युएस ओपन जुनियर इन्टरनेश्नलमा डिस्कालाई चार स्वर्ण सहित ११ पदक
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ युएस ओपनको पहिलो दिन शुक्रवार भएको जुनियर इन्टरनेश्नल प्रतियोगितामा ड्रुक इन्टरनेशनल सितोरियो कराते डो एसोसिएसन (डिस्का) ले चार स्वर्ण सहित ११ पद जितेको छ।
लस भेगासमा जारी प्रतियोगितामा डिस्काले पहिलो दिन चार स्वर्ण, तीन रजत र ४ कास्य पदक जितेको मुख्य प्रशिक्षक रन राईले समाज टाइम्सलाई बताए। राईका अनुसार जुनियर प्रतिस्पर्धामा १३ जनाले भाग लिएका थिए।
डिस्का पिट्सबर्ग डोजोकी रिया विष्टले दुई स्वर्ण जितेकी छिन्। रियाले इन्टरमिडियटमा प्रतिस्पर्धा गरेकी थिइन्।
यस्तै पिट्सबर्ग डोजोकै दिवाकर नेपालले कातामा स्वर्ण पदक जितेका छन्। दिवाकरले पनि इन्टरमिडियटमा प्रतिस्पर्धा गरेका थिए।
डिस्का होम्बु डोजो ह्यारिसबर्गका सुयोग राईले कातामा स्वर्ण र कुमुतेमा कास्य पदक जिते। उनले नोभिसमा प्रतिस्पर्धा गरेका थिए।
डिस्का कारलय डोजोमा तीन खेलाडीले रजत जितेका छन्। एन्जिला गुरुङले एडभान्स तर्फको काता, अस्बिन सुब्बाले नोभिस तर्फको कुमुतेमा र रोहन सुब्बाले नोभिस तर्फकै कातामा रजत जितेका हुन्। रोहनले कुमुतेमा काश्य पदक जितेका छन्।
कारलय डोजोकै देवीदास सुब्बाले कातामा कास्य जिते। उनले नोभिसमा प्रतिस्पर्धा गरेका थिए। कारलय डोजोकै फिलिप तामाङले इन्टरमिडियट इभेन्टमा कातामा कास्य पदक जिते।
सोमबार सम्म जारी रहने युएस ओपनमा शनिवार देखि सिनियर तर्फका प्रतिस्पर्धा हुने छन्।
युएस ओपनमा ४० देशका २६ सय भन्दा बढी खेलाडीले भाग लिएका छन्। विश्व च्याम्पियनहरूको जमघट रहने युएस ओपनबाट अमेरिकाले राष्ट्रिय टिमका लागि खेलाडी छनौटको आधार बनाउँछन्।
एलिट तर्फको प्रतिस्पर्धामा प्रत्येक श्रेणीका शीर्ष दुई खेलाडीहरूले मे २२-२५, २०२५ मा मेक्सिकोको मोन्टेरीमा हुने प्रतिष्ठित पान अमेरिकन च्याम्पियनसिपमा टिम अमेरिकाको प्रतिनिधित्व गर्न पाउने छन्। त्यहाँ उत्कृष्ट हुनेले अन्य अन्तर्राष्ट्रिय च्याम्पियनसिप र ओलम्पिकका लागि ढोका खोल्ने छन्।
डिस्का सन् २०१६ मा स्थापना भएको संस्था हो। विशेषता अमेरिकामा रहेका नेपाली भाषी भुटानी समुदायमा कराते खेलको विकास र विस्तारका लागि यो संस्था स्थापना भएको हो। अमेरिकाको विभिन्न राज्यमा गरी सात वडा डोजो सञ्चालनमा छन् र तीन सय भन्दा बढी खेलाडी नियमित प्रशिक्षणमा छन्।
युएस ओपनमा यस पटक डिस्काबाट २९ जनाले भाग लिएका छन्। प्रमुख प्रशिक्षक राईका अनुसार जुनियरतर्फ खेलेका खेलाडीहरूले पनि युएस ओपनमा प्रतिस्पर्धा गर्ने छन्।