पार्टीमा गरेको दुःखको मूल्याङ्कन भयो : बिष्णु सुवेदी
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / नेपाली कांग्रेसले अन्तर्राष्ट्रिय जनसम्पर्क समितिको संयोजकमा अमेरिकाको टेक्सस निवासी बिष्णु सुवेदीलाई नियुक्त गरेको छ।
पार्टी सभापति गगनकुमार थापाले मंगलबार सुवेदीलाई अन्तर्राष्ट्रिय जनसम्पर्क समितिको संयोजकको जिम्मेवारी दिएका हुन्। सुवेदी नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजकसमेत हुन्।
नेपाली कांग्रेसले विधानको धारा १४ (क) बमोजिम अन्तर्राष्ट्रिय जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गर्ने कार्यदिशासहित सुवेदीलाई संयोजकको जिम्मेवारी दिएको हो। पार्टीले उनलाई केन्द्रीय कार्यसमितिको मार्गदर्शनअनुसार विश्वभर रहेका जनसम्पर्क समितिहरूसँग आवश्यक समन्वय गरी गतिविधि सञ्चालन गर्न तथा तोकिएको कार्यदिशाअनुसार अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ।
नेपाली जनसम्पर्क समिति नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संगठन हो। भारत निर्वासनका क्रममा कांग्रेसका संस्थापक बीपी कोइरालाले नेपाली जनसम्पर्क समिति गठन गरेका थिए। हाल विश्वका झण्डै तीन दर्जन देशमा नेपाली जनसम्पर्क समिति सक्रिय छन्।
जिम्मेवारी पाएपछि समाज टाइम्ससँग कुरा गर्दै सुवेदीले अधिवेशनको निश्चित मिति अहिले नै तय भइनसकेको बताए। उनका अनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय जनसम्पर्क समितिको कमिटी गठन गर्ने, त्यसपछि केन्द्रसँग समन्वय गरेर कार्यदिशा र आवश्यक नियम–विधान तयार गर्ने काम हुनेछ।
‘अहिले नै डेट भन्यो भने त्यो डेटमा नहुन पनि सक्छ,’ सुवेदीले भने, ‘अधिवेशनभन्दा पहिला गर्नुपर्ने काम र प्रक्रियाहरू पूरा गर्दै जाने हो।’
उनले नयाँ संगठन भएकाले यसको संरचना र कार्यविधि अझै पूर्ण रूपमा स्पष्ट भइनसकेको बताए। नेपाली कांग्रेसको विधान तथा नियमावलीमा आवश्यक विषयहरू स्पष्ट पार्ने र त्यसपछि अन्तर्राष्ट्रिय जनसम्पर्क समितिको आफ्नै विधान तथा कार्यदिशा तयार गर्ने उनको भनाइ छ।
सुवेदीले सन् २०१८ देखि आफूहरूले अघि बढाउँदै आएको ‘विश्व संजाल’को अवधारणा र अहिले पार्टीले गठन गरेको अन्तर्राष्ट्रिय जनसम्पर्क समितिबीच केही समानता भए पनि दुवैलाई एउटै संगठनको निरन्तरता भन्न नमिल्ने बताए।
‘हाम्रो कन्सेप्ट हामीले २०१८ देखि सुरु गरेका हौँ। त्यही एक्ज्याक्ट यो भएन, नाम पनि फरक भयो,’ उनले भने, ‘हामीले गरेको काम हेरेर पार्टीले यस्तो संगठन आवश्यक छ भन्ने महसुस गर्यो ।’
अन्तर्राष्ट्रिय जनसम्पर्क समितिको संरचनाबारे कुरा गर्दै उनले हालको विधानले समितिमा बस्नका लागि नेपाली जनसम्पर्क समितिका पूर्वसभापतिहरूलाई प्राथमिकता दिएको बताए। अन्य व्यक्तिका लागि समितिमा रहने व्यवस्थाका लागि पार्टी सँग छलफल गरेर निर्णय गरिने उनको भनाइ छ।
आफूलाई जिम्मेवारी दिने–नदिने विषयमा लामो समयदेखि अन्योल रहे पनि अन्ततः पार्टीले जिम्मेवारी दिएकोमा सुवेदीले आफूले पार्टीमा गरेको योगदानको मूल्याङ्कन भएको महसुस गरेको बताए।
‘पार्टीले काम, जुन भनौँ न, सुरुदेखि काम गरेको र पार्टीमा दुःख गरेको यहाँ पार्टीले मूल्याङ्कन गर्यो,’ उनले भने, ‘ढिलो–चाँडो भन्ने कुरा आफ्नो ठाउँमा छ। पार्टीले मूल्याङ्कन गर्यो भन्ने मैले फिल गरेको छु। अब सबैलाई समेट्छु।’
सुवेदीले सबै देशमा रहेका जनसम्पर्क समितिहरूबीच समन्वय गर्दै अन्तर्राष्ट्रिय जनसम्पर्क समितिलाई प्रभावकारी र परिणाममुखी बनाउने आफ्नो प्राथमिकता रहेको बताए।














