ट्रम्प प्रशासनको दाबी: सीमामा ‘क्याच एण्ड रिलिज’ पूर्ण रूपमा बन्द,तीन दशकयताकै न्यून, एक वर्षमा शून्य रिहाइ
वासिङ्टन डीसी / अमेरिकी अधिकारीले सीमा सुरक्षामा तीन दशकयताकै उल्लेख्य सुधार भएको दावी गरेका छन्।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरीटी ( डीएचएस ) र यु.एस. कस्टम्स एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी) ले विगत १२ महिनादेखि अमेरिकी बोर्डर पेट्रोलले सीमाबाट कुनै पनि अवैध आप्रवासीलाई रिहा नगरेको दाबी गरेका छन्।
डीएचएसद्वारा जारी विज्ञप्तीमा सीमा सुरक्षाको क्षेत्रमा ऐतिहासिक सफलता र सीमा पार गर्नेहरूको संख्यामा ठूलो गिरावट आएको भनिएको छ ।
होमल्याण्ड सेक्युरीटी सेक्रेटरी मार्कवेन मुलिनले राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा नीतिका कारण अमेरिकी इतिहासकै सबैभन्दा सुरक्षित सीमा कायम भएको दाबी गरे।
उनले भने, “सीमामा समात्ने र छोड्ने (क्याच एण्ड रिलिज) पुराना दिनहरू अब समाप्त भएका छन्। हामी देशको कानुन पूर्ण रूपमा लागू गर्दै अवैध रूपमा प्रवेश गर्नेहरूलाई उनीहरूकै देश फिर्ता पठाइरहेका छौं।”
विज्ञप्तीका अनुसार हाल दक्षिण-पश्चिम सीमामा अवैध रूपमा प्रवेश गर्ने र पक्राउ पर्नेहरूको संख्या विगत तीन दशकयताकै न्यून स्तरमा झरेको छ।
दैनिक पक्राउ दर अघिल्लो बाइडन प्रशासनको तुलनामा ९५ प्रतिशतले घटेको र लगातार १५ महिनादेखि मासिक पक्राउ संख्या नौ हजार भन्दा कम रहेको विज्ञप्तीमा उल्लेख छ ।
सीवीपी कमिश्नर रोडनी एस स्कटले अप्रिल २०२४ मा बाइडन प्रशासनको पालामा ६८ हजार भन्दा बढी अवैध आप्रवासीलाई रिहा गरिएको स्मरण गर्दै अहिले सो संख्या शून्यमा झरेको बताए।
‘हाल अप्रिल महिनामा दक्षिण-पश्चिम सीमामा दैनिक औसत दुई सय ९८ जना मात्र पक्राउ परेका छन्, जुन बाइडन प्रशासनको उच्च बिन्दु (डिसेम्बर २०२३) को एक घण्टाको पक्राउ दरभन्दा पनि कम हो। यस आर्थिक वर्षको हालसम्मको कुल मुठभेड संख्या २ लाख १५ हजार ८ सय ७६ मात्र रहेको छ, जुन अप्रिल २०२४ को एक महिनाको संख्याभन्दा १३ प्रतिशतले कम हो।’ विज्ञप्तीमा भनिएको छ।
यस्तै सीमामा कडा निगरानीका कारण अवैध लागूऔषधको ओसारपसारमा ठूलो धक्का लागेको विज्ञप्तीमा दाबी गरिएको छ।
अप्रिल महिनामा मात्रै देशभर कोकिन, मेथाम्फेटामाइन, हेरोइन, फेन्टानिल र गाँजाको कुल बरामदगी सन् २०२४ को अप्रिलको तुलनामा ६० प्रतिशतले बढेको छ।
यस महिना चार ६३ पाउन्ड फेन्टानिल बरामद हुनुका साथै हेरोइन र मेथाम्फेटामाइनको बरामदगीमा पनि अघिल्लो महिनाको तुलनामा ६० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
सीबीपीले आर्थिक सुरक्षा र आपूर्ति शृङ्खला संरक्षणमा पनि महत्त्वपूर्ण कार्य गरिरहेको जनाएको छ। अप्रिल २०२६ मा ३१२ अर्ब डलर बराबरको आयात प्रक्रिया अघि बढाइएको र २१.६ अर्ब डलर भन्सार महसुल सङ्कलनका लागि पहिचान गरिएको छ।
यस्तै, जबरजस्ती श्रमको आशङ्कामा आठ सय १० मिलियन डलरभन्दा बढी मूल्यका दुई सय ६३ ढुवानीहरू रोकिएका छन् भने १.५ अर्ब डलर बराबरको नक्कली सामान बरामद गरिएको छ। कृषि सुरक्षातर्फ, प्रतिबन्धित वनस्पति तथा जीवजन्तुका उत्पादनहरू भित्र्याउन खोज्ने यात्रुहरूमाथि कारबाही गर्दै ६ सय ९० वटा नागरिक जरिवाना जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।



















