चौथो एभरेष्ट नेश्नल ओपन : जुन ली तेक्वान्दो भर्जिनिया र हिङमाङ पेन्सिल्भेनिया च्याम्पियन
बाल्टिमोर, मेरिल्याण्ड / अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा सम्पन्न चौथो एभरेष्ट नेश्नल ओपन तेक्वान्दो च्याम्पियनसिपमा भर्जिनियाको जुन ली तेक्वान्दो र पेन्सिल्भेनियाको हिङमाङ तेक्वान्दो आ-आफ्नो विधामा च्याम्पियन बनेका छन्।
एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो बाल्टिमोरको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा जुन लीले वर्ल्ड क्लास डिभिजन र हिङमाङले ओपन डिभिजनतर्फ उपाधि हात पारेका हुन्।
एक दिने च्याम्पियनसिपमा ईस्ट कोस्टका नौ राज्यका २१ वटा स्कुलबाट चार सय ५० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

च्याम्पियनसिपमा वर्ल्ड क्लास डिभिजनमा साउथ रिभर मार्सल आर्ट, मेरिल्याण्ड दोस्रो भयो । ओपन डिभिजनमा युएस तेक्वान्दो एकेडेमी, मेरिल्याण्ड दोस्रो भयो ।
च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेबापत पेन्सिल्भेनियाको ह्यारिसबर्गस्थित युनाइटेड एभरेष्ट तेक्वान्दो एकेडेमीलाई ‘उत्कृष्ट डोजाङ अवार्ड’ प्रदान गरियो।

नौ पटकका च्याम्पियन एरिक गनको डेमो र छात्रवृत्ति:
च्याम्पियनसिपमा ४ पटकका विश्व च्याम्पियन, ९ पटकका युएस नेशनल च्याम्पियन तथा प्यान अमेरिका च्याम्पियन एरिक गन रहेका थिए। उनले कार्यक्रममा आफ्नो विरलै देख्न पाइने उत्कृष्ट तेक्वान्दो डेमो (प्रदर्शनी) प्रस्तुत गरेर दर्शक तथा खेलाडीहरूलाई मन्त्रमुग्ध पारेका थिए।
उनलाई एभरेष्ट केयर फाउन्डेसनको तर्फबाट विशेष छात्रवृत्ति सहित ‘वर्ल्ड च्याम्पियन एरिक गन अवार्ड’ द्वारा सम्मान समेत गरिएको थियो।
च्याम्पियनसिपका डाइरेक्टर तथा एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो बाल्टिमोरका संचालक तथा मुख्य प्रशिक्षक मास्टर कुमार कार्की र उनीकी धर्मपत्नी मास्टर कल्पना कार्कीले एरिकलाई अवार्ड हस्तान्तरण गरेका थिए ।

प्रतियोगितालाई निष्पक्ष र अन्तर्राष्ट्रिय स्तरको बनाउन विभिन्न राज्यबाट आमन्त्रित १४ जना अन्तर्राष्ट्रिय रेफ्री र २३ जना राष्ट्रिय प्रमाणित रेफरीहरूले खेल सञ्चालन गरेका थिए।
च्याम्पियनसिपको उद्घाटन समारोहमा अमेरिका स्थित नेपाली दूतावासका तृतीय सचिव राज कुमार बस्नेत, मेरिल्याण्ड राज्य सभाका डेलिगेट डा. ह्यारि भण्डारी, बानाका निवर्तमान अध्यक्ष सुबोध विलास पन्त, पर्वत समाजका अध्यक्ष रविन शर्मा लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा व्याल्कबेल्ट डान प्राप्त खेलाडीहरूले नेपाली परम्परागत पहिरनमा नेपाली गीतमा नृत्य प्रस्तुत गरेका थिए।




















