अमेरिकी ग्रीनकार्डका लागि सेप्टेम्बर १८ देखि नयाँ फारम अनिवार्य
वासिङ्टन डीसी / यु.एस्. सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिसेज (यूएससीआइएस) ग्रीन कार्डका लागि प्रयोग गरिने फारम ‘फारम आइ-४८५’ को नयाँ परिमार्जित संस्करण आगामी सेप्टेम्बर १८ मा प्रकाशित गर्ने घोषणा गरेको छ।
बुधवार जारी गरिएको सूचना अनुसार हालै घोषणा गरिएको ‘पब्लिक चार्ज ग्राउन्ड अफ इन्याडमिसिबिलिटी’ सँग अनुकूल गराउन यो फारम परिमार्जन गरिएको यूएससीआइएसले जनाएको छ।
नयाँ नियम अनुसार जारी हुन लागेको (०९/१८/२६ संस्करण) को यो नयाँ फारमले हाल प्रचलनमा रहेको (०१/२०/२५ संस्करण) को फारमलाई पूर्ण रूपमा प्रतिस्थापन गर्नेछ।
नयाँ फारम लागू भएपछि पुरानो फारम स्वीकार गर्नका लागि कुनै पनि अतिरिक्त समय (ग्रेस पिरियड) उपलब्ध नहुने भएकाले आवेदकहरूको सहजताका लागि यूएससीआइएसले आफ्नो आधिकारिक वेबसाइटमा नयाँ फारम र यसको निर्देशिकाको ‘प्रिभ्यू’ सार्वजनिक गरिसकेको जनाएको छ।
नयाँ आवेदकलाई मात्र लागू हुने ‘पब्लिक चार्ज’ नियम
यो नयाँ नियम र फारम पहिलो पटक ग्रीन कार्डका लागि आवेदन दिने नयाँ आवेदकहरूका लागि मात्र लागू हुनेछ। पहिले नै ग्रीन कार्ड पाइसकेका र आफ्नो ग्रीन कार्ड नवीकरण गर्न चाहने व्यक्तिहरूलाई यसले कुनै असर नगर्ने जनाइएको छ ।
‘पब्लिक चार्ज’ नियम अन्तर्गत सरकारले नयाँ आवेदक भविष्यमा अमेरिकी सरकारको आर्थिक सहायतामा निर्भर हुन सक्छ कि सक्दैन भनेर उनीहरूको उमेर, स्वास्थ्य, आम्दानी, र सीपको मूल्यांकन गर्नेछ।
आवेदकहरूले ध्यान दिनुपर्ने महत्त्वपूर्ण मिति र नियमहरू:
- सेप्टेम्बर १८, २०२६ भन्दा अगाडि: सेप्टेम्बर १८ भन्दा अघि अनलाइन बुझाइएका वा पोस्ट अफिसबाट पठाइएका (पोस्टमार्क गरिएका) आवेदनहरू पुरानै (०१/२०/२५ संस्करण) को फारममा हुनुपर्नेछ र यूएससीआइएसले त्यसलाई स्वीकार गर्नेछ।
- सेप्टेम्बर १८, २०२६ वा त्यसपछि: यस मिति वा यसपछि पुरानो फारम (०१/२०/२५ संस्करण) प्रयोग गरी पठाइएका सम्पूर्ण आवेदनहरू यूएससीआइएसले अस्वीकार गर्नेछ। सेप्टेम्बर १८ वा त्यसपछि आवेदन दिनेहरूले अनिवार्य रूपमा नयाँ (०९/१८/२६ संस्करण) को फारम प्रयोग गर्नुपर्नेछ।
- अगावै दर्ता नगर्नुहोला: नयाँ (०९/१८/२६) संस्करणको फारम सेप्टेम्बर १८, २०२६ भन्दा अगाडि बुझाएमा त्यो मान्य हुने छैन र स्वीकृत गरिने छैन।
यूएससीआइएसले ग्रीन कार्ड आवेदन दिने तयारीमा रहेका सबैलाई फारम बुझाउने मिति र फारमको संस्करण स्पष्ट रूपमा जाँच गर्न आग्रह गरेको छ।














