बाल्टिमोरमा चितवन समाज अमेरिकाको सहजीकरणमा हरितालिका तीज पूजा
बाल्टिमोर, मेरिल्याण्ड / अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि अमेरिकाको बाल्टिमोरस्थित हिन्दु बुद्ध मन्दिरमा हरितालिका तीज पूजा आयोजना हुने भएको छ। पूजामा चितवन समाज अमेरिकाले सहजीकरण गर्ने भएको हो।
सेप्टेम्बर १४ तारिख सोमबार हुने तीज पूजामा बाल्टिमोर तथा आसपासका नेपाली समुदायलाई सहभागी हुन आयोजकले आह्वान गरेको छ। विशेषगरी चितवनबासीलाई पूजामा आवश्यक सहजीकरण तथा स्वयमसेवामा लाग्न पनि आग्रह गरिएको छ ।
चितवन समाज अमेरिकाका अध्यक्ष आनन्द कृष्ण घिमिरेका अनुसार पूजामा सहभागी हुने भक्तजनका लागि दुईवटा सिफ्टको व्यवस्था गरिएको छ। पहिलो सिफ्ट बिहान ९ बजेदेखि र दोस्रो सिफ्ट दिउँसो ४ बजेदेखि सञ्चालन हुनेछ।
पूजा गर्न चाहनेका लागि २५ डलर दर्ता शुल्क तोकिएको छ। तर मन्दिरमा दर्शन गर्न मात्र जाने भक्तजनले कुनै शुल्क तिर्नुपर्ने छैन।
चितवन समाज अमेरिकाका अध्यक्ष आनन्द कृष्ण घिमिरेले तीज पूजा नेपाली समुदायलाई एकै ठाउँमा जोड्ने अवसर भएकाले सबैलाई सहभागिताका लागि आग्रह गरेका छन्।
समाजका सल्लाहकार डोलनाथ घिमिरेले पनि कार्यक्रम सफल बनाउन समुदायको सहयोग र सहभागिता आवश्यक रहेको बताएका छन्।















