प्रदिप हुमागाई अमेरिकाको फिलाडेल्फिया युनियनको युथ टिम प्रशिक्षकमा अनुबन्ध
अमेरिका । फुटबल प्रशिक्षक प्रदिप हुमागाई फिलाडेल्फिया युनियनमा आबद्ध भएका छन् । फिलाडेल्फिया युनियनका युवा प्राविधिक निर्देशक एन्थोनी फ्लोरेसले गत डिसेम्बर २१ तारिकमा प्रदिप सहित अन्य चार जना नयाँ प्रशिक्षक अनुवन्धन गरिएको घोषणा गरेका हुन् ।
‘स्टाफमा हाम्रा नयाँ प्रशिक्षकहरू घोषणा गर्न पाउँदा म उत्साहित छु। लियोना, जेसन, एमिलियो र प्रदिपलाई युनियन युथ स्टाफमा स्वागत गर्न कृपया मसँग सामेल हुनुहोस् ।’ एन्थोनीले आन्तरिक सर्कुलरमा भनेका छन् ।
हुमागाई हाल पेन्सिलभेनियाको स्ट्रर्सबर्गमा रहेको किस्टोन एथलेटिक्स एकेडेमीको टेक्निकल डाइरेक्टर छन् । सन् २०१४ मा हुमागाई किस्टोनको प्रशिक्षक नियुक्त भएका थिए । नयाँ सिजन (गत सेप्टेम्बर) देखि हुमागाई टेक्निकल डाइरेक्टरमा बढुवा भएका हुन ।
फिलाडेल्फिया युनियनले अमेरिकाको मेजर लिक सकरमा इष्टकोष्ट क्षेत्रबाट प्रतिनिधित्व गर्छ । केही महिना अगाडि सम्मपन्न लिग फिलाडेल्फियाले दोस्रो पोजिशनमा सकाएको थियो ।

‘युथ टिम हेर्ने गरि, पार्टटाइमरको रुपमा नयाँ जिम्मेवारी स्वीकार गरेको हुँ ।’ समाज टाइम्स सँगको कुराकानीमा हुमागाइले भने । ‘किस्टोनमा फुलटाइमरको रुपमा निरन्तर रहन्छु, ठूलो क्लबबाट आएको अवसरलाई समय मिलाएर व्यव्थापन गर्नु पर्छ ।’
नेपालमा थ्रीस्टारलाई शहिद स्मारक ए डिभिजन लिग च्याम्पियन बनाएका हुमागाई गत सिजनको नेपाल सुपर लिगमा ललितपुरको प्रशिक्षक थिए । हुमागाई एएफसी ए लाइसेन्स प्राप्त प्रशिक्षक हुन् ।
फिलाडेल्फिया युनियन फिलाडेल्फिया महानगर क्षेत्रमा आधारित अमेरिकी व्यावसायिक फुटबल क्लब हो । युनियनले अमेरिकाको पूर्वी क्षेत्रको सदस्यको रूपमा मेजर लिग सकरमा प्रतिस्पर्धा गर्छ। १३ बर्ष अगाडि सन् २००८ मा स्थापना भएको हो ।















