महर्षि पाणिनिको जन्मदिवसमा अमेरिकाबाट भर्चुअल श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ फाल्गुण पूर्णिमा २०८२ को अवसर पारेर महर्षि पाणिनिको जन्मदिवसका उपलक्ष्यमा पाणिनि तपोभूमि व्यवस्थापन, संरक्षण तथा सम्बर्द्धन समिति अमेरिका द्वारा आयोजित भर्चुअल कार्यक्रम भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल, भारत, अमेरिका लगायत विश्वभर रहेका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि श्री श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज (प्रमुख संरक्षक, पाणिनि तपोभूमि तथा पीठाधीश, हरिहर आश्रम) रहनुभएको थियो। विशेष अतिथिका रूपमा पाणिनि गाउँपालिकाका प्रमुख टेकराज न्यौपानेज्यू तथा अतिथिका रूपमा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक नवराज पाण्डेयको उपस्थिति रहेको थियो।
संस्थाका अध्यक्ष पीपलमणि सिग्देलको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. लेखनाथ अधिकारीले सञ्चालन गरेका थिए। यस्तै स्वागत मन्तव्य नेत्र बन्धु पोख्रेलज्यूले व्यक्त गरेका थिए। कार्यक्रमको अन्त्यमा आचार्य चुडामणि पाठकज्यूले धन्यवाद ज्ञापन दिएका थिए।
प्रमुख अतिथि स्वामी ज्ञानानन्द सरस्वती महाराजले महर्षि पाणिनिको जीवनी, उनका अर्घाखाँचीसम्म आइपुग्दाको ऐतिहासिक प्रसंग, तपस्याबाट शिवकृपाले प्राप्त १४ सूत्र तथा अष्टाध्यायीको रचना सम्बन्धी प्रेरणादायी चर्चा गरिएको थियो ।
उनले संस्कृत व्याकरण र भाषा विज्ञानमा पाणिनिले पुर्याएको अतुलनीय योगदानको उच्च प्रशंसा गर्दै पाणिनि तपोभूमिको संरक्षण र प्रवर्द्धनमा सबैको साझा पहल आवश्यक रहेको धारणा व्यक्त गरे।
विशेष अतिथि टेकराज न्यौपानेले पाणिनि तपोभूमिको संरक्षण, विकास तथा हालै तयार गरिएको गुरुयोजनाबारे जानकारी दिए । प्राध्यापक नवराज पाण्डेयले तपोभूमिको अवस्थिति तथा वरपर रहेका धार्मिक–पौराणिक महत्वका स्थलहरूको चर्चा गर्दै यसको ऐतिहासिक गरिमा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा रामहरि गौतम, राम प्रसाद पोख्रेल तथा कृष्ण बंजाडेले समेत आ–आफ्ना अनुभव र अध्ययन प्रस्तुत गरेका थिए। साथै प्रा. पिताम्बर दहाल, फणिन्द्र काफ्ले, व्यासाचार्य भुवन, कृष्ण पोख्रेल लगायत नेपाल, भारत, अमेरिका तथा विश्वभरबाट समाजका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमले प्रवासमा रहेर पनि नेपाली समुदायले आफ्ना ऐतिहासिक, धार्मिक तथा आध्यात्मिक धरोहरप्रति देखाएको समर्पण, एकता र प्रतिबद्धतालाई उजागर गरेको आयोजक संस्थाले जनाएको छ।
कार्यक्रममा महर्षि पाणिनिको योगदानलाई विश्वस्तरमा प्रचार–प्रसार गर्दै तपोभूमिको संरक्षण र सम्बर्द्धनमा सहकार्यको आवश्यकता औँल्याइएको थियो।















