ह्यारिसबर्गमा ग्लोबल तेक्वान्दो एकेडेमीको दोस्रो ब्ल्याक बेल्ट दीक्षान्त, १६ खेलाडी दीक्षित
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा रहेको ग्लोबल तेक्वान्दो एकेडेमीले शनिवार दोस्रो ब्याचको ब्ल्याक बेल्ट दीक्षान्त समारोह सम्पन्न गरेको छ। कार्यक्रममा १६ जना खेलाडीले विभिन्न डानका ब्ल्याक बेल्ट प्राप्त गरेका छन्।
दीक्षान्त समारोहमा १२ जनाले फस्ट डान (पहिलो डान) ब्ल्याक बेल्ट प्राप्त गरेका छन् भने एक जनाले तेस्रो डान, दुई जनाले दोस्रो डान र एक जनाले दोस्रो डान प्रिलिमिनरी प्राप्त गरेका छन्।
यस पटक ब्ल्याक बेल्ट प्राप्त गर्ने खेलाडीहरूमा नयन ढुङ्गना (तेस्रो डान), अर्पण कोइराला (दोस्रो डान), सिजेल कडरिया (दोस्रो डान), सन्जना कडरिया (दोस्रो डान प्रिलिमिनरी) रहेका छन्।
यस्तै लु छिन, रेजन राई, सोहन अधिकारी, उज्ज्वल भण्डारी, बिबस चापागाईं, श्रिष्टि मिश्र, आर्या अधिकारी, दिशान्त दाहाल, सफल चापागाईं, एरियाना भट्टराई, सिम्रोन मिश्र र डिप्सन दाहाल ले फस्ट डान ब्ल्याक बेल्ट प्राप्त गरेका छन्।
ग्लोबल तेक्वान्दो एकेडेमी सन् २०२१ मा स्थापना भएको हो। एकेडेमीका सञ्चालक तथा मुख्य प्रशिक्षक प्रकाश ढुङ्गना हुन्। यसअघि सन् २०२३ मा पहिलो ब्याचको ब्ल्याक बेल्ट दीक्षान्त सम्पन्न भएको थियो, जसमा चार जना खेलाडीले ब्ल्याक बेल्ट प्राप्त गरेका थिए।
शनिवार आयोजित दीक्षान्त समारोहमा सिनियर मास्टर कुमार कार्कीको नेतृत्वमा सिनियर मास्टर मोसा टोरे, सिनियर मास्टर कल्पना कार्की, मास्टर गोपाल भण्डारी, मास्टर सन्जिब नेपाली, मास्टर विनिता पुरी राई र मास्टर सागर गुमाजुले खेलाडीहरूको परीक्षा लिँदै प्रमाणपत्र वितरण गरेका थिए।
दीक्षान्त समारोहका क्रममा खेलाडीहरूले फिजिकल परीक्षा दिएका थिए भने तेक्वान्दो यात्राबारे आफ्नो अनुभव र मन्तव्य पनि प्रस्तुत गरेका थिए।
कार्यक्रममा ब्ल्याक बेल्ट प्राप्त गरेका खेलाडीहरूले आ–आफ्नो मन्तव्य राख्दै ग्लोबल तेक्वान्दो एकेडेमीका मुख्य प्रशिक्षक प्रकाश ढुङ्गनालाई सम्मानस्वरूप उपहार प्रदान गरेका थिए।
कार्यक्रममा उपस्थित अभिभावकहरूले तेक्वान्दो प्रशिक्षणका कारण आफ्ना छोराछोरी अझ अनुशासित र आत्मविश्वासी बनेको भन्दै खुसी व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै सिनियर मास्टर कुमार कार्कीले ब्ल्याक बेल्ट प्राप्त गर्नु अन्तिम लक्ष्य नभई तेक्वान्दोको वास्तविक यात्रा सुरु हुने बिन्दु भएको उल्लेख गर्दै खेलाडीहरूलाई निरन्तर अभ्यास र समर्पणका साथ अघि बढ्न सुझाव दिएका थिए।















