ग्रिसबाट नेपाल आइपुगेकी एन्जिला भन्छिन् : ‘दर्शकको मायाले तान्यो’

काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा आफ्नो जीवन कथामा आधारित ‘अन्जिला’ फिल्म प्रमोसनका लागि नेपाल आइपुगेकी छिन् ।
ग्रिस महिला सुपर कपका लागि निस अट्रोमिटौमा आबद्ध रहेर व्यावसायिक फुटबल खेलिरहेकी एन्जिला फिल्म प्रमोसनका लागि नेपाल शुक्रबार आइपुगेकी हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले दर्शकहरूको मायाले नै आफूलाई तानेको भन्दै ग्रिसबाट छोटो समय मिलाएर नेपाल आएको बताइन् ।
उनले भनिन्,‘ग्रिसबाट छोटो समय मिलाएर आएको छु । दर्शकहरूको मायाले नै गर्दा तीन चार दिन कति हुन्छ बस्ने छु । मैँले समाचारतिर पनि हेरिरहेको थिए । दर्शकहरूको माया भव्य देखेपछि नै आएको हो । सम्पूर्ण टिमलाई धन्यवाद दिन्छु उहाँहरूले गर्दा नै फिल्म राम्रो भइरहेको छ ।’
साथै उनले दर्शकहरूले आफ्नो फिल्म हेरेर भावुक हुँदै गर्दा आफूलाई एकातिर दुःख लागे पनि अर्कोतिर फिल्म मन पराइ दिनुभयो भनेर लागेर खुसी पनि उत्तिकै लागेको पनि बताइन् ।