नेपाल सहित विश्वभरका एक सय २५ बढी साहित्य स्रष्टा रक्की माउन्टेनको काखमा
डेनभर, कोलोराडो / नेपाल सहित विश्वभरका एक सय २५ बढी साहित्य स्रष्टा अमेरिकाको कोलोराडोमा भेला हुने भएका छन्।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा मे तेस्रो साता हुन गइरहेको नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका लागि उनीहरू रक्की माउन्टेनको काखमा भेला हुन लागेका हुन्।
सम्मेलनको बारेमा जानकारी दिन शनिवार आयोजित पत्रकार सम्मेलनमा अनेसासको बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्माले
नेपाल सहित विश्वका विभिन्न मुलुकबाट एक सय २५ जना साहित्यकार, लेखक तथा पत्रकारहरूको सहभागिता रहने बताए ।
‘त्यसबाहेक कोलोराडो राज्यका ५० भन्दा बढी स्रष्टा र साहित्य प्रेमीको उपस्थिति रहने छ ।’ विश्वकर्माले भने ।
उनका अनुसार सम्मेलनमा मदन पुरस्कार विजेता डा. नवराज लम्साल, निलम कार्की निहारिका, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, ख्यातिप्राप्त अंग्रेजी साहित्यकार डा. ज्याकलिन केरबेक सहभागि हुने छन्।
यस्तै रेड ओ लाफ्लिन, होमनाथ सुवेदी, राधेश्याम लेकाली, गोवर्द्धन पूजा, पुरु सुवेदी, मोहन सिटौला, भुटानी साहित्य परिषद्का अध्यक्ष खेम रिजाल ऊर्जा पनि सम्मेलनमा सहभागि हुने छन्।
कान्तिपुर दैनिकका पूर्व सम्पादक तथा लेखक सुधीर शर्मा सहितका पत्रकारहरू वविता बस्नेत, वसन्त बस्नेत, विपुल पोखरेल, नारायण श्रेष्ठ, प्रेम बानियाँ लगायतले पनि कोलोराडोको पर्याय रिक्की माउन्टेनको काखमा बसेर नेपाली साहित्यमा कसी लगाउने छन्।
चारिदिने सम्मेलनको अन्तिम दिन सहयोगी व्यक्ति तथा संघ संस्थाहरूलाई सम्मान गरिने कार्यक्रम छ ।
अनेसासका महासचिव राजु सिटौलाले सम्मेलनका लागि कोलाराडोको वेष्टमिनिष्टरस्थित होटलमा ५० भन्दा बढी कोठा बुक गरिएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा जनाइए अनुसार २२ मेमा अतिथिहरूको स्वागतमा रात्रि भोज आयोजना गरिने छ । महासचिव सिटौलाका अनुसार सम्मेलनको औपचारिक उद्घाटन २३ मेमा गरिने बताए ।
‘२३ र २४ मे मा विभिन्न सत्रहरूमा ख्यातिप्राप्त साहित्यकार तथा लेखकहरूका बीचमा साहित्यका विभिन्न विधामा बहस गरिने छ।’ सिटौलाले भने, ‘सम्मेलनका दुई दिन बिहान योगा र साँझ काव्य उत्सव आयोजना गरिने छ ।’
सम्मेलनको पहिलो दिन ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’ शीर्षकमा मदन पुरस्कार विजेता निलम कार्की निहारिका, पत्रकार तथा लेखक द्वय सुधीर शर्मा र वसन्त बस्नेतका बीचमा हुने बहसको सहजीकरण पत्रकार नारायण श्रेष्ठले गर्ने छन्।
चौथो तथा अन्तिम दिन अतिथिहरूलाई कोलाराडोको ऐतिहासिक तथा पर्यटकीय गन्तव्यहरूको भ्रमण गराउने कार्यक्रम रहेको बताए ।
अनेसासकी केन्द्रीय कोषाध्यक्ष तारा अधिकारीले सम्मेलनमा ५३ हजार डलर खर्च हुने अनुमान गरिएकोमा ३५ हजार डलर संकलन भइसकेको र बाँकी रकम पनि चाँडै संकलन हुने बताइन् ।
सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न स्वस्फूर्त ढंगले मनकारी व्यक्ति तथा विभिन्न सङ्घसंस्थाबाट सहयोग प्राप्त भइरहेको अधिकारीले जानकारी दिइन् ।
उनले सहयोग गर्ने सम्पूर्ण दाता तथा संघसंस्थाहरुलाई धन्यवाद दिइन् ।
अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष तथा सम्मेलनका संयोजक किरण अधिकारीले सम्मेलनलाई भव्यरुपमा सम्पन्न गर्न कोलोराडोका विभिन्न संघसंस्था र व्यक्तिहरूबाट उत्साहजनक रुपमा सहयोग प्राप्त भएको बताए ।
सम्मेलन संयोजक अधिकारीले अतिथिहरूका लागि आवास, भोजन र भ्रमणको उचित प्रबन्ध मिलाइएको बताए ।
उनले विश्वका विभिन्न मुलुकबाट आउने अतिथिहरूलाई कलरफुल कोलोराडोमा स्वागत गर्न आतुर रहेको सुनाए ।
सम्मेलनमा फुड पार्टनरका रुपमा जोडिएका कोलोराडोस्थित नेपाली रेष्टुरेष्टहरुले अतिथिहरूलाई स्वादिष्ट नेपाली परिकारको प्रबन्ध गर्ने अधिकारीले जानकारी दिए ।
सांस्कृतिक समितिका संयोजक विजयदेव अधिकारीले सम्मेलनमा विभिन्न जातजाति र समुदायका झाँकी तथा सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिने बताए ।



















