पेन्सिल्भेनियामा सम्पन्न बाटा टेबल टेनीस: रबिन र दीपक च्याम्पियन
ह्यारिसबर्ग/ भुटनीज अमेरिकन टेबल टेनिस एसोसिएसन (बाटा) र एसियाली शरणार्थी युनाइटेड (एआरयु) द्वारा आयोजित बाटा टेबल टेनिसमा रबिन गुरुङ र दीपक सापकोटा च्याम्पियनसिप बनेका छन्।
पेन्सिल्भेनियाको ह्यारिसबर्गमा शनिवार सम्पन्न एक दिने च्याम्पियनसिपमा रबिनले युएस बरीयतामा १७ सय ५० मुनिको इभेन्टको उपाधि जितेका हुन्।
यस्तै दीपकले युएस बरीयता क्रममा एक हजार मुनीको इभेन्टको उपाधि जिते ।
रबिनले फाइनलमा रमेश कुमारको कडा चुनौती पन्छाएका थिए। उपाधि चुम्ने क्रममा रबिनले ४-३ ले सेट आफ्नो पक्षमा पारेका थिए। पहिलो दुई सेट गुमाएका रबिनले त्यस पछि आफूलाई प्रमाणित गरे।
पहिलो सेट ११-९ ले जितेका रमेशले दोस्रो सेट पनि १२-१० ले आफ्नो पक्षमा पारेका थिए। त्यस पछिको दुई सेट रबिनको पक्षमा गयो।
तेस्रो सेट ११-९ ले जितेका रबिन चौथो सेटमा ११-५ ले हाबी भए। खेल दुई दुईको अवस्थामा हुँदा पाँचौँ सेटमा रमेश सफल भए। उनले ११-८को नतिजा आफ्नो पक्षमा पार्दै अग्रता दिएका थिए।
तर त्यस पछिका दुवै सेटमा फेरि रबिन कै वर्चस्व रह्यो। छैटौँ सेट ११-८ ले जितेका रबिनले अन्तिम सेट पनि ११-९ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बने।
यो इभेन्टमा असीम शाक्य तेस्रो भए।
अन्डर एक हजार इभेन्टमा च्याम्पियन हुने क्रममा दीपक सापकोटाले दिल कुमार मगरको चुनौती ४-१ले पन्छाएका थिए। पहिलो सेट ८-११ ले हारेका दीपकले दोस्रो सेट पछि लय सम्हाल्न पुगेका थिए। दोस्रो सेट ११-७ ले जित्दै खेलमा फर्किएका दीपकले त्यस पछि १७-१५,११-९ र ११-५ को नतिजा निकालेका थिए। यो इभेन्टमा लक्ष्मी उप्रेती तेस्रो भए।
एक दिने च्याम्पियनसिपमा अन्डर एक हजारमा ३२ जना प्रतिस्पर्धामा उत्रिएका थिए। यस्तै अन्डर १७ सय ५० मा दश जनाले चुनौती पस्किएका थिए।
च्याम्पियनसिप डाउफिन काउन्टीको अनुदानमा भएको हो।

















