रोनाल्डोले गरे लगातार दोस्रो खेल मिस, अल–नासरमा असन्तुष्टि बढ्दै
कार्लाल, पेन्सिलभेनिया / क्रिस्टियानो रोनाल्डो साउदी अरबको क्लब अल–नासरमा आफ्नो भविष्यबारे अन्योल बढिरहेका बेला लगातार दोस्रो खेलका लागि टोलीबाट बाहिरिएका छन् ।
साउदी प्रो लिगअन्तर्गत शुक्रवर भएको खेलमा अल–नासरले पूर्व लिभरपुल फरवार्ड साडियो माने र एन्जेलो गाब्रिएलको गोलको मद्दतले अल–इत्तिहादलाई २–० ले पराजित ग¥यो ।
खेलको सातौँ मिनेटमा घरेलु समर्थकहरूको एक समूहले रोनाल्डोप्रति समर्थन जनाउँदै उनको नाम र जर्सी नम्बर सात अंकित पहेँला प्लेकार्डहरू उचालेका थिए ।
४१ वर्षीय रोनाल्डो यसअघि सोमवार अल–रियाधविरुद्ध भएको १–० को लिग जितमा पनि टोलीमा समावेश भएका थिएनन् ।
पोर्तुगाली सञ्चारमाध्यम ए बोलाका अनुसार साउदी अरबको पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआई) द्वारा क्लब सञ्चालनको तरिकाप्रति असन्तुष्ट भएपछि रोनाल्डोले खेल्न अस्वीकार गरेका हुन् ।
यस विषयमा साउदी प्रो लिगले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा दिएको प्रतिक्रियामा रोनाल्डोले क्लबको विकास र महत्त्वाकाङ्क्षामा महत्त्वपूर्ण भूमिका खेलेको स्वीकार गर्दै “कुनै पनि व्यक्ति—जति नै प्रभावशाली भए पनि—आफ्नो क्लब बाहेक अन्य निर्णयहरू निर्धारण गर्न सक्दैन” भनेको छ ।
रोनाल्डोले सन् २०२२ को डिसेम्बरमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेपछि अल–नासरमा अनुबन्ध गरेका थिए । वार्षिक १ सय ७७ मिलियन पाउन्ड तलबसहित उनी फुटबल इतिहासकै सबैभन्दा धेरै पारिश्रमिक पाउने खेलाडी बनेका थिए ।
१० पटक साउदी प्रो लिग उपाधि जितिसकेको अल–नासरले रोनाल्डोको आगमनलाई “इतिहास निर्माण” भने पनि, उनले क्लबमा रहँदा सन् २०२३ मा अरब क्लब च्याम्पियन्स कप मात्र जितेका छन् ।
पाँच पटक बालोन डी’ओर जितेका रोनाल्डोले सन् २०२५ को जुनमा नयाँ दुई वर्षे सम्झौता गरेका थिए ।
अल–नासर र अल–हिलाल दुवै साउदी अरबका सबैभन्दा शक्तिशाली क्लबहरू मध्ये पर्छन् र ती दुवै फन्ड (पीआई) को नियन्त्रणमा छन् । यही फन्डले इङ्लिस क्लब न्युक्यासल युनाइटेडलाई पनि समर्थन गर्दै आएको छ ।
रोनाल्डोको असन्तुष्टिको मुख्य कारण यसै साता उनका पूर्व रियल म्याड्रिड सहकर्मी करिम बेन्जेमाको अल–इत्तिहादबाट लिग लिडर अल–हिलालतर्फको स्थानान्तरण भएको बताइएको छ ।
३८ वर्षीय फ्रान्सेली स्ट्राइकर बेन्जेमाले बिहीबार अल–ओखदूदविरुद्ध ६–० को जितमा ह्याट्रिक गर्दै अल–हिलालका लागि डेब्यु गरेका थिए ।
२० खेल सकिँदासम्म अल–नासर लिग तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको अल–हिलालभन्दा एक अङ्कले पछि परेको छ ।

















