पेन्सिल्भेनियामा गाडी चलाउँदा समस्या आयो ? ‘सेफ्टी सर्भिस पेट्रोल’ ले तपाईँलाई दिने छ निःशुल्क सेवा
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / तपाईँले पेन्सिल्भेनियाका सडकमा सवारी सधान चलाउँदा गाडीमा आएका कुनै समस्याले लामो समय हैरानी बेहोर्नु त भएको छैन नि ?
अब तपाईँलाई त्यस्तो अनुभव नहुन सक्छ । किनकि पेन्सिल्भेनिया डिपार्टमेन्ट अफ ट्रान्सपोट्रेशन (पेनडट) ले ‘सेफ्टी सर्भिस पेट्रोल’ अन्तर्गत विभिन्न सहरी क्षेत्रहरूमा रोडसाइड असिस्टेन्ट प्रोग्राम ल्याएको छ ।
भनेको चल्दा चल्दैको गाडीमा ग्यास सकिने, ब्याट्री डाउन भएर गाडी स्टार्ट नहुने वा अन्य कुनै समस्या भएको बेला सरकारबाट तपाईँले निःशुल्क सेवा पाउन सक्नु हुने छ ।
समस्यामा परेका चालकहरूलाई आधारभूत सहयोग गर्ने पेनडटले यस्तो कार्यक्रम ल्याएको जनाएको छ ।
पेनडटले यस वर्ष अहिलेसम्म १५ हजार भन्दा बढी चालकहरूलाई सहयोग गरिसकेको जनाएको छ । पेनडटका अनुसार यो निःशुल्क आकस्मिक सेवा हो।
के के पाइन्छ सुविधा ..
यदि तपाईँको गाडी व्यस्त सडक वा हाइवेको बीचमा चलाउँदा चलाउँदै बिग्रियो भने यो सेवाले इन्धन सकिएमा गाडीमा ग्यास थोरै हालिदिएर नजिकको पेट्रोल पम्प सम्म पुग्ने व्यवस्था गरिदिन्छ ।
यस्तै ब्याट्री डाउन भएमा जम्प-स्टार्ट गरिदिने, गाडी तातिएमा कुलिङ सिस्टम वा रेडिएटरमा समस्या आएमा हेरिदिने, टायर पन्चर भएमा फेर्न मद्दत गर्ने र दुर्घटना हुँदा ट्राफिक व्यवस्थापन गर्ने र प्रहरी वा एम्बुलेन्सलाई खबर गर्न मद्दत गर्ने गर्दछ।
चाहिएको बेलामा कसरी सम्पर्क गर्ने
पेनडटको सेफ्टी सर्भिस पेट्रोललाई आवश्यकता परेका बेला सम्पर्क गर्ने मुख्य ३ तरिकाहरू छन्:
सबै भन्दा पहिलो ९-१-१ (911) मा फोन गर्ने व्यस्त राजमार्गमा गाडी बिग्रिएर तपाईँ जोखिमपूर्ण अवस्थामा हुनुहुन्छ भने सिधै ९११ मा कल गर्नुहोस्।
९११ का अपरेटरहरूले पेनडटको कन्ट्रोल सेन्टरसँग समन्वय गरेर तपाईँको लोकेसनमा सबैभन्दा नजिक रहेको सेफ्टी सर्भिस पेट्रोलको ट्रक पठाइदिन्छन्।
दोस्रो ५११ (511) वा *११ (*11) डायल गर्ने
पेन्सिलभेनियाका राजमार्गहरूमा सामान्य गाडीको समस्या (इन्धन सकिएमा, टायर पन्चर भएमा) परेमा आफ्नो मोबाइलबाट नि:शुल्क ५११ (पेन्सिलभेनिया ट्राफिक हेल्पलाइन) डायल गर्न सक्नुहुन्छ।
यदि तपाईँ ‘पेन्सिलभेनिया टर्नपाइक’ मा हुनुहुन्छ भने सिधै *11 डायल गरी २४/७ सञ्चालित ट्राफिक अपरेसन सेन्टरमा मद्दत माग्न सक्नुहुन्छ।
कहिले काँही यस्ता ट्रकहरू आफैले पनि गस्ती गरिरहेका हुन्छन् । यदि उनीहरूले तपाईँको गाडी सडकको छेउमा रोकिइराखेको देखे भने, तपाईँले कल नगरे पनि उनीहरू आफैँ रोकिएर सहयोग गर्छन्।
सडकमा गाडी बिग्रँदा ध्यान दिनै पर्ने कुराहरू
सबै भन्दा पहिला गाडीलाई गुडिरहेको लेनबाट सडकको सबैभन्दा छेउको सुरक्षित किनारमा लैजानुहोस्। गाडीलाई सकभर दायाँ लेनको किनारमा रोक्नु होस ।
गाडीको हजार्ड (इमर्जेन्सी) लाइट बाल्नु होस् । फोन गर्नुअघि सडकको छेउमा रहेका हरियो रङका माइल मार्कर वा नजिकैको एक्जिट नम्बर हेरेर आफू कहाँ छु भन्ने जानकारी दिनु होस ।
र सबै भन्दा महत्त्वपूर्ण कुरा सडकमा तीव्र गतिको ट्राफिक हुने भएकोले हतारमा गाडी बाहिर ननिस्कनुहोस्, सिट बेल्ट बाँधेर गाडीभित्रै सुरक्षित बस्नुहोस्।
तस्बिर पेनडट

















