१६ औं आइओएफटीसीको एक सय दिनको काउन्टडाउन सुरु, अस्ट्रेलियाको मेलबर्नमा हुँदै छ च्याम्पियनसिप
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को १६ औं संस्करणको एक सय दिनको काउन्टडाउन सुरु भएको छ।
विश्वभरका तेक्वान्दो खेलाडी, प्रशिक्षक तथा टिमलाई एउटै मञ्चमा जोड्दै आएको प्रतिष्ठित च्याम्पियनसिप अस्ट्रेलियाको खेलकुद राजधानी मानिने मेलबर्नमा आगामी नोभेम्बर २८ र २९ तारिख आयोजना हुँदै छ।
‘एकतामा बल, मित्रतामा विजय’ भन्ने मुख्य नाराका साथ सन् २००० मा नेपालबाट सुरु भएको आइओएफटीसी अस्ट्रेलियामा पहिलो पटक आयोजना हुन लागेको हो।
आइओएफटीसीका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर डान महर्जनले च्याम्पियनसिप नेपाली खेलाडीका लागि विश्वस्तरीय अवसर भएको बताएका छन्।
“हामीले सन् २००० मा नेपालबाट यो यात्रा सुरु गर्दा मुख्य उद्देश्य नै नेपाली खेलाडीलाई विश्वस्तरको मञ्च प्रदान गर्नु थियो। नेपाली खेलाडीलाई विश्वभरका उत्कृष्ट फाइटरसँग प्रतिस्पर्धा गराई उनीहरूको आत्मविश्वास बढाउन र अन्तर्राष्ट्रिय भाइचारा स्थापित गर्न यो प्रतियोगिता सुरु गरिएको हो,” एक सय दिनको काउन्टडाउन सुरु भएको अवसरमा समाज टाइम्ससँग महर्जनले भने।
“आज यो यात्रा १६ औं संस्करणसम्म आइपुग्दा र अस्ट्रेलियाको मेलबर्नमा यसको ऐतिहासिक काउन्टडाउनको ‘एक सय दिन बाँकी’ भन्न पाउँदा मलाई निकै खुसी र गौरव महसुस भएको छ,” ग्रान्डमास्टर महर्जनले भने, “म विश्वभरका सम्पूर्ण खेलाडी, प्रशिक्षक र टिमलाई यस ऐतिहासिक संस्करणमा सहभागी हुन हार्दिक आह्वान गर्दछु।”
१६ औं आइओएफटीसीका स्थानीय आयोजक प्रमुख तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया, भिक्टोरिया च्याप्टरका संयोजक महादेव धानुकका अनुसार च्याम्पियनसिपमा फाइट, पूम्से र बोर्ड ब्रेकिङ विधामा विश्वभरका खेलाडीबीच उच्चस्तरीय प्रतिस्पर्धा हुनेछ।
उनले च्याम्पियनसिपमा एनआरएनए तथा स्थानीय नेपाली समुदायको बलियो साथ रहने बताए।
“मेलबर्नमा तयारी निकै राम्रो र व्यवस्थित रूपमा अगाडि बढिरहेको छ। एनआरएनएसँग संस्थागत कार्यएकता गरेर हामीले यो प्रतियोगितालाई थप भव्य र ऐतिहासिक बनाउने रणनीति लिएका छौं,” मास्टर धानुकले भने।
उनले अस्ट्रेलियामा रहेका स्थानीय नेपाली समूह, विभिन्न संघ–संस्था तथा समग्र नेपाली समुदायले यस खेलकुद महोत्सवलाई सफल बनाउन पूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरे।
“हाम्रो बलियो अपेक्षा छ र सबै क्षेत्रबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छौं,” धानुकले भने।
नेपाल राष्ट्रिय तेक्वान्दो टिमका पूर्वप्रमुख प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री नवीनकुमार श्रेष्ठले यो च्याम्पियनसिप नेपाली खेलकुद र खेलाडीका लागि ठूलो अवसर भएको बताए।
“यो अन्तर्राष्ट्रिय च्याम्पियनसिप नेपाली तेक्वान्दो खेलाडीका लागि सधैं एउटा उत्कृष्ट र विशिष्ट अवसर रहँदै आएको छ। अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा प्रदर्शन गर्न, विश्वस्तरीय अनुभव बटुल्न र नेपाली खेलकुदको स्तर माथि उठाउनका लागि यो प्रतियोगिता नेपाली खेलाडीका लागि एउटा स्वर्णिम ढोका हो,” मास्टर श्रेष्ठले भने।
प्रतियोगितामा सहभागी हुन चाहने विश्वभरका खेलाडी तथा टिमले आइओएफटीसीको आधिकारिक वेबसाइट ioftc.org मार्फत नाम दर्ता गर्नुका साथै विस्तृत सूचना पुस्तिका डाउनलोड गर्न सक्ने आयोजक समितिले जनाएको छ।
गौरवमय इतिहास
इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपले स्थापनादेखि नै अन्तर्राष्ट्रिय तेक्वान्दो समुदायलाई जोड्दै आएको छ। आइओएफटीसीले हरेक दुई वर्षमा अमेरिका र अमेरिकाबाहिर पालैपालो विभिन्न देशमा संस्करण आयोजना गर्दै आएको छ।
सन् २००० मा तत्कालीन युवराज दीपेन्द्र वीरविक्रम शाहबाट उद्घाटन भएको च्याम्पियनसिप एसिया, युरोप, अमेरिका र अब अस्ट्रेलियामा समेत आयोजना हुन लागेको छ।
आइओएफटीसीका हालसम्मका संस्करणहरू:
- पहिलो संस्करण (२०००): काठमाडौं, नेपाल — बीआईसीसी
- दोस्रो संस्करण (२००२): पोखरा रंगशाला, नेपाल
- तेस्रो संस्करण (२००४): पोर्टल्याण्ड, ओरिगन, अमेरिका हेडक्वाटर
- चौथो संस्करण (२००५): हङकङ
- पाँचौं संस्करण (२००६): पोर्टल्याण्ड, ओरिगन, अमेरिका हेडक्वाटर
- छैटौं संस्करण (२००७): कुरु क्षेत्र, भारत
- सातौं संस्करण (२००८): पोर्टल्याण्ड, ओरिगन, अमेरिका हेडक्वाटर
- आठौं संस्करण (२०१०): काठमाडौ , नेपाल दशौ वर्षगाँठ
- नवौं संस्करण (२०१२): पोर्टल्यान्ड, ओरेगन, अमेरिका हेडक्वाटर
- दसौं संस्करण (२०१४): लण्डन, यूके
- एघारौं संस्करण (२०१६): पोर्टल्यान्ड, ओरेगन, अमेरिका हेडक्वाटर
- बाह्रौं संस्करण (२०१८): इटरी, नेपाल
- तेह्रौं संस्करण (२०२२): डेट्रोइट, मिचिगन, अमेरिका — कोभिड–१९ का कारण ढिलाइ
- चौधौं संस्करण (२०२४): सियोल, दक्षिण कोरिया — क्युङ्मीन विश्वविद्यालय
- पन्ध्रौं संस्करण (२०२५): काठमाडौं, नेपाल — २५ औं वर्षगाँठ विशेष संस्करण
- १६ औं संस्करण (२०२६): मेलबर्न, अस्ट्रेलिया — नोभेम्बर २८ र २९














