लघुकथा : आमाको दसैँ
नारदप्रसाद आचार्य ‘सुदामा’
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / गाउँभरि दसैँको रौनक छाएको थियो। कतै घर लिपिँदै थिए, कतै पिङका लट्ठा कसिँदै थिए। आकाशमा सेता बादलका टुक्राहरू उडिरहेका थिए, अनि परदेशिएका सन्तानको प्रतीक्षामा बूढा आँखाहरू बाटोतिर टोलाइरहेका थिए।
गाउँको छेउमा एउटी आमा थिइन्। उनको आँगनमा जमरा उम्रिएको थियो, थालीमा अक्षता थियो र निधारमा रातो टीकाको रहर। तर मनमा एउटै प्रश्न थियो,यसपालि मेरो छोरो आउँछ कि आउँदैन?
दसैँको अघिल्लो साँझ फोन बज्यो।
“आमा, यसपालि पनि बिदा मिलेन। पैसा पठाइदिएको छु, आफ्नो ख्याल गर्नु है!”
आमाले मुस्कुराउँदै भनिन्, “हुन्छ बाबु, खुसी भएर बस्नु।”
फोन काटियो। मुस्कान ओठमै रह्यो, आँसु आँखामा भरियो।
दसैँको बिहान गाउँभरि टीका र आशीर्वादको रङ पोतियो। आमाले भने छोराको पुरानो तस्बिर निधारमा लगाइन्, जमरा राखिन् र सुस्केरा हाल्दै भनिन्, “भगवान्, जहाँ भए पनि मेरो छोराको निधार सधैँ खुसीले रङ्गियोस्।”
त्यही बेला छिमेकीको सानो नाति टीका लगाउन आयो। आमाले उसलाई काखमा राखिन्, निधारमा रातो टीका लगाइदिइन् र आशीर्वाद दिइन्। बालक खुसी हुँदै दौडियो।
आमाको अनुहारमा क्षणभर उज्यालो छायो। तर साँझ पर्दै जाँदा उनको आँखा फेरि मूलढोकामै अडियो।
बाहिर जून चम्किरहेको थियो, भित्र आमाको मन एक्लै रोइरहेको थियो।
दसैँ हरेक वर्ष आउँछ, तर कसैको घरमा उत्सव बनेर, कसैको आँखामा प्रतीक्षा बनेर।
















