यस वर्ष जुलाई देखि डिसेम्बर सम्म जन्मनेहरूलाई विषेश सोसल सेक्युरिटी कार्ड
बाल्टिमोर, मेरिल्याण्ड / अमेरिकी सोसल सेक्युरिटी एड्मिनिस्ट्रेशन (एसएसआइ) ले यस वर्ष जुलाई दुई तारिख देखि डिसेम्बर ३१ तारिख सम्म जन्मने व्यक्तिलाई विषेश सोसल सेक्युरिटी कार्ड प्रदान गर्ने घोषणा गरेको छ।
अमेरिकाको २५०औं स्थापना दिवसको अवसर पारेर सामाजिक सुरक्षा प्रशासनले नवजात शिशुहरूका लागि विशेष संस्मरणात्मक कार्डहरू प्रदान गर्ने घोषणा गरेको हो ।
एसएसआइद्वारा बुधवार जारी विज्ञप्ति अनुसार यो सीमित-संस्करणको कार्डको कार्यक्षमता सामान्य सामाजिक सुरक्षा कार्ड जस्तै हुनेछ, र यसमा कालो मसीले आधिकारिक ‘फ्रिडम २५०’ को लोगो अंकित हुनेछ ।
त्यो लोगोले देशको २५०औं वर्षमा ती शिशुहरूको जन्म भएको जनाउनेछ। यी संस्मरणात्मक कार्डहरू ‘इन्युमरेसन एट बर्थ’ (इएबी) कार्यक्रम अन्तर्गत जारी गरिनेछ, जहाँ अस्पताल, प्रसूति केन्द्र, वा इजाजत पत्र प्राप्त व्यक्तिहरू मार्फत जन्म दर्ता प्रक्रियाको क्रममा आमाबाबुले सामाजिक सुरक्षा नम्बरको लागि अनुरोध गर्न सक्नेछन्।
“फ्रिडम २५० अमेरिकाको गौरवशाली इतिहास र ९० वर्षभन्दा अघि सामाजिक सुरक्षाको स्थापना लगायत हाम्रो राष्ट्रलाई आकार दिने ऐतिहासिक क्षणहरूको उत्सव हो,” एसएसआइ कमिस्नर फ्र्याङ्क जे. बिसिग्नानोले भने “यस ऐतिहासिक वर्षमा जन्मिने अमेरिकाको आगामी पुस्ताले ‘फ्रिडम २५०’ को लोगो भएको सीमित-संस्करणको सामाजिक सुरक्षा कार्ड प्राप्त गर्नेछन्।”
उनले राष्ट्रपति डोनाल्ड जे. ट्रम्पको नेतृत्वमा, सामाजिक सुरक्षालाई सुदृढ गर्ने , सेवामा सुधार ल्याउने, र आज तथा भविष्यमा अमेरिकीहरूको सेवा गर्नका लागि एसएसएलाई अझ सक्षम बनाउने बताए ।
यो आधिकारिक ‘फ्रिडम २५०’ को पहिचान तोकिएको अवधिभित्र इन्युमरेसन एट बर्थ कार्यक्रम मार्फत नवजात शिशुहरूका लागि जारी गरिने मूल कार्डहरूमा मात्र उपलब्ध हुनेछ।
एसएसआइले अस्पताल र राज्यका महत्त्वपूर्ण रेकर्ड कार्यालयहरूसँगको साझेदारीमा सन् १९८७ देखि इएबी कार्यक्रम मार्फत नवजात शिशुहरूलाई सामाजिक सुरक्षा नम्बरहरू जारी गर्दै आएको छ।
अमेरिकामा हरेक वर्ष ३५ लाखभन्दा बढी बालबालिकाहरू जन्मिन्छन्। यी संस्मरणात्मक कार्डहरू परिवार वा करदाताहरूलाई कुनै पनि अतिरिक्त लागत नपर्ने गरी उत्पादन गरिनेछ।

















