ह्यारिसबर्गको साङ्गे छोलिङ मेडिटेसन सेन्टरमा नेपालमा बाढीपहिरोमा ज्यान गुमाएकाको स्मृतिमा शोकसभा
ह्यारिसबर्ग, पेन्सिलभेनिया / नेपालमा हालै आएको बाढीपहिरो तथा प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरूको स्मृतिमा पेन्सिलभेनियाको ह्यारिसबर्गमा आइतबार शोकसभा तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ।
साङ्गे छोलिङ मेडिटेसन सेन्टरमा आयोजित कार्यक्रममा नेपालमा प्राकृतिक प्रकोपबाट दिवङ्गत भएका व्यक्तिहरूको चिरशान्तिको कामना गर्दै पूजापाठ, दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो।
साङ्गे छोलिङ मेडिटेसन सेन्टरका अध्यक्ष दोर्जी लामाको अध्यक्षतामा भएको कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो।
बिहान १० बजेदेखि प्रमुख लामा दोर्जे लोपेन लामा नाम्गेलसहित नौ जना लामागुरुहरूले दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै विधिपूर्वक पाठ गरेका थिए।
दिउँसो २ बजेपछि विशेष शोकसभा तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सहभागीहरूले नेपालमा बाढीपहिरोका कारण ज्यान गुमाएकाहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा जीबीएलओका बोर्ड चेयर नारद अधिकरी रहेका थिए । त्यस्तै माझी समाजका अध्यक्ष डा. सुभाष माझी, गुरुङ कम्युनिटी अफ ह्यारिसबर्गका अध्यक्ष हरि गुरुङ, गुरुङ कम्युनिटी अफ ग्रेटर कार्लायलका अध्यक्ष मानध्वज गुरुङ, युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका उपाध्यक्ष अगम गुरुङ तथा यूजीएसए माघी विभागका अध्यक्ष गोमा गुरुङलगायतको सहभागिता थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले नेपालमा भएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै दिवङ्गतहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन यूजीएसएका प्रमुख सल्लाहकार तथा ह्यारिसबर्ग गुरुङ कम्युनिटीका सदस्य टेक गुरुङले गरेका थिए।















