भर्जिनियाबाट फर्कँदै गर्दा मलाई बिस्मात यो छ कि त्यो क्षमता मसँग किन भएन?
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / भर्जिनियाबाट फर्कँदै गर्दा आइतवार साँझ ठूलो पानी परेको थियो। सडकमा भल बगेको थियो, त्योभन्दा बेगले भल मेरो मस्तिष्कमा बगिरहेको थियो—त्यो क्षमता मसँग किन भएन?
मैले व्यावसायिक पत्रकारिता सुरु गरेपछि म कुनै दल वा भ्रातृ संस्थासँग पनि आबद्ध छैन। तीन दशक हुन लाग्यो, पत्रकार मात्र भएको। तर म डेमोक्र्याट हुँ। म स्वतन्त्र प्रेसको पक्षपाती। मेरो नेतृत्व म आफैंले छान्न पाउने र ऊसँग प्रश्न सोध्न पाउनुपर्ने व्यवस्थाको वकालत गर्छु।
राजनीति र पत्रकारिता पेसामात्र होइन, सेवा हो। यहाँ कमाइ हुँदैन, गुजारा चलाउने हो। लोकतन्त्रमा शासक होइन, सेवक हुन्छ। कुनै कुलमा जन्मिएको भरमै त्यो व्यक्ति शासक हुने र कुनै नेताले उत्तराधिकारी तोक्ने शासन व्यवस्थाको म विरोधी हुँ।
म दोस्रो जीवन बाँचिरहेको मान्छे। दिन नआई मरिँदो रहेनछ भन्ने उदाहरण पनि हुँ।
‘मानो’ कति छ, के थाहा। स्वास्थ्य अनुकूल छैन। त्यो स्वास्थ्यलाई जित्न पनि म पेसामा सक्रिय हुने प्रयासमा छु।
हुन त आम पाठकका लागि मेरो स्वास्थ्य सरोकारको विषय होइन। यो मेरो निजी विषय हो। मलाई यो क्षेत्रमा लाग्न कसैले करकाप गरेको छैन।
अघिल्लो वर्ष बाल्टिमोर एसोसिएसन अफ नेपालिज इन अमेरिका (बाना) को निर्वाचनमा लगातार २७ घण्टा खटेछु। त्यो मेरो जीवनको पहिलो घटना थियो। एक पल पनि आँखा झिमिक्क नगरिकन समाचार संकलनमा निरन्तर लागेँ।
मध्यरातमा पनि मतगणनाको अपडेट गरिरहेको थिएँ। परिवार, आफन्त र शुभेच्छुकहरूको गाली खाएँ। हुन पनि मैले आफ्नो स्वास्थ्यको ख्यालै नगरी मूर्खता गरेको थिएँ, निद्रा फालेर। खासमा त्यो गाली थिएन, मेरा प्रियजनको चिन्ता थियो र माया।
यो पटक अगस्ट १४–१६ भर्जिनियामा नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संगठनको तेस्रो महाधिवेशन। १२ वर्षपछि हुन लागेको अधिवेशन।
गत वर्ष बानामा पाँच हजार जना सदस्य बनेका थिए। मतदान भौतिक रूपमा थियो। जनसम्पर्क समितिको तेस्रो अधिवेशनमा पनि चार सय ७३ जना डेलिगेट भौतिक रूपमा उपस्थित भए। पाँच जना सदस्य बराबर एक जना डेलिगेटको व्यवस्था गरिएको थियो।
यी दुवै कार्यक्रममा सहभागिता व्यापक थियो। बाना मेरिल्यान्ड मात्र केन्द्रित संस्था हो। जनसम्पर्क समितिको महाधिवेशनमा अमेरिकाभरिबाट आएका थिए नेपाली कांग्रेस समर्थकहरू। नेपाली जनसम्पर्क समिति नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संगठन हो।
अमेरिकामा रहेर नेपाली समुदायका लागि पत्रकारिता गर्नेहरूका लागि यो कार्यक्रम प्राथमिकतामा नै पर्नुपर्ने हो। अमेरिकामा नेपाली मूलका पत्रकारहरूको नाममा दुईवटा संस्था छन्। दुई सयभन्दा बढी सदस्य। तर त्यहाँ ‘नेपाली समुदायको प्रेस’ निःसन्देह जुन रूपमा प्राथमिकता पाउनुपर्ने हो, पाएको मैले महसुस गरिनँ। केही पत्रकार साथीहरू थिए, तर उनीहरू मतदाताको लाइनमा भेटिए।
पत्रकार राजनीतिक दलको भ्रातृ संस्थाको मतदाता। अलि नसुहाउने।
शुक्रवार मध्यरात र शनिवार रात छर्लङ्ग हुने गरी निर्वाचन समितिले काम गरिरहेको थियो। मलाई निन्द्राले चापेको थियो । मतगणना स्थल बाहिर कुरिरदा मैले सहकर्मी खोजिरहेको थिए ।
पछि मैले सम्प्रेषण गरेका अपडेट र तस्बिरहरू अन्य मिडियाहरूमा पनि छ्यापछ्याप्ती। कतिले मेरो तस्बिरको ‘वाटरमार्क’ क्रप गरेर प्रकाशित गरेका छन्। कार्यक्रमस्थलमा नै नआएकाहरूले बाइलाइन लेखेका छन्।
म अहिले पनि सोचिरहेको छु। त्यो क्षमता मसँग किन भएन र मैले लगातार दुई रातको निद्रा माया मारेँ। आखिर घरबाटै समाचार बन्दो रहेछ ।
मलाई बिस्मात लागेको अर्को कुरा।
त्यसो त जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशन तोकिएकै समयमा हुन्छ भन्नेमा शंका थियो। सदस्य शुल्कको लेभी काठमाडौं नपुग्दा त्यो शंकालाई बल पुर्याएको थियो।
‘अगस्ट १६ तारिख अधिवेशन सम्पन्न भएन भने त्यसै दिन मेरो राजीनामा आउँछ।’ भिडियो अन्तर्वार्ता दिन अस्वीकार गरेका नेपाली जनसम्पर्क समिति अमेरिकाका संयोजक धनन्जय नरसिंह केसीले टेलिफोनमा भनेका थिए।
केसी नेपाली जनसम्पर्क समिति अमेरिकाको सन् २०१४ मा टेक्ससमा भएको दोस्रो महाधिवेशनबाट निर्वाचित वरिष्ठ उपसभापति। दोस्रो महाधिवेशनले आनन्द विष्टलाई सभापतिमा चयन गरेको थियो। विष्ट नेतृत्वको कार्यसमितिले तोकिएको भन्दा नौ वर्ष बढी समय वितायो । नेपालको पछिल्लो संसदीय चुनावमा विष्टले टिकट पाए । हुन त संविधानमा ग्रीनकार्ड वा पीआर भएकाले त्यो त्यागेको ९० दिन नहुदाँ सम्म राजनैतिक नियुक्त मनोनयन वा चुनाव लड्न पाउदैन भन्ने हास्यास्पद व्यवस्था गरेको छ। जवकी विदेशी नागरिकता त्यागेको व्यक्ति क्षणभरमा चोखो हुन्छ।
‘म कानुनी रुपमा सुरक्षित छु ।’ त्यो बेला विष्टले भनेका थिए भलै चुनाव हारे, त्यस पछि उनी थप कानुनी परीक्षणमा उत्रनु परेन । विष्टले चुनाव लडे पछि उनकै समितिका वरिष्ठ उपसभापतिलाई कार्यवहाक नदिइ संयोजक तोक्दा कतिले नातावादको प्रसङ्ग पनि उठाए।
केसी नेपाली कांग्रेसका सभापति गगन थापाका काका ससुरा हुन्। दुई महिना १२ दिनमा जिम्मेवारी पुरा गरे पछि केसी मात्र होइन ससुरालाई पद दियो भन्ने आलोचनाबाट सभापति थापा पनि मुक्त भए ।
तर महाधिवेशन हुन एक साता बाँकी हुँदा पनि प्रतिनिधिको नाम सार्वजनिक गरिएको थिएन। निर्वाचनको निष्पक्षतालाई लिएर केहीले शंका काटेका थिए। केही उम्मेदवारहरूले आफ्ना मतदातासम्म पहुँच नपाएको भन्दै गुनासो गरेका थिए।
हिल्टन होटलको भित्तामा जब डेलिगेटको नाम टाँसियो, त्यसपछि त्यो किन गोप्य राखियो भन्ने भेउ पाइयो।
त्यो लिस्टमा नेपालको पछिल्लो संसदीय चुनावमा घण्टीमा भोट मागेकादेखि प्रवासी नेपाली मञ्चका सदस्यसमेत भेटिए। प्रवासी नेपाली मञ्च नेकपा एमालेको भ्रातृ संगठन हो। भलै जनसम्पर्क समिति र प्रवासी मञ्च अमेरिकामा ५०१(सी) अन्तर्गत दर्ता छन्। त्यो भनेको गैरनाफामूलक सामाजिक संस्था हो र यीनीहरूले राजनीतिक गतिविधि गर्न पाउँदैनन्।
कतिपय कुरा नैतिकताको पनि होला। एउटै व्यक्ति पत्रकारको संस्था, एनआरएनए, जनसम्पर्क समिति, प्रवासी मञ्च जहाँ पनि ‘डेलिगेट’ हुनु चानचुने कुरा होइन। त्यो क्षमता मसँग किन भएन?
त्योभन्दा अझ ठूलो क्षमता नेपाली कांग्रेसको विरुद्धमा भोट माग्नेहरू दुई जना यसपटक पदाधिकारीमा नै निर्वाचित भए। टिममा पर्दै मतदाताले पत्याए पछि कसको के लाग्यो । पार्टी परिवर्तन त नियमित प्रक्रिया हो ।
हुन त यो संस्थाको कुरा हो। एउटा पत्रकारका लागि चासोको विषय नहुनुपर्ने हो। तर त्यहाँ नेपाल जोडिएको छ। मेरो पुस्ताका केही व्यक्ति जसले तीन दशकभन्दा धेरै समय सक्रिय राजनीतिमा बिताए। म देश छोडेर हिँडेँ। उनीहरू त्यही देशमा भविष्य छ भनेर लडे। आफ्नो परिवारभन्दा माथि देशवासीको नाममा समय खर्चिए। जो प्रश्न सोधेर थाकेनन्। त्यही व्यक्ति आज आफू नेतृत्वमा पुग्दा आफैंले हिजो सोधेका प्रश्नहरू माथि कति न्याय गरेका छन्, त्योचाहिँ चासोको विषय हो।
हिजो पारदर्शिताको प्रश्न उठाउने त्यो पुस्ता आज आफु कति पारदर्शि भइरहेको छ त्यो सोचनिय कुरा हो ।
नेपाली राजनीतिको मुख्य समस्या। नेतृत्वले जहाँ पनि आफ्ना मान्छे टिप्ने। हिजो जसले यो प्रवृत्तिको विरोध गर्यो आज उही नेतृत्वमा छ ।
नेपाली जनसम्पर्क समिति अमेरिका पछिल्लो दशक दुई कुराले बदनाम रह्यो। पहिलो, प्रजातान्त्रिक संस्थाको भ्रातृ संगठनले तोकिएको समयमा अधिवेशन नै गरेन। नेतृत्व हस्तान्तरण प्रजातन्त्रको मूल प्रक्रिया हो। अर्को, पारदर्शिता। यी दुवै कुरामा चुकेका व्यक्तिहरूलाई काठमाडौंले फेरि काँधमा बोक्यो।
गगन थापा, विश्वप्रकाश शर्मा, गुरु घिमिरेहरू हाम्रो पुस्ताका । गणतान्त्रिक आन्दोलनमा सडकहरुमा धेरै ठाँउमा जम्काभेट भएका । क्यामरा बुम बोकेर हिड्दा उनीहरु नै दृश्यमा हुन्थे।
चिन्ता यो हो, सानेपाको कुर्सीमा बस्नेहरू फेरिए, तर त्यो प्रवृत्ति र सोच फेरियो कि फेरिएन ।
नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशनको उद्घाटनमा भर्चुअल माध्यमबाट सम्बोधन गर्दा नेपाली कांग्रेसका सभापति गगन थापाले जे–जे बोले, व्यवहारमा भिन्नता रह्यो।
आधा दर्जन अध्यक्षका आकांक्षी थिए। त्यसमध्ये अहिलेको संस्थापन जुनसुकै मानेमा मुनिन्द्र नेम्वाङबाहेकको विकल्प सोच्नै नसक्ने अवस्था देखियो। जुन ‘रोग’ नेपाली कांग्रेसमा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवामा थियो, आफ्नालाई टिप्ने ।
मुनिन्द्र नेम्वाङ आनन्द विष्ट समितिका महामन्त्री हुन्। उनी नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा निकट। नेम्वाङको पक्षमा विश्वप्रकाश शर्मा चट्टानी अडानमा रहेको र त्यसमा सभापति थापाको पनि समर्थन रहेको खबर होटलमा फैलिएको थियो।
प्रमुख अतिथिको रूपमा आएका कांग्रेस महामन्त्री गुरु घिमिरे एक समय रातोपिरो भएका थिए, अमृत सापकोटा र वेद खरेलको उम्मेदवारीले। यी दुईका उम्मेदवारी कायम नै रहँदा नेम्वाङलाई हम्मेहम्मे थियो।
त्यसो त केहीको उम्मेदवारी अन्य पदमा आफ्ना मान्छे मिलाएर टिम सेटका मोलतोलमा टुङ्गिएको पनि पाइयो ।
एक वर्षअगाडिदेखि नै आफूलाई अध्यक्षको अर्गानिक उम्मेदवार भएको बताउँदै आएका सीपी पौडेलका कारण सम्भवतः महामन्त्री घिमिरे र सहमहामन्त्री प्रकाश रसाइलीको दौडधुप बढाएको थियो।
हुन त सीपी पनि विष्ट कमिटीकै उपसभापति हुन्। र उनी विष्टनिकट नै थिए। संस्था १२ वर्ष बदनाम हुदाँका सक्रिय साक्षी ।
नेपाली कांग्रेस अहिले सानेपा र चुनदेवी गरी दुई ठाउँमा दोकान खोलिएको अवस्थामा छ। सीपी पौडेल शेरबहादुर देउवा खेमामा प्रस्ट खुलेका थिए। उनी विशेष महाधिवेशनको विरोधी। नेम्वाङ, सापकोटा र खरेल विशेष महाधिवेशन पक्षधर। निर्वाचन तालिका पटक–पटक सारिनुको कारण बुझ्न गाह्रो थिएन।
अघिल्लो दिन गगन थापाले नै भने पनि तालिका परिवर्तन हुदैन भनेर अडान राखेका निर्वाचन कमिटी प्रमुख भक्त थापा शनिवार खै के खै के को अवस्थामा थिए ।
जनमानसमा को लोकप्रिय छ भन्दा पनि को आफूसँग निकट छ भन्ने कुराले मान्यता राख्यो। नेपालमा नयाँ खोज्नेहरु जनसम्पर्क समिति अमेरिकामा पुरानै र बदनामी कमाएकाहरु प्रति किन आकर्षित भए ?
कति सम्म भने, एक जना यस्तो पात्र जो नेपाली कांग्रेसमा कोइरालाहरू शक्तिशाली हुँदा शेरबहादुर देउवालाई ‘तथामान’ भन्दै आर्टिकल लेख्थे, पछि उनी देउवाकै क्याम्पको भित्रिया भए। अलि अगाडि बाल्टिमोरमा एक ‘निजी भोज’ मा गगन थापा विदेशीले उचालेको भन्दै, विशेष महाधिवेशनको विरोधमा थिए । उनले विषेश महाधिवशेन आह्वानका लागि हस्ताक्षर समेत गरेनन् ।
पछि नेपालको संसदीय चुनावमा आफ्नै जिल्लामा कांग्रेस उम्मेदवार हार्दै फेसबुकमा हर्षोल्लास समेत मनाए।
तिनै व्यक्ति अहिले गगन–विश्वको टिमबाट चुनाव जिते। मलाई बिस्मात यो छ कि यो अद्भूत कला मसँग किन भएन?
काठमाडौंमा नयाँ, अमेरिकामा पुरानै?
मलाई अझ ठूलो बिस्मात यहीँ लाग्छ।
नेपाली कांग्रेसको काठमाडौं नेतृत्वले पछिल्लो समय नयाँ पुस्ता, नयाँ अनुहार र निष्कलंक नेतृत्वको खोजी गरिरहेको छ।
गगन थापा र विश्वप्रकाश शर्माले काठमाडौंमा नयाँ खोजे। पुरानो शैलीको विरोध गरे। नयाँ राजनीतिक संस्कारको कुरा गरे।
तर अमेरिकामा १२ वर्षसम्म आलोचित भएको संस्थागत संरचनाका पात्रहरूलाई नै फेरि बोकेर हिँड्न खोजिएको देखियो।
काठमाडौंमा नयाँ खोज्ने, अमेरिकामा पुरानै बोक्ने—यो कस्तो राजनीतिक मापदण्ड हो?
यदि १२ वर्षपछि पनि नयाँ नेतृत्व जन्मन सकेन भने प्रश्न उठ्छ—नयाँ नेतृत्व जन्मन नसकेको हो कि नयाँ नेतृत्व ल्याउन नचाहिएको हो?
यो प्रश्न अझ गम्भीर हुन्छ, जब नयाँ आउन खोजेका केही उम्मेदवारहरूलाई लिएर महाधिवेशनस्थलमा विभिन्न किसिमका दबाब र भावनात्मक ब्ल्याकमेलिङ भएको भान हुन्थ्यो।
‘हामी मिलेनौँ भने देउवा पक्षले लैजान्छ।’
यस्तै–यस्तै तर्क सुनिन्थे।
तर त्यो मिलान पनि संस्थाको भविष्य, नीति वा विचारका लागि होइन, केवल सभापति पदका लागि मोलतोल भइरहेको हो कि? भन्ने प्रश्न उठ्थ्यो।
यदि लोकतान्त्रिक संस्थामा नेतृत्व चयनको अन्तिम आधार नै ‘हाम्रो मान्छे कि उनीहरूको मान्छे’ हुन्छ भने नयाँ राजनीतिक संस्कारको कुरा कहाँ रह्यो?
हिजो आफूले सोधेका प्रश्नहरू आज किन सम्झन गाह्रो भइरहेको छ?
हिजो नेतृत्वले आफ्ना मान्छे टिपेको भनेर आलोचना गर्नेहरू आज आफ्ना मान्छे टिप्न थालेपछि त्यसलाई के नाम दिने?
र अन्त्यमा सबै भन्दा ठूलो बिस्मात यी सबै कुरामा प्रश्न गर्न छोड्ने क्षमता ममा किन आएन ।














