फिफाले स्ट्याटस परफर्मलाई विश्वव्यापी आधिकारिक बेटिङ डाटा तथा लाइभ स्ट्रिमिङ वितरक चयन गर्यो
ज्यूरिख / अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले खेलकुद डाटा तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा अग्रणी कम्पनी स्ट्याटस परफर्मलाई आफ्नो इतिहासमै पहिलो पटक विश्वव्यापी आधिकारिक बेटिङ डाटा तथा बेटिङ लाइभ स्ट्रिमिङ अधिकार वितरक का रूपमा चयन गरेको छ। यस सम्झौता अन्तर्गत फिफा विश्वकप २०२६ का सबै खेलहरूका लागि समेत विशेष अधिकार प्रदान गरिएको छ।
बहु वर्षीय यस ऐतिहासिक सम्झौताअनुसार स्ट्याटस परफर्मले विश्वभरका लाइसेन्स प्राप्त खेल सट्टेबाजी अपरेटरहरूलाई फिफाका आधिकारिक डाटा र लाइभ खेल प्रसारण उपलब्ध गराउनेछ। यसले फिफाको नियन्त्रण, पारदर्शिता तथा निगरानी प्रणालीलाई अन्तर्राष्ट्रिय उत्तम अभ्यासअनुसार थप सुदृढ बनाउने विश्वास लिइएको छ।
सम्झौतामा समेटिएका प्रतियोगिताहरूमा विस्तारित फिफा विश्वकप २०२६ का १०४ खेल, फिफा महिला विश्वकप ब्राजिल २०२७, फिफा फुटसल विश्वकप २०२८, फिफा महिला फुटसल विश्वकप २०२९, फिफा यु–२० महिला विश्वकप २०२६ र २०२८, फिफा यु–२० विश्वकप २०२७ र २०२९ तथा फिफा इन्टरकन्टिनेन्टल कप (२०२६–२०२९) रहेका छन्।
साथै, फिफा मार्फत सञ्चालन हुने फिफा सदस्य संघ अन्तर्गतका हरेक सिजन हजारौँ खेलहरूमा समेत विशेष बेटिङ अधिकार प्रदान गरिएको छ।
स्ट्याटस परफर्मको रनिङबल टोलीले सम्बन्धित प्रतियोगिताहरूका लागि अति तीव्र गतिमा आधिकारिक बेटिङ डाटा सङ्कलन तथा वितरण गर्नेछ, जुन लाइभ बेटिङ, मोडलिङ, ट्रेडिङ र सेटलमेन्टका लागि प्रयोग गरिनेछ। त्यस्तै, विश्वसनीय रूपमा परिचित अप्टा टोलीले खेलाडी तथ्याङ्क, लाइभ स्कोर, खेल ट्रयाकर र विश्लेषणात्मक जानकारी सट्टेबाजी प्लेटफर्महरूलाई उपलब्ध गराउनेछ।
यस सम्झौताअन्तर्गत स्ट्याटस परफर्मले चयनित क्षेत्रहरूमा लाइसेन्स प्राप्त सट्टेबाजी प्लेटफर्महरूका ग्राहकहरूलाई फिफाका खेलहरूको लाइभ स्ट्रिमिङ पनि वितरण गर्नेछ। यसमा स्ट्याटस परफर्मको एआई प्रविधियुक्त बेट लाइभस्ट्रिमस सेवामार्फत फिफा विश्वकप २०२६ र फिफा महिला विश्वकप ब्राजिल २०२७ का खेलहरू विशेष रूपमा समावेश छन्।
त्यसै गरी, स्ट्याटस परफर्मको इन्टेग्रिटी टोलीले यस साझेदारीअन्तर्गत फिफामा प्रसारित हुने सदस्य संघका सामग्रीसम्बन्धी विषयमा फिफा इन्टेग्रिटीलाई आवश्यक सहयोग प्रदान गर्नेछ।
फिफाका प्रमुख व्यवसाय अधिकृत रोमी गाई ले यस साझेदारीलाई स्वागतयोग्य कदम बताएका छन्।
उनले भने, “खेलकुद डाटामा विश्वव्यापी नेतृत्व गरिरहेको स्ट्याटस परफर्मसँग साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ। यस सहकार्यले खेल र समर्थकहरूको हितका लागि आधिकारिक उत्पादनहरू प्रस्तुत गर्ने नयाँ अवसरहरू सिर्जना गर्नेछ।”
स्ट्याटस परफर्मका प्रमुख कार्यकारी अधिकृत कार्ल मर्गेले ले फिफा प्रतियोगिताहरू विश्वकै सबैभन्दा ठूलो खेलको सर्वोच्च मञ्च भएको उल्लेख गर्दै भने, ‘फिफाका प्रतियोगिताहरूलाई हाम्रो वप्टा र रिनङ्गबल बेटिङ डाटा पोर्टफोलियो तथा एआई –समृद्ध बेट लाइभस्ट्रिमस सेवामा समावेश गर्न पाउँदा हाम्रा ग्राहकहरू निकै उत्साहित हुनेछन्। फिफाको दृष्टिकोणसँग हामी पूर्ण रूपमा सहमत छौँ।”
यो साझेदारीले नियमनित विश्वव्यापी सट्टेबाजी बजारमा फिफाका प्रतियोगिताहरूको वितरण प्रणालीलाई नयाँ चरणमा पुर्याउने विश्वास गरिएको छ, साथै खेलको विश्वसनीयता, पारदर्शिता र प्रशंसक संलग्नतालाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।















