नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी
भर्जिनिया, अमेरिका / नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी भएका छन्। नेपाली जनसम्पर्क समिति नेपाली कांग्रेसको विदेश स्थित भातृ संस्था हो ।
भर्जिनियामा जारी तेस्रो महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा नेम्वाङ एक सय २८ मत अन्तर सहित सभापति पदमा विजयी भएका हुन्।
आइतबार बिहान सार्वजनिक भएको अन्तिम मतगणना परिणामअनुसार नेम्वाङले दुई सय ६६ मत प्राप्त गरे। अध्यक्ष पदमा चार जनाले प्रतिस्पर्धा गरेका थिए।
शनिबार साँझ भएको मतदानअघि अमृत सापकोटा र वेद खरेलले उम्मेदवारी फिर्ता लिँदै नेम्वाङलाई समर्थन गरेका थिए। नेम्वाङ यसअघि महामन्त्री थिए। उनी नेपाली कांग्रेसका उपसभापति विश्व शर्मा निकट मानिन्छन्।
नेम्वाङका निकटतम प्रतिद्वन्द्वी सी.पी. पौड्यालले एक सय ३८ मत प्राप्त गरे। सी.पी. पौड्याल यसअघिका उपसभापति हुन्। उनी नेपाली कांग्रेसको संस्थापनइतर पक्षधर हुन्।
निर्वाचनमा कुल चार सय ७३ मत खसेको थियो। अध्यक्ष पदका अन्य उम्मेदवारहरू सन्तोष पहारीले २८ मत र ध्रुव गौतमले १५ मत प्राप्त गरेका छन्। ढिला गरी उम्मेदवारी फिर्ता लिएका वेद पी. खरेलको नाममा ११ मत परेको थियो।
१२ वर्षपछि आयोजित महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विनोद भट्ट एक सय ४२ मतका साथ विजयी भएका छन्। यस्तै, उपसभापति पदमा सञ्जीव श्रेष्ठले २३५ मत, हरि पी. शर्माले १७८ मत, श्रीराम थापाले १८० मत र निमा बोम्जनले १४५ मत प्राप्त गर्दै विजय हासिल गरे।
त्यसैगरी, युवा उपसभापति पदमा सुशील क्षेत्री २४१ मतका साथ निर्वाचित भए।
महामन्त्री पदमा नारायण खनालले २०४ मत र गौतम दाहालले १८४ मत ल्याएर आफ्नो स्थान सुरक्षित गरे। सहमहामन्त्री पदमा अर्जुन बम १६० मत र अनिता परियार १६९ मतका साथ विजयी भए भने कोषाध्यक्ष पदमा नारायण पी. पोखरेलले १६३ मत प्राप्त गरी जित सुनिश्चित गरे।
शुक्रबारबाट सुरु भएको महाधिवेशनको शनिबार नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले औपचारिक उद्घाटन गरेका थिए। सो उद्घाटन समारोहलाई प्रविधिमार्फत जोड्दै जुमबाट नेपाली कांग्रेसका सभापति गगन थापाले समेत विशेष सम्बोधन गरेका थिए।
पुरा मत परीणाम

सदस्यमा सबै पद निर्विरोध भएको थियो ।















