प्रदेश सरकारका कारण दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भएको होईनः मुख्यमन्त्री कँडेल
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सकारको नभई संघीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भएको बताएका छन् । खेलकुद क्षेत्रसँग सम्बन्धित संघ र प्रशिक्षकहरूसँगको आज भेटघाट कार्यक्रममा मुख्यमन्त्री कँडेलले प्रतियोगिता स्थगित हुनुमा प्रदेश सरकारको कुनै संलग्नता नरहेको समेत स्पष्ट पारे ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ ३ देखि १० गतेसम्म कर्णालीमा आयोजना हुने तय भएको थियो । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पटक पटक मिति सार्दासमेत आफूले खेल सुनिश्चित हुने गरी काम गर्न संघीय खेलकुद मन्त्रालयलाई सुझाव दिएको मुख्यमन्त्री कँडेलले बताए ।
प्रतियोगिता गर्ने भन्ने तर प्रतियोगिताको लागि आवश्यक तयारीका सम्बन्धमा अलमल गर्ने खेलकुद मन्त्रालयको समस्या आफूले अनुभव गरेको पनि मुख्यमन्त्री कँडेलले जानकारी दिए । पछिल्लो समय प्रतियोगिताको लागि सुर्खेतमा सचिवालय स्थापना भए पनि देखिने गरी काम नभएको मुख्यमन्त्री कँडेलले असन्तुष्टि जनाउँदै आएका थिए ।
खेलकुद प्रतियोगिता कर्णाली हुने भए पनि त्यसको मुख्य आयोजक संघीय सरकार भएकोले पूर्वाधारमा प्रदेशलाई सहयोग गरिएको आग्रहको समेत सुनुवाइ नभएको मुख्यमन्त्री कँडेलले जानकारी दिए । मुख्यमन्त्री कँडेलले भने, ‘विगतमा अन्यत्र आयोजना गरिएका राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पूर्वाधारमा लागि करोडौँ खर्च गर्ने संघीय सरकारले कर्णाली प्रदेशमा निर्माण हुने पूर्वाधारमा पनि लगानी गर्नुपर्थ्यो, तर पूर्वाधारमा कुनै पनि लगानी भएन ।’ मुख्यमन्त्री कँडेलले प्रदेश दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न प्रदेश सरकारबाट कुनै कमी हुन नदिने पनि जानकारी दिए । उनले भने, आयोजक केन्द्र भए पनि कर्णालीको भविष्यसँग जोडिएको प्रतियोगिता सम्पन्न गर्न प्रदेश सरकारको तर्फबाट पुरै सहयोग र सहकार्य हुन्छ । ’
एक अर्को प्रसङ्गमा मुख्यमन्त्री कँडेलले प्रदेश रङ्गशालाको काम सकेर हस्तान्तरण भएको दिन भुक्तानीको लागि कुनै समस्या नहुने बताए । उनले भने, निर्माण कम्पनीले कति बेला १ प्रतिशत काम बाँकी छ भन्ने कति बेला सम्पन्न भयो भन्ने खालका कुरा गरिरहेको छ तर रङ्गशाला हस्तान्तरण भएको छैन । काम सम्पन्न भएर हस्तान्तरण भयो भने बाँकी रकम दिन प्रदेश सरकार तयार छ, हामीलाई कुनै समस्या छैन । ’ मुख्यमन्त्री कँडेलले निर्माण व्यवसायीले काम सकेर रङ्गशाला हस्तान्तरण गर्नुभन्दा बाहानबाजी गर्दे हिँडेको पनि बताए ।
रिक्त रहेको प्रदेश खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिमा नियुक्तीबारे छलफल गरेर चाडै टुङ्गोमा पुग्ने तयारी भएको मुख्यमन्त्री कँडेलले जानकारी दिए । खेल पदाधिकारीहरूलाई मुख्यमन्त्री कँडेलले प्रदेश खेलकुद नहुँदा पनि खेलकुदका गतिविधि नरोक्न र प्रतियोगिताको मिति घोषणा हुनासाथ बन्द प्रशिक्षणमा रहने खेलाडीहरूको लागि आवश्यक व्यवस्था गर्ने पनि बताए । उनले दोहोरो अङ्कको पदक हासिल गर्ने गरी तयारी गर्ने खेलकुदका प्रशिक्षकहरूलाई निर्देशन दिए ।