ह्यारिसबर्गमा आइस एजेन्टद्वारा गाडीमाथि गोली प्रहार घटना एफबीआइले थाल्यो अनुसन्धान
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्गमा बुधबार बिहान इमिग्रेसन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) का एजेन्टले गोली चलाएको घटनाको संघीय अनुसन्धान ब्युरो (एफबीआइ) ले अनुसन्धान शुरु गरेको जनाएको छ ।
डब्ल्यु.जी.ए.एल. न्युज एट, पेन लाइभ लगायतको समाचारमा जनाइए अनुसार एक शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा एजेन्टले गोली चलाएका थिए ।
अहिले एफबीआइले यस घटनाको मुख्य नेतृत्व लिएर अनुसन्धान सुरु गरेको छ।
स्थानीय अधिकारी र अनुसन्धान स्रोतहरूका अनुसार, यो घटना बुधबार बिहान करिब ६ देखि ७ बजेको बीचमा ह्यारिसबर्गको एलिसन हिल क्षेत्रमा पर्ने साउथ सभेन्टिन स्ट्रिट र बेरीहिल स्ट्रिटको चौबाटो नजिक गोली प्रहार भएको हो ।
स्थानीय सञ्चार माध्यममा जनाइएको अनुसार आइस एजेन्टहरू एक व्यक्तिलाई पक्राउ गर्न पुगेका बेला ती शङ्कास्पद व्यक्ति गाडी कुदाएर भाग्न खोजेका थिए। त्यस क्रममा आफूमाथि “बल प्रयोग भएको महसुस” गरेपछि ती एजेन्टले भाग्दै गरेको गाडीलाई लक्षित गरी गोली चलाएको स्रोतले जनाएको छ।
गोली लागेर कोही घाइते भए वा भएनन् भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन, तर शङ्कास्पद व्यक्ति घटनास्थलबाट गाडीसहित फरार हुन सफल भएका छन्।
घटना लगत्तै स्थानीय ह्यारिसबर्ग प्रहरी र डाउपीन काउन्टी जिल्ला सरकारी वकिलको कार्यालयका अनुसन्धान अधिकारी घटनास्थल पुगेर सुरक्षा घेरा हालेका थिए।
अनुसन्धानकर्ताहरूले करिब तीन घण्टासम्म उक्त चौबाटो पूर्ण रूपमा बन्द गरेर प्रमाणहरू संकलन गरेका थिए। सडकको बीचमा गाडीको सिसाका टुक्राहरू छरिएका देखिएका थिए भने सुरक्षा अधिकारीहरूले सडकमा खसेका अन्य भौतिक प्रमाणहरूको तस्बिर खिचिरहेका थिए। फुटपाथमा पार्क गरिएको एउटा सेतो लिङ्कन कारलाई पनि सुरुमा आशंका गरिए पनि पछि अनुसन्धान टोलीले उक्त कार घटनामा संलग्न नरहेको पुष्टि गर्दै त्यत्तिकै छोडिदिएको थियो।

















