पेन्सिल्भेनिया ह्यारिसबर्गमा अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ तारिख मनाइँदै
ह्यारिसबर्ग पेन्सिल्भेनिया / समुदाय, सिर्जनशीलता र युवा नेतृत्वको एकीकृत यात्रा भन्ने नारा सहित अमेरिकाको पेन्सिल्भेनिया राज्यको ह्यरिसबर्गमा मार्च ८ तारिख आइतबार अन्तर्राष्ट्रिय महिला दिवसको विशेष कार्यक्रम आयोजना हुने भएको छ।
बिहान ११ देखि दिउँसो २ बजे सम्म (599 Eisenhower Blvd, Harrisburg, PA 17111) मा हुने कार्यक्रम वाइ फोर सी ( युथ फर कल्चर, चेन्ज एण्ड कम्युनिटी ) द्वारा सञ्चालन हुने छ। जहाँ युवतीहरूले आफैँ अग्रसर भई नेतृत्व गरिरहेका छन्।
यस वर्ष वाइ फोर सीका युवतीहरूले अन्तर्राष्ट्रिय महिला दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई, उत्सव, सहभागिता र सशक्तीकरणको खुला मञ्चका रूपमा मनाउने योजना बनाएका छन्।
कार्यक्रम आमाहरू, दिदीबहिनीहरू, बालबालिका र सम्पूर्ण महिला समुदायका लागि डिजाइन गरिएको आयोजकको भनाइ छ।
‘यहाँ हरेक सहभागीका विचार, अनुभव र आवाजलाई सम्मानका साथ स्वागत गरिने र सबैले आफूलाई व्यक्त गर्न, सिक्न र अगाडि बढ्न सक्ने वातावरण तयार गरिएको छ।’ कार्यक्रम सम्बन्धी आयोजकको सूचनामा भनिएको छ।
कार्यक्रममा महिला सशक्तीकरण र सुरक्षासम्बन्धी विविध विषयमा प्रमुख वक्ताहरूले आफ्ना अनुभव र विचारहरू साझा गर्नेछन्। उनीहरूको प्रस्तुतिले सहभागीहरूलाई प्रेरणा, जानकारी र आत्मविश्वास प्रदान गर्ने अपेक्षा गरिएको छ।
यस कार्यक्रमका विशेष आकर्षणहरूमा ‘आर्ट वल’ रहनेछ, जहाँ सहभागीहरूले आफ्ना भावना र सिर्जनशीलता खुला रूपमा व्यक्त गर्न सक्नेछन्।
महिला शक्ति र अभिव्यक्तिलाई सम्मान गर्ने नृत्य प्रस्तुतिहरू पनि कार्यक्रमको मुख्य आकर्षण रहनेछन्। साथै, मेहन्दी र नेल स्टेशन जस्ता गतिविधिहरूले कार्यक्रमलाई अझ जीवन्त, रमाइलो र सहभागीमुखी बनाउने अपेक्षा गरिएको छ।
वाइ फोर सी युवा नेतृत्वमा आधारित एक पहल हो, जसको उद्देश्य युवाहरूलाई नेतृत्व सिक्ने, समुदायसँग जोडिने र सकारात्मक परिवर्तनको अगुवाइ गर्ने अवसर प्रदान गर्नु हो।
वाइ फोर सीले युवाहरूलाई आफ्ना विचारलाई कार्यमा परिणत गर्न प्रेरित गर्छ। यो पहल क्रियमाण फाउन्डेसनको सहयोगमा सञ्चालन भए पनि यसको केन्द्रमा युवाहरूको नेतृत्व, सिर्जनशीलता र समुदायप्रतिको प्रतिबद्धता रहेको छ।
कार्यक्रमको योजना, समन्वय र सञ्चालनमा वाइ फोर सी मा आबद्ध युवा महिलाहरूको प्रमुख भूमिका रहनेछ। उनीहरूले कार्यक्रमलाई केवल आयोजना मात्र नभई, समुदायसँग सशक्त रूपमा जोडिने अवसरका रूपमा तयार पारेका छन्।
‘कार्यक्रमको मुख्य उद्देश्य समुदायका आमाहरू, दिदीबहिनीहरू र बालबालिकालाई सम्मान, हौसला र सशक्तीकरणको अनुभूति गराउनु हो, बालबालिकाले गीत, नृत्य, कविता, चित्रकला वा अन्य सिर्जनात्मक प्रस्तुति मार्फत आफ्ना प्रतिभा देखाउन पाउनेछन्, जसले उनीहरूलाई सार्वजनिक रूपमा बोल्ने र आत्मविश्वास विकास गर्ने अवसर प्रदान गर्नेछ।’ सूचनामा भनिएको छ।
क्रियमाण फाउन्डेसनका युवा शिक्षा तथा शैक्षिक विकास निर्देशक तथा चिकित्सक डा. तोताद्री धिमालका अनुसार बच्चाहरूका लागि कार्यक्रममा सक्रिय रूपमा सहभागी हुनु मात्रै होइन, सकारात्मक वातावरणमा बस्न, हेर्न र अनुभव गर्न पाउनु पनि धेरै महत्त्वपूर्ण हुन्छ।
‘बच्चाहरू केवल उपस्थित भएर, आफ्नो गतिमा साथीहरूसँग घुलमिल भएर र वरपरको कुरा ध्यान दिएर हेर्दा पनि उनीहरूको मानसिक र सामाजिक विकासमा राम्रो असर पर्छ।’ डा धिमाल भन्छिन्, ‘सुरक्षित र साथ दिने समुदायभित्र भइरहेको यस्तो साधारण घुलमिलले उनीहरूको आत्मविश्वास, अरूसँग बोल्ने सीप र आफूलाई सम्मान गर्ने बानीको बलियो आधार तयार गर्छ, जसको प्रभाव पछि गएर उनीहरूको निर्णय लिने क्षमता र जीवन हेर्ने तरिकामा देखिन्छ।’
वाइ फोर सीको मूल मन्त्र “जहाँ विचारहरू कार्यमा परिणत हुन्छन्, त्यहाँ युवाहरूले नेतृत्व गर्छन्” हो। यही भावनासहित युवाहरूले सबैलाई समेट्ने, सिक्ने र सँगै अघि बढ्ने वातावरण निर्माण गरिरहेका छन्, जहाँ हरेक सहभागीको उपस्थिति र योगदान महत्त्वपूर्ण मानिन्छ।
वाइ फोर सीले आगामी दिनहरूमा नेतृत्व विकास कार्यशाला, सामुदायिक सेवा कार्यक्रम, सांस्कृतिक गतिविधि र मार्गदर्शन कार्यक्रमहरू सञ्चालन गर्ने योजना पनि बनाएको छ।
वाइ फोर सी परिवारले सम्पूर्ण समुदायका महिला दिदीबहिनीहरू, आमाहरू र बालबालिकालाई यस विशेष कार्यक्रममा सहभागी भई युवा नेतृत्वलाई साथ दिन हार्दिक निमन्त्रणा गरेको छ।
















