ह्यारिसबर्ग मन्दिरमा तन्नेरी पुस्ताले उठाएका प्रश्न
परम्परा, विज्ञान र सामाजिक यथार्थबारे युवाको खुला संवाद
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्ग स्थित श्रीलक्ष्मीनारायण हरिहर धाममा फेब्रुअरी २८ तारिख शनिवार सामान्य भन्दा केही फरक कार्यक्रम भयो ।
मुलत मन्दिरका कार्यक्रमहरूमा गुरुजन, पाका पुस्ता वा धार्मिक अगुवाले प्रवचन दिने, भक्तिभाव चडाउने, पूजा आर्चना, टिका चन्दन लागाउने यस्तै यस्तै हुन्छ।
तर यसपटक अलिक फरक थियो। मन्दिर भित्रको ठूलो हलमा अग्रभागमा तन्नेरी पुस्ता थियो। पछाडि पाका पुस्ता ।
मञ्च पुरै युवाहरूले सम्हालेका थिए—र उनीहरूले भक्ति, परम्परा र संस्कारका विषयमा आफ्ना प्रश्न, अनुभव र दृष्टिकोण खुलेर राखे।
हिन्दु धर्म तथा सांस्कृतिक संगठन (ओएचआरसी) अन्तर्गतको युथ फोरमले आयोजना गरेको “युवा सशक्तिकरण सत्र –१, २०२६” नामक कार्यक्रममा समुदायका युवाहरूलाई नेतृत्व, जिम्मेवारी र सामाजिक उत्तरदायित्वका विषयमा बोल्ने अवसर प्रदान गरिएको थियो।
तन्नेरीहरुले आफ्नो भनाइ राख्नु अगाडि स्वस्ती बाचनबाट र दीप प्रज्वलन गरियो ।
ओएचारसीका अध्यक्ष प्रेम खनालले दीप प्रज्वलन गरे भने कार्यकारी निर्देशक डा. तुलाराम निरौलाले स्वस्ती बाचन गरे।
स्वागत मन्तव्य दिँदै अध्यक्ष खनालले समुदायलाई एकै ठाउँमा भेटिने अवसरको महत्वबारे बताए।
उनले भने, “यो चौतारामा हामी आइरहनुपर्छ, मनका पीडा विसाउनुपर्छ।”
तर त्यो दिन मन्दिरको चौतारामा केवल पीडा मात्रै होइन—प्रश्नहरू पनि उठ्न थाले।
र ती प्रश्नहरू उठाउनेहरू थिए नयाँ पुस्ता।
कार्यक्रम संचालन ओएचआरसीका संचार संयोजक सिएम निरौलाले एक पछि अर्को गर्दै सहभागिलाई पोडिएममा बोलाए । एक पछि अर्को बक्ताले ‘समाज’ बोल्दै गए।
मानसिक स्वास्थ्यबारे युवाको चिन्ता
ओएचआरसीकी युथ कोअडिनेटर यानु दंगालले आफ्नो मन्तव्यमा समुदायमा मानसिक स्वास्थ्यको अवस्था र त्यसप्रतिको मौन संस्कृतिबारे गम्भीर कुरा उठाइन्।
उनले नेपाली–भुटानी आप्रवासी समुदायको अनुभव, शरणार्थी शिविरको जीवन, नयाँ देशमा पुनःसंघर्ष, भाषा अवरोध र सामाजिक दबाबले मानसिक स्वास्थ्यमा पार्ने असरबारे उल्लेख गरिन्।
उनले भनिन्—
“मानसिक रोग कमजोरी होइन, लाजको विषय होइन। तर हाम्रो समुदायमा अझै पनि धेरै मानिसहरू चुपचाप पीडा सहिरहेका छन्।”
उनले समुदायलाई केही व्यावहारिक सुझाव पनि दिइन् । मन्दिरलाई केवल पूजा स्थल मात्र नभई सहयोग र उपचारको स्थान बनाउने । स्वयंसेवी टोलीमार्फत एक्लिएका ज्येष्ठ नागरिकको हालखबर लिने र युवा–अभिभावक संवाद कार्यक्रम गर्ने । साथै व्यवसायीक मानसिक स्वास्थ्य सेवासँग समुदायलाई जोड्ने ।
मानसिकरोगसानो, अस्थायीवासजिलैजित्नसकिनेकुराहोइन: यानुदंगाल
उनको मन्तव्यले हलमा गम्भीरता ल्यायो। धेरैजना ध्यान दिएर सुनिरहेका थिए।
महिनावारीबारे परम्परा र विज्ञानको बहस
त्यसपछि मञ्चमा आइन् प्रकृति पोखरेल। उनी युथ फोरमको सह संयोजक ।
उनले व्यक्तिगत अनुभवबाट सुरु गर्दै महिनावारीसँग जोडिएका सांस्कृतिक प्रतिबन्धहरूबारे प्रश्न उठाइन्।
“म नौ वर्षकी थिएँ जब मेरो पहिलो महिनावारी भयो,” उनले भनिन्।
“मलाई हजुरआमालाई नछुन भनियो, पूजा कोठामा जान नदिइयो, फ्रिज छुन नदिइयो। तर म हिजो जस्ती नै बच्ची थिएँ—के परिवर्तन भयो?”
उनले स्पष्ट पारिन् कि इतिहासमा केही नियमहरू सरसफाइ वा स्वास्थ्यका कारण हुन सक्छन्। तर समयसँगै ती नियमहरू कडा धार्मिक प्रतिबन्धमा रूपान्तरण भएको हुन सक्छ।
उनको भनाइ थियो—
“महिनावारी कुनै रोग होइन, कुनै अशुद्धता होइन। यो केवल एउटा स्वाभाविक जैविक प्रक्रिया हो।”
नेपालका ग्रामीण क्षेत्रमा अझै देखिने छाउपडी प्रथा जस्ता उदाहरण उल्लेख गर्दै उनले शिक्षा र खुला संवादको आवश्यकता औंल्याइन्।
महिनावारी कुनै अपराध होइन : प्रकृति पोखरेल
युवा पुस्ता बोल रहदाँ हलमा खासखुस हुन्थो । त्यसपछि कार्यक्रम संयोजकले सबैलाई धैर्यपूर्वक सुन्न आग्रह गरे।
जात र भक्तिबारे अर्को प्रश्न
कार्यक्रममा अर्को महत्वपूर्ण विषय उठाइन् फुलमाया गुरुङ ले।
उनले हिन्दू धर्मको मूल शिक्षामा धर्म, कर्म र भक्ति लाई महत्व दिइएको उल्लेख गर्दै भक्तिसँग जात जोडिनु किन आवश्यक मानिन्छ भन्ने प्रश्न गरिन्।
उनले भगवद् गीता उद्धृत गर्दै भनिन्—
“चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागशः।”
उनका अनुसार गीता अनुसार वर्ण व्यवस्था जन्मका आधारमा होइन, गुण र कर्मका आधारमा परिभाषित गरिएको थियो।
भक्ति सँग अझै पनि किन जातको अपेक्षा जोडिन्छ : फुल माया गुरुङ
उनले मन्दिरहरू सबैका लागि समान रूपमा खुला र स्वागतयोग्य हुनुपर्ने धारणा राखिन्।
“मन्दिर यस्तो स्थान हुनुपर्छ जहाँ भक्ति स्वाभाविक लागोस्, अचम्म होइन,” उनले भनिन्।
सुन्ने पाका पुस्ता, बोल्ने युवा
कार्यक्रमको विशेषता यही थियो—
त्यहाँ गुरुजनले बोल्नेभन्दा युवाले बोल्ने र पाका पुस्ताले सुन्ने वातावरण बनाइएको थियो।
कार्यक्रममा शिक्षा, व्यवसाय, संस्कृति, सामाजिक उत्तरदायित्व लगायत विषयमा अन्य युवाहरूले पनि मन्तव्य राखे।
प्रेग्ना शिवाकोटी, आचल न्यौपाने, दिपशिखा घिमिरे, प्रभावा अधिकारी, कौस्तुभ रिजाल, शान्ति सुवेदी, नमिता चिमोरिया, दिव्या घिमिरे र कृपा दाहालले पनि समाजका विभिन्न पक्षमा आ आफ्नो धारणा राखेका थिए।
सबैका गहकिला विचार हुने पछि भुट्नीज कम्युनीटी अफ ह्यारिसबर्गमा पूर्व अध्यक्ष डा. भुवन गौतमले तेन्नेरी पुस्ताका धारणमा सहमत जनाए ।
उनीले आफु कुनै पनि क्षेत्रमा सहयोग गर्न तयार रहेको जनाए ।
परम्परा र परिवर्तनबीचको संवाद
ह्यारिसबर्गको यो कार्यक्रमले एउटा संकेत दिएको देखिन्छ । नयाँ पुस्ता परम्परालाई अस्वीकार गर्न होइन, बुझ्न र पुनर्विचार गर्न चाहन्छ। समय अनुसार व्याख्या र समिक्षा ।
ओएचआरसी मिडिया संयोजक निरौला त्यसैका लागि कार्यक्रम तर्जुमा गरेको बताउछन्।
‘युवाहरुलाई पनि समेट्नु पर्छ भन्ने नै हाम्रो उदेश्य हो। उनीहरुका पनि कुरा सुन्नु पर्छ र सँग सँगै लैजानु पर्छ।’ कार्यक्रम पछि समाज टाइम्स सँग निरौलाले भने।
उनले ओएचआरसीको युवा सशक्तिकरण सत्रले समुदायका युवालाई आफ्नो विचार व्यक्त गर्ने महत्वपूर्ण मञ्च दिएको बताए।
‘युवालाई अवसर, आत्मविश्वास र नेतृत्व विकास गर्ने वातावरण दिनु हो। त्यसैले हामीले यसलाई ‘युवा सशक्तिकरण’ भनेर प्रयोग गरेका छौं।’ निरौलाले भने।
निरौलाले युवाले अहिले सम्म यस्ता प्लेटफर्म कम पाएको गुनासो आउने गरेको उल्लेख गर्दै मन्दिर र समुदायका संस्थाहरूले त्यस्ता अवसर विस्तार गर्नुपर्ने बताए।
“ओएचआरसी युथ फोरम सबै युवाका लागि खुला छ। तपाईं हिन्दु, बौद्ध वा अन्य कुनै पनि धर्म मान्ने भए पनि समुदायका युवाका रूपमा यहाँ स्वागत छ,” उनले भने।
उनले आगामी दिनमा पनि युवालाई उत्साहजनक बनाउने विभिन्न कार्यक्रम आयोजना गरिने जानकारी दिए।
कार्यक्रमको मूल्यांकन गर्दै निरौलाले भने, ‘युवाहरूले यति गहिरो रूपमा सोचिरहेका छन् र यति जागरूक छन् भन्ने कुरा सुन्दा म आफैं चकित परेँ। हाम्रो समाजका युवाहरू यति विद्वान र सचेत रहेछन् भन्ने आजको कार्यक्रमले देखायो।’
















