पाणिनि तपोभूमि राष्ट्र सेवा पुरस्कारबाट सम्मानित
काठमाडौं / रण अम्विका शाह सेवा गुठीले जेष्ठ १७, २०८३ मा आयोजित एक भव्य कार्यक्रममा पाणिनि तपोभूमि व्यवस्थापन, संरक्षण तथा संवर्द्धन समिति, अर्घाखाँचीलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ‘राष्ट्र सेवा पुरस्कार’ प्रदान गरेको छ।
गुठीका अध्यक्ष डा. चिन्तामणि नाथ योगीको अध्यक्षता तथा पूर्व महामहिम राजदूत प्रा. डा. जयराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ अधिवक्ता एवं गुठीका कानुनी सल्लाहकार पोषणराज लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए।
राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा गुठीका सचिव किरण थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए। त्यसपछि कार्यक्रम सञ्चालक पोषणराज लामिछानेले सम्मानपत्र वाचन गरेपछि गुठीका अध्यक्ष डा. चिन्तामणि नाथ योगी तथा प्रमुख अतिथि जयराज आचार्यले संयुक्त रूपमा नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहितको सम्मानपत्र समितिका अध्यक्ष पुष्करराज पोखरेल र अन्तर्राष्ट्रिय संयोजक नेत्रबन्धु पोखरेललाई हस्तान्तरण गरेका थिए।
कार्यक्रममा समितिका सचिव हरि प्रसाद पोखरेल, काठमाडौंमा आयोजित पाणिनि तपोभूमि भेलाका आयोजक समिति सदस्य टेकवीरजंग रायमाझी, रामप्रसाद भट्टराई, धनञ्जय पौडेल, शोभाखर पोखरेल, यदुनाथ पोखरेल, इन्द्र पछाईं, सुरज पोखरेल, झविन्द्र बेल्वासे तथा पत्रकार डीआर घिमिरे र सुवासचन्द्र पोखरेललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वर्गीय काशीनाथ जोशीलाई मरणोपरान्त प्रदान गरिएको सम्मानपत्र तथा पुरस्कार रकम उनकी धर्मपत्नीलाई हस्तान्तरण गरिएको थियो।
पुरस्कृत संस्थाको तर्फबाट मन्तव्य राख्दै पाणिनि तपोभूमि व्यवस्थापन, संरक्षण तथा संवर्द्धन समितिका अन्तर्राष्ट्रिय संयोजक नेत्रबन्धु पोखरेलले स्वर्गीय कृष्णानन्द परमहंसको योगदान स्मरण गर्दै पाणिनीय ज्ञान र पाणिनि तपोभूमिको महत्व विश्व समुदायसम्म पुर्याउन भइरहेका प्रयासबारे जानकारी गराएका थिए। उनले अमेरिका र युरोपमा समिति गठन भइसकेको उल्लेख गर्दै अन्य देश तथा नेपालका प्रमुख शहरहरूमा पनि कार्यक्रममार्फत समिति विस्तार गरिने बताए।
रण अम्विका शाह सेवा गुठीप्रति आभार व्यक्त गर्दै पोखरेलले उक्त सम्मानले थप प्रेरणा मिलेको धारणा राखेका थिए।
कार्यक्रममा जोन्ता क्लबमार्फत महेन्द्र भवन माध्यमिक विद्यालय सानो गौचरन काठमाडौं, महेन्द्र माध्यमिक विद्यालय धर्ना दाङ, सरस्वती माध्यमिक विद्यालय घोराही दाङ, नेपाल चिकित्सा मनोविद संघ चण्डोल काठमाडौं, प्राकृतिक स्वास्थ्य संस्था भीमसेनगोला काठमाडौं, CDIRD TU, श्री शिव गोरक्ष योगी नरहरिनाथ सांग कोटिहोम महायज्ञ, पिस फर दलित फाउन्डेशन नेपाल पर्सा, मातृभूमि सेवक संघ नेपाल, नैमिषारण्य गुरुकुल बनेपा काभ्रे तथा प्रेरणाकालागि अभियान नेपाललाई पनि पुरस्कृत गरिएको थियो।
प्रमुख अतिथि प्रा. डा. जयराज आचार्यले आफू पाणिनिको व्याकरणको विद्यार्थी भएको उल्लेख गर्दै त्यसैको प्रेरणाले अमेरिकामा भाषा विज्ञानमा विद्यावारिधि गरेको अनुभव सुनाएका थिए। उनले पाणिनिको व्याकरण तथा पाणिनि तपोभूमिको ऐतिहासिक र शैक्षिक महत्वबारे प्रकाश पारेका थिए।
कार्यक्रममा गुठी सञ्चालक समिति सदस्य मिता शाह राणाले धन्यवाद ज्ञापन गरेकी थिइन्। समापन मन्तव्यका क्रममा गुठीका अध्यक्ष डा. चिन्तामणि नाथ योगीले पाणिनि तपोभूमिलाई महत्वपूर्ण विद्यातीर्थका रूपमा वर्णन गर्दै यसको संरक्षण र संवर्द्धनमा सबैले चासो र योगदान दिनुपर्ने आवश्यकता औंल्याएका थिए।

















