नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशन सुरु, औपचारिक उद्घाटन शनिबार बिहान
भर्जिनिया, अमेरिका / नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशन भर्जिनियामा शुक्रबारदेखि सुरु भएको छ। नेपाली जनसम्पर्क समिति नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संस्था हो ।
महाधिवेशनको औपचारिक उद्घाटन भने शनिबार बिहान नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेबाट हुने कार्यक्रम छ।
जनसम्पर्क समिति अमेरिकाको महाधिवेशन १२ वर्षपछि हुन लागेको हो।
सन् २०१४ मा टेक्ससमा सम्पन्न दोस्रो महाधिवेशनले आनन्द विष्टलाई सभापतिमा निर्वाचित गरेको थियो। विधानतः जनसम्पर्क समितिको कार्यकाल तीन वर्षको हुन्छ। तर विष्टले अधिवेशन नै गरेनन्। उनी नेपालको पछिल्लो संसदीय निर्वाचनमा उम्मेदवार बनेपछि नेपाली कांग्रेसका सभापति गगन थापाले विष्ट नेतृत्वको समितिकै वरिष्ठ उपसभापति धनञ्जयसिंह केसीलाई संयोजक तोकेका थिए।
केसीले आफूले पाएको जिम्मेवारी दुई महिना नौ दिनमा पूरा गरेका हुन्।
महाधिवेशनको पहिलो दिन बन्दसत्रले विधान संशोधन गर्ने जनाइएको छ। शुक्रबार नै नयाँ कार्यसमितिको निर्वाचनका लागि मनोनयन सुरु गरिने जनाइएको छ।
जनसम्पर्क समितिमा आठ सय प्रतिनिधिमध्ये पाँच सयभन्दा बढी महाधिवेशन स्थलमा उपस्थित हुने आयोजकको अनुमान छ।














