आईसीसी पुरुष टी–२० विश्वकप २०२६ : महत्वपूर्ण जानकारीहरू
मुम्बई, भारत/ आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को काउन्टडाउन सुरु भएसँगै, तपाईंलाई जान्नुपर्ने सबै जानकारी यहाँ प्रस्तुत गरिएको छ।
आईसीसी पुरुष टी–२० विश्वकपको १०औँ संस्करण विश्व क्रिकेटकै सबैभन्दा उत्कृष्ट प्रतियोगितामध्ये एक हुने अपेक्षा गरिएको छ।
भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुन गइरहेको यस प्रतियोगितामा यसअघि कहिल्यै नदेखिएको संख्यामा विश्वस्तरीय खेलाडीहरू आफ्नो छाप छोड्न तयार छन्, र यसपटक उपाधिका दावेदार ठान्ने देशहरूको संख्या पनि अहिलेसम्मकै सबैभन्दा धेरै छ।
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ आयोजना हुने मैदानहरू
यो प्रतियोगिता भारत र श्रीलंकामा आयोजना हुनेछ। कुल आठवटा मैदान मा खेलहरू सञ्चालन हुनेछन् । भारतका पाँच फरक–फरक सहरका पाँच मैदान र श्रीलंकाका तीन मैदान, जसमा कोलम्बोका दुई फरक मैदान समावेश छन्।
भारतमा प्रतियोगिता आयोजना हुने मैदानहरू: अहमदाबाद – नरेन्द्र मोदी स्टेडियम,कोलकाता – इडेन गार्डेन्स, दिल्ली – अरुण जेटली स्टेडियम, मुम्बई – वानखेड़े स्टेडियम,चेन्नई – एम.ए. चिदम्बरम स्टेडियम रहेका छन्।
यस्तै श्रीलंकामा आर. प्रेमदासा स्टेडियम, कोलम्बो, एसएससी क्रिकेट ग्राउण्ड, कोलम्बो र पल्लेकेले क्रिकेट स्टेडियम, क्यान्डीमा खेलहरु हुने छन्।
प्रतियोगिताको उद्घाटन खेल फेब्रुअरी ७ मा कोलम्बोमा पाकिस्तान र नेदरल्यान्ड्स र भारत र अमेरिका बीच बीच हुनेछ।
फाइनल खेलको स्थल भने अझै निश्चित गरिएको छैन। फाइनल अहमदाबाद वा कोलम्बो मध्ये कुनै एक स्थानमा मार्च ८ मा आयोजना हुनेछ।
भारत र श्रीलंकालाई जोड्ने ऐतिहासिक आदम्स ब्रिज हुँदै आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टुर औपचारिक रूपमा सुरु भएको छ।
महत्वपूर्ण मितिहरू
फेब्रुअरी ७ : प्रतियोगिताको उद्घाटन
फेब्रुअरी २२ : सुपर ८ चरण सुरु
मार्च ४ : सेमिफाइनल १
मार्च ५ : सेमिफाइनल २
मार्च ८ : फाइनल
प्रतियोगिता ढाँचा
अघिल्लो संस्करण जस्तै— जुन दुई वर्षअघि अमेरिका र वेस्ट इन्डिजमा आयोजना भएको थियो— यसपटक पनि २० टोली सहभागी हुनेछन्।
टोलीहरूलाई चार समान समूह मा विभाजन गरिनेछ। प्रत्येक टोलीले समूह चरणमा कम्तीमा चार खेल खेल्नेछ।
प्रत्येक समूहका शीर्ष दुई टोली सुपर ८ चरणमा प्रवेश गर्नेछन्। सुपर ८ मा पनि दुई समूह रहनेछन्, जहाँ टोलीहरूले आपसमा प्रतिस्पर्धा गर्नेछन्।
त्यसपछि शीर्ष चार टोली नकआउट चरणमा प्रवेश गर्नेछन्। सेमिफाइनलका विजेता टोलीहरू फाइनलमा पुग्नेछन्।
समग्रमा प्रतियोगितामा कुल ५५ खेल हुनेछन्।
टी–२० विश्वकप समूहहरू
समूह ए
भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्स, नामिबिया
समूह बी
अष्ट्रेलिया, श्रीलंका, आयरल्याण्ड, जिम्बाब्वे, ओमान
समूह सी
इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड, नेपाल, इटाली
समूह डी
न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा, संयुक्त अरब इमिरेट्स
विश्वको जुनसुकै स्थानमा भए पनि, फेब्रुअरी ७ देखि सुरु हुने पुरुष टी–२० विश्वकप २०२६ लाई प्रत्यक्ष हेर्न सकिनेछ।
विश्वभरका दर्शकहरूले टेलिभिजन, डिजिटल, अडियो तथा नयाँ प्रविधिका माध्यमबाट खेलको प्रत्यक्ष प्रसारण हेर्न पाउनेछन्।
आईसीसी.टिभीमार्फत विश्वभरका क्रिकेट प्रशंसकलाई उत्कृष्ट अनुभव दिलाउन अनुभवी कमेन्टेटरहरूको टोली रहनेछ।
प्रमुख कमेन्टेटरहरूमा रवि शास्त्री,नासिर हुसैन,इयान स्मिथ र इयान बिशप रहेका छन्। यसका साथै आरोन फिन्च, दिनेश कार्तिक,कुमार संगकारा,सामुएल बद्री,रोबिन उथप्पा र
कार्लोस ब्राथवेट रहेका छन्।
हालका खेलाडी तथा आईसीसी विश्व टेस्ट च्याम्पियनसिप विजेता कप्तान टेम्बा बावुमा पनि कमेन्ट्रीमा सुनिनेछन्। सन् २०१४ का टी–२० विश्वकप विजेता एन्जेलो म्याथ्युज पनि कमेन्टेटरको सूचीमा समावेश छन्।
डिफेन्डिङ च्याम्पियन को हुन्?
भारतले सन् २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै दोस्रो पटक पुरुष टी–२० विश्वकप उपाधि जितेको थियो।
फाइनल खेलमा विराट कोहली ५९ बलमा ७६ रन बनाउँदै ‘प्लेयर अफ द म्याच’ बनेका थिए भने जसपृत बुमराह १५ विकेटसहित ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएका थिए।
विशेष नियमहरू
कुनै पनि खेल बराबरी भएमा सुपर ओभर खेलाइनेछ। यदि सुपर ओभर पनि बराबरी भएमा, विजेता नतोकिँदासम्म थप सुपर ओभर खेलाइनेछ।
सेमिफाइनल र फाइनलजस्ता नकआउट खेलहरू पूरा गर्नका लागि अतिरिक्त समय को व्यवस्था पनि गरिएको छ।

















