हङकङबाट अमेरिकामा ल्याउदै गरिएको ६ करोड ६० डलर मूल्यका नक्कली घडी बरामद
लुइसभिल, केन्टकी / अमेरिकाको भन्सार तथा सीमा सुरक्षा निकाय (सीबीपी) ले हङकङबाट टेक्सास पठाउन लागिएका ६ करोड ६० लाख डलरभन्दा बढी मूल्यका नक्कली लक्जरी घडी बरामद गरेको छ।
सीबीपीका अनुसार अक्टोबर २३ मा केन्टकी लुइसभिलस्थित बन्दरगाहमा जाँचका क्रममा ४६० थान नक्कली घडीसहितको पार्सल नियन्त्रणमा लिइएको हो। ती घडी सक्कली भएको भए उत्पादकले तोकेको खुद्रा मूल्य (एमएसआरपी) अनुसार कुल मूल्य ६ करोड ६० लाख डलरभन्दा बढी हुने थियो।
हङकङबाट पठाइएको उक्त पार्सल टेक्सासस्थित एक आवासीय ठेगानामा पुर्याउने तयारी थियो। अधिकारीहरूले शंकास्पद ठानेर पार्सल जाँच गर्दा अडेमार्स पिगे ब्रान्डको ट्रेडमार्क प्रयोग गरिएका ४६० वटा घडी फेला पारेका थिए।
सीबीपीका व्यापारसम्बन्धी विज्ञहरूले ती घडी नक्कली भएको पुष्टि गरेपछि दर्ता भएका ट्रेडमार्कको अनधिकृत प्रयोग गरेको आरोपमा सबै घडी जफत गरिएको हो।
लुइसभिलका बन्दरगाह निर्देशक फिलिप ओन्केनका अनुसार यसअघि पनि उक्त कार्यालयले ठूलो परिमाणमा नक्कली गरगहना तथा घडी बरामद गर्दै आएको छ।
उनका अनुसार मे महिनामा १ करोड ४० लाख डलर मूल्यका नक्कली गरगहना, जुनमा ५ करोड ४० लाख डलरका नक्कली घडी, जुलाईमा २ करोड ८० लाख डलरका नक्कली घडी र अगस्टमा ४ करोड ३० लाख डलर मूल्यका ३०० थान नक्कली घडी बरामद गरिएको थियो।
उनले अन्तर्राष्ट्रिय व्यापार बढ्दै जाँदा अवैध सामानको कारोबार रोक्न अधिकारीहरूले निगरानी र जाँचलाई तीव्र बनाएको बताएका छन्।
सीबीपीका अनुसार नक्कली सामानको कारोबार अन्तरदेशीय अपराधमध्ये अत्यधिक नाफा हुने व्यवसायमा पर्छ। लोकप्रिय ब्रान्डका नक्कली उत्पादन अनलाइन माध्यमबाट समेत बिक्री हुने गरेका छन्। यसले वैध व्यवसायलाई आर्थिक क्षति पुर्याउनुका साथै उपभोक्ताको स्वास्थ्य र सुरक्षामा समेत जोखिम निम्त्याउन सक्छ।
नक्कली औषधि, अत्तर, सौन्दर्य सामग्री, बालबालिकाका खेलौना, कपडा, गरगहना, विद्युतीय उपकरण तथा सवारीसाधनका पार्टपुर्जामा कमसल वा हानिकारक सामग्री प्रयोग हुन सक्ने सीबीपीले चेतावनी दिएको छ।
सीबीपीका अनुसार आर्थिक वर्ष २०२५ मा बौद्धिक सम्पत्ति अधिकार उल्लंघनसम्बन्धी उसका झन्डै ९० प्रतिशत जफत चीन र हङकङबाट आएका सामानसँग सम्बन्धित थिए।
निकायले उपभोक्तालाई नक्कली सामानबाट बच्न आधिकारिक वा विश्वसनीय विक्रेताबाट मात्रै खरिद गर्न आग्रह गरेको छ। नक्कली सामानको खरिदले वास्तविक उत्पादक कम्पनीको आम्दानी र त्यससँग जोडिएका अमेरिकी रोजगारीमा समेत असर पार्ने सीबीपीको भनाइ छ।
















