलरसम्म लिने गरिएको आरोप छ। यसबाट गोन्जालेजले कम्तीमा १० वर्षसम्म प्रत्येक वर्ष लाखौँ डलर कमाएको अभियोजन पक्षको दाबी छ।
अनुसन्धानका क्रममा गोन्जालेजले यस्तो धन्दाबाट प्राप्त रकम डोमिनिकन रिपब्लिकमा व्यवसाय तथा घरजग्गा किन्न प्रयोग गर्ने गरेको बताएको आरोपपत्रमा उल्लेख छ।
वास्तविक विवाह भएको देखाउन विभिन्न उपाय
आरोपअनुसार, गोन्जालेजले ग्राहकहरूलाई विवाह वास्तविक भएको देखाउन जीवन बिमा गराउने, संयुक्त बैंक खाता खोल्ने र श्रीमान्–श्रीमतीका रूपमा सेल्फी तथा अन्य तस्बिर खिचाउनेलगायतका उपाय सिकाउने गरेकी थिइन्।
उनले आप्रवासनसम्बन्धी आवेदन दिन पर्याप्त कागजात तयार गर्न तीनदेखि चार महिना लाग्ने बताउने र आफ्नो सेवाबापत रकम तिर्न ग्राहकलाई सम्झौतामा हस्ताक्षर गराउने गरेको पनि उल्लेख छ।
अनुसन्धानका क्रममा गोन्जालेजले ग्राहकसँग नक्कली विवाहको व्यवस्था मिलाउन ३ हजार डलर अग्रिम नगद लिएको र ऋणको सम्झौताजस्तो देखिने कागजात तयार गर्न निर्देशन दिएको भिडियो तथा अडियो रेकर्डिङबाट खुलेको अभियोजन पक्षको दाबी छ।
कागजातमा पति वा पत्नीको उल्लेख गर्दा अपराधसँग सम्बन्ध जोडिन सक्ने भन्दै उनले विवाहको वास्तविक उद्देश्य लुकाउन त्यस्तो सम्झौता बनाएको आरोप छ। ग्राहकहरूले नक्कली विवाह कायम राख्न आफ्नो नाममा तोकिएका पति वा पत्नीलाई अथवा उनीहरूसँग नजिकका व्यक्तिलाई मासिक ५०० डलरसम्म तिर्ने गरेको पनि अदालतका कागजातमा उल्लेख छ।
आरोपितहरूले नक्कली विवाह समारोह तथा आफ्ना कथित पति वा पत्नीसँग घुमफिर गरेका तस्बिरसमेत खिच्ने गरेका थिए। ती तस्बिर आप्रवासनसम्बन्धी आवेदनमा विवाह वास्तविक भएको देखाउन प्रयोग गरिएको आरोप छ।
म्यासाचुसेट्सलाई ‘सेन्चुरी स्टेट’ भन्दै प्रचार
अनुसन्धानका क्रममा रेकर्ड गरिएको कुराकानीमा गोन्जालेजले म्यासाचुसेट्सलाई आप्रवासीका लागि अनुकूल राज्यका रूपमा प्रस्तुत गरेको अभियोजन पक्षको दाबी छ।
उनले ट्रम्प प्रशासनअन्तर्गत आप्रवासनसम्बन्धी कानुन र प्रक्रिया कडा भए पनि म्यासाचुसेट्सको सरकारले आप्रवासीलाई सहयोग गर्ने बताएकी थिइन्। उनले उक्त राज्यलाई आप्रवासीका लागि उत्तम स्थान भन्दै स्वास्थ्य बिमा तथा अन्य सहयोग उपलब्ध हुने दाबीसमेत गरेकी थिइन्।
सरकारी सुविधासम्बन्धी ठगीको आरोप पनि
अदालती कागजातअनुसार, केही आरोपितले म्यासाचुसेट्सको पूरक पोषण सहायता कार्यक्रम (एसएनएपी) अन्तर्गत सुविधा लिन आवेदन दिँदा आफूले कहिल्यै विवाह नगरेको झूटो विवरण दिएको आरोप छ। उनीहरूले संघीय आप्रवासन निकायमा भने आफ्ना नक्कली पति वा पत्नीका तर्फबाट आवेदन पेस गरिरहेका थिए।
गोन्जालेजले नक्कली विवाहको धन्दा सञ्चालन गर्दै डोमिनिकन रिपब्लिकमा सम्पत्ति खरिद गरिरहेको अवधिमा एसएनएपीबाट प्राप्त १ लाख २० हजार डलरभन्दा बढी खर्च गरेको अभियोजन पक्षको दाबी छ।
दोषी ठहरिए १० वर्षसम्म कैद हुन सक्ने
आरोपितहरूमाथि विदेशी नागरिकलाई गैरकानुनी रूपमा आश्रय दिएको तथा त्यसका लागि षड्यन्त्र गरेको, विवाह ठगी गरेको र विवाह ठगीका लागि षड्यन्त्र गरेको अभियोग लगाइएको छ।
विदेशी नागरिकलाई गैरकानुनी रूपमा आश्रय दिने तथा त्यससम्बन्धी षड्यन्त्रका प्रत्येक अभियोगमा दोषी ठहरिए अधिकतम १० वर्ष कैद, तीन वर्षसम्म निगरानीमा रिहाइ र २ लाख ५० हजार डलरसम्म जरिवाना हुन सक्छ। विवाह ठगी तथा त्यससम्बन्धी षड्यन्त्रका प्रत्येक अभियोगमा अधिकतम पाँच वर्ष कैद, तीन वर्षसम्म निगरानीमा रिहाइ र २ लाख ५० हजार डलरसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।
तस्बिरहरु : यूएससीआईएस
















